विद्यार्थीको हात चिर्ने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यार्थीको हात चिर्ने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

केही दिन अगाडि उनले परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी थिइन् । काठमाडौं जिल्ला अदालतले मंगलबार सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले शिक्षिका कर्माचार्यमाथि हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको शाखा अधिकृत टीकासिंह खत्रीले जानकारी दिए ।

विद्यालयले उनलाई जागिरबाट निकालिसकेको छ । कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । उक्त घटनाबारे नयाँ पत्रिका दैनिकले समाचार सार्वजनिक गरेको थियो । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्लेडले हात चिरेका हुन् ।

विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन् । परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिएकी थिइन् । उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् ।

नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थी आफैंले हात चिर्नुपर्ने भन्दै सजाय दिएकी हुन् । विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिरेका थिए । २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका हुन् ।

जति कम नम्बर आएको छ उति धेरै हात (नाडिमा) चिरा पारिएको छ । घटना सार्वजनिक भएपछि एकेडेमीले शिक्षिका कर्माचार्यलाई अवकाश दिएको बताएको छ । उनी १२ बर्षदेखि एकेडेमीमा पढाउँदै आएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस