डेढ करोड हिनामिना गरेको आरोपमा २ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डेढ करोड हिनामिना गरेको आरोपमा २ जना पक्राउ


२९ फाल्गुन २०७६, बिहिबार


पक्राउ

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को रु एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन् । उनीहरूलाई प्रहरीले मङ्गलवार राति पक्राउ गरी आज सञ्चारकर्मीलाई जानकारी गराइएको हो ।

पक्राउ परेका दुवै जनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैङ्कमा जम्मा नगरी रु एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको छ ।

सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैङ्किङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । यसका अलावा त्यत्रो ठुलो रकम हिनामिनामा ती दुई जनाको मात्रै हात नरहेको आशङ्का गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस