कोरोना विरुद्ध सेना : सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न नेपाली सेना तयार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना विरुद्ध सेना : सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न नेपाली सेना तयार


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७६, सोमबार


काठमाडौँ । नेपाली सेनाले नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना तयार रहेको बताएको छ ।

कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै आन्तरिक तयारी थालेको नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै सम्भावित प्रतिकूल परिस्थितिमा सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना तयार रहेको जानकारी गराएको हो ।

‘विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरी उक्त भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हर सम्भव प्रयासहरू भई रहेको परिप्रेक्ष्य सम्भावित प्रतिकूल परिस्थितिमा सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना तयार रहेको जानकारी गराइन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

सेनाले कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गरी रोकथाम तथा सम्भावित महामारी विरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको आवश्यक तयारी सुरु गरेको जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘कोरोना भाइरस सम्बन्धी कुनै केस आएमा नेपाली सेनाका डाक्टर सहितको रथी वृन्द तथा अधिकृतहरू सहितको कोर टिम गठन गरी सम्पूर्ण युनिट सब युनिटहरू तथा अन्य सरकारी निकायसँगआवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ ।’

सेनाले कोरोना बारेमा प्रशिक्षण कार्यक्रम गरिएको, क्वारेन्टाइन स्थापना गरिएको तथा रोकथामका उपायबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । स्थानीय स्तरसम्म यी कार्यक्रम सञ्‍चालनभएको सेनाले जनाएको हो ।

‘सेना रहेका हरेक ठाउँमा क्वारेन्टाइन स्थापना गर्न जङ्गी अड्डाबाट निर्देशन दिएको छ । यसै क्रममा हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेको हेल्थ डेस्कहरूमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरू परिचालन गरिएको छ,’ सेनाले भनेको छ ।

जिल्ला स्तरमा प्रदेश सरकारसँग समन्वय गरेर क्वारेन्टाइन तथा आइसोलेसन स्थापना गर्न सेनाले सहयोग गरिरहेको तथा वडा तहमा पनि ती पूर्वाधार निर्माण गर्न सघाइरहेको सेनाले जनाएको छ ।

‘कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी रोकथाम तथा न्यूनीकरणको लागि श्री राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरूलाई स्वयंसेवकको रूपमा सचेतना कार्यको लागि परिचालन गर्न सुरु गरिएको छ। नेपाली सेनाका परिचालित सकल दर्जाको सुरक्षाको लागि आवश्यक पीपीई, मास्क, पञ्‍‍जा तथा सेनिटाइजर उपलब्ध गराउन मिलाउनुका साथै नेपाली सेनाले मास्क पीपीई तथा स्यानिटाइजरको उत्पादनसमेत सुरु गरिसकेको छ,’ सेनाको विज्ञप्तिमा लेखिएको छ।

बिदामा रहेका सैनिकलाई इनडोर क्वारेन्टाइन अनिवार्य गरिएको, आन्तरिक सचेतता अपनाइएको सेनाले जनाएको छ । सेनाले कोरोना सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस