कोरोना भाइरस : इटालीमा ज्यान गुमाउनेको संख्या ८२७ पुग्यो, जर्मनीमा ५ करोड जोखिममा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस : इटालीमा ज्यान गुमाउनेको संख्या ८२७ पुग्यो, जर्मनीमा ५ करोड जोखिममा


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय २७ पुगेको छ । बुधबार मात्रधै १९६ जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजार ४ सय ७२ जना संक्रमित भएको पुष्टी भएको छ ।

संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

यस्तै जर्मनीमा ५ करोड कोरोना भाइरसको जोखिममा रहेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलले ५ करोड ८० लाख मानिस कोभिड–१९ को संक्रमणको जोखिममा रहेको बताएकी छन् । उक्त संख्या देशको जनसंख्याको करिब ७० प्रतिशत हो ।

स्पेनमा हालसम्म २ हजार २ सय ७७ र फ्रान्समा २ हजार २ सय ८१ जना संक्रमित भइसकेका छन् । बिहीबार बिहानसम्म स्पेनमा ५५ र फ्रान्समा ४८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या १ हजार ३ सय १२ पुगेको छ भने ३८ जनाले ज्यान गुमाएका छन् । अधिकारीका अनुसार वासिङ्टन, न्युयोर्क, क्यालिफोर्नियालगायत सहरमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

न्युयोर्कका गभर्नर एन्ड्रियु कोउमोले निकै प्रभावित भएकाले सहरको उत्तरी क्षेत्रमा सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाइएको जनाएका छन् । उनले न्यु रोसल क्षेत्रमा सम्भवतः अमेरिकाकै धेरै संक्रमित रहेका जनाउँदै नेसनल गार्डलाई परिचानल गरिएको जनाए । उनीहरूले विद्यालय, अस्पताल, सपिङ मललगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन् ।

कोरोना भाइरस संक्रमण विश्व महामारी घोषित

अस्ट्रेलियामा हालसम्म संक्रमितको संख्या १ सय २७ पुगेको छ । स्वास्थ्य विभागका अनुसार ३ जनाको मृत्यु भइसकेको छ । प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ को नियन्त्रण र उपचारका लागि १.५५ अर्ब अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् ।

दक्षिण कोरियामा संक्रमितको संख्या ७ हजार ८ सय ६९ पुगेको छ । हालसम्म ६६ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य अधिकारीका अनुसार उपचारपछि निको भएका ४१ जना घर फर्किसकेका छन् । त्यसैगरी, जापानमा पनि कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार ३ सय ४८ जनाको संक्रमण पुष्टि भएको छ भने २२ जनाले ज्यान गुमाएका छन् ।

कोभिड–१९ को संक्रमण सुरु भएको भनिएको चीनमा भने नयाँ बिरामी घटेका छन् । अधिकारीका अनुसार बुधबार २४ जना मात्र नयाँ बिरामी थपिए भने थप २२ जनाको मृत्यु भयो । चीनमा हालसम्म ८० हजार ९ सय ६७ जनामा संक्रमण देखिएको छ भने ३ हजार १ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् । कोभिड–१९ का कारण कम्तीमा ३ सय ५४ इरानीले ज्यान गुमाइसकेका छन् भने ९ हजारमा संक्रमित भएका छन् ।

त्यस्तै बेलायतमा ८, इराकमा ७, नेदरल्यान्ड्समा ५, स्विजरल्यान्डमा ४, जर्मनी, बेल्जियम, अस्ट्रेलिया र हङकङमा ३/३ जना, सान मारिनो, लेबनान र फिलिपिन्समा २/२ जना तथा स्विडेन, क्यानडा, इजिप्ट, थाइल्यान्ड, ताइवान, इन्डोनेसिया, अर्जेन्टिना, अल्बानिया, पानामा, बुल्गेरिया र मोरक्कोमा १/१ जनाको मृत्यु भएको छ ।

विश्व माहामारी घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोना भाइरस (कोभिड–१९) लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

४ हजार ६ सय ३३ को मृत्यु
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमणबाट बिहीबार बिहानसम्म ४ हजार ६ सय ३३ को मृत्यु भइसकेको छ। त्यस्तै विश्वका १२४ देशभन्दा बढी देशमा एक लाख २६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ। चीनमा बिहीबार बिहानसम्म ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ९६ जना संक्रमित भएका छन्। त्यसमध्ये ६२ हजार ८ सय निको भएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ।

चीनमा म‌ंगलबार ११ जनाको मात्रै मृत्यु भएको छ भने थप १८ जनामा संक्रमण देखिएको छ। चीनपछि सबैभन्दा बढी इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै इटालीमा १९६ जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या पनि १२ हजार नाघेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस