लोक सेवा आयोगको अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगको अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित


९ चैत्र २०७६, आइतबार


लोक सेवा

काठमाडौँ । विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरू अनिश्चित कालका लागि स्थगित गरेको छ ।

लोक सेवा आयोगकी प्रवक्ता गीता होमेगाईले जारी गरेको विज्ञप्तिमा ‘आयोगको केन्द्रीय कार्यालय र अन्तर्गतका कार्यालयहरूमा मिति २०७६ चैत ११ गतेदेखि सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै अन्तर्वार्ताका कार्यक्रमहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गर्ने’ उल्लेख छ ।

यसअघि चैत मसान्तसम्मका लिखित परीक्षाहरू मात्र स्थगित गरेको आयोगले आइतबार थप निर्णय गर्दै अन्तर्वार्ताका कार्यक्रमहरू पनि स्थगित गरेको हो ।

आयोगको यस निर्णयबाट केन्द्रीय कार्यालयमा सञ्चालन हुने निजामती सेवातर्फ नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका अन्तर्वार्ता कार्यक्रम रोकिएको छ ।

यस्तै आयोगका विभिन्न कार्यालयहरूबाट सञ्चालन हुने स्थानीय तहतर्फ चौथो तहका सहायक महिला विकास निरीक्षक पदका अन्तर्वार्ता कार्यक्रम पनि स्थगित भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस