किरीटलाई परास्त गरौं « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

किरीटलाई परास्त गरौं


१६ चैत्र २०७६, आइतबार


यूरोपतिरको हाल,
हेर्दा साह्रै विहाल छ।
किरीटको महामारी,
घटेन विकराल छ।

दिंदै प्रलयको झल्को,
फैलंदैछ निरन्तर।
रोक्ने प्रयास जारी छ,
भएर पूर्ण तत्पर।

यो कस्तो शत्रु हो कुन्नि,
शिर,पाऊ नदेखिने,
पूरै विश्व मिली लड्दा,
पनि कत्ति नमेटिने।
कराल कालकै भाइ,
बनी आएछ मर्त्यमा।

अन्धाधुन्ध जता पायो,
तीर हान्दैछ मर्ममा।
आँखा चिम्म गरी हान्छ,
जो पनि पर्न सक्दछ।
विना शस्त्र विना अस्त्र,
कसरी लड्न सक्दछ ?

खडा छ आज संसार,
यसलाई हराउन।
हामी पनि सबै लागौं,
पराजित गराउन।

हार्छ हार्न त यो पक्कै,
सबै जाग्यौं भने यहाँ।
जुर्मुराई उठौं लड्न,
एक साथ यहाँ वहाँ।

यो बेला आत्तिने हैन,
धैर्य,संयम राख्नु छ।
वीरता मनमा पाली,
परास्त ध्वस्त पार्नु छ।

नायब सुब्बा मायादेवी गाउपालिका, रुपन्देही ।

Tags :
प्रतिक्रिया दिनुहोस