कम्पनीले भित्र्यायो अत्याधुनिक उपकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कम्पनीले भित्र्यायो अत्याधुनिक उपकरण


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गुणस्तर परीक्षणसम्बन्धी अत्याधुनिक उपकरण भित्र्याएको छ । सेवाग्राहीलाई पायक पर्ने स्थानमा खाद्यान्न उपलब्ध गराउनुका साथै गुणस्तरलाई ध्यान दिँदै कम्पनीले आफ्नै उपकरणहरू जडान गर्न लागेको हो ।

तत्कालीन नेशनल ट्रेडिङ र खाद्य संस्थान गाभिएर नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेपछि आक्रामक रूपमा बजार हस्तक्षेपसहित सुसज्जित भएर कम्पनी आउन थालेको हो । कम्पनीले देशभर रहेका सम्पत्ति तथा दायित्व खोज्नेसँगै ठुलो परिमाणमा धान खरिद तथा घुम्ती सेवामार्फत दैनिक लाखौँको खाद्यान्न व्यापार गर्न सुरु गरिसकेको छ ।

सम्बन्धित समाचार : घुम्ती सेवामार्फत दैनिक १ लाख रुपैयाँको खाद्यान्न व्यापार गर्दै नयाँ सरकारी कम्पनी

विकट जिल्लामा खाद्यान्न उपलब्ध गराउने सरकारी स्वामित्वको एक मात्र यस कम्पनीले सेवाग्राहीको सुविधालाई ध्यान दिँदै सहरी क्षेत्रमा समेत बिक्री काउन्टर तथा घुम्ती सेवा सञ्चालनमा ल्याएको हो ।

खाद्यान्न परीक्षणका लागि दुई वटा अत्याधुनिकसहित करिब एक दर्जन बढी विभिन्न परीक्षण गर्ने उपकरणहरू कम्पनीसँग रहेको वरिष्ठ गुणस्तर अधिकृत विशेष कट्टेलले जानकारी दिए । उनका अनुसार ठुला उपकरणहरूको जडानले खाद्यान्नमा भएका हरेक तत्त्वहरूको सूक्ष्म परीक्षण गर्न सकिने छ ।

यु–भी स्पेक्ट्रोफोटोमिटर– यसले रासायनिक तत्त्वहरूको प्रकार र परिमाण पत्ता लगाउँछ । जस्तै चामलमा रहेको युरिक एसिड र विषादीको मात्रा पत्ता लगाउँछ । यसको मूल्य ३० देखि ४० लाख रुपियाँ पर्ने बताइन्छ ।

ग्याँस क्रोम्याटोग्राफी मास स्पेक्ट्रोफोटोमेट्री(जीसीएमएस)–यसले माइकोटोक्सिन जस्तो तत्त्वहरू हेर्छ । उपकरणमार्फत चामलमा भएको अफ्लाटोक्सिन र विषादीको मात्रा हेर्न सकिन्छ । यसको मूल्य ४० देखि ५० लाख रुपियाँ पर्छ ।
इन्क्यूभेटर– यसमार्फत खाद्यान्नमा भएको सूक्ष्म जीवाणुको कल्चर गरिन्छ । यो अहिले सञ्चालनमा रहेको छ ।

अटोक्लेभ– सूक्ष्म जीवाणु कल्चरका लागि मिडिया र ग्लासवेयरलाई स्टेरिलाइज्ड गर्ने काम यसमार्फत हुन्छ ।

हट एयर ओभन र मोइस्चर मिटर – यो उपकरणले खाद्यान्नमा भएको चिस्यानलाई मापन गर्ने काम गर्छ । जसमध्ये हट एयर ओभन अहिले प्रयोगमा रहेको छ । साथै म्यानूवल मोइस्चर मिटर क्यालिब्रेसन गर्न हट एयर ओभन प्रयोगमा रहेको छ ।

मफ्फल फन्र्यास – यसले खाद्यान्नमा भएको ए्यास कन्टेन्ट हेर्न नमुनालाई एयासिङ गर्छ । यो मेसिन सञ्चालनमा रहेको छ ।

एब्बेज रिफ्याक्टोमिटर – यस मेसिनमार्फत खाद्यान्नको टोटल सोल्यूबल सोलिड(टिएसएस) हेरिन्छ ।

माइस्क्रोप्कोप– यसमार्फत खाद्यान्नमा हुने सूक्ष्म जीवाणु हेरिन्छ ।

त्यसैगरी चिस्यान मापन गर्ने म्यानुअल मोइस्चर मिटर, स्याम्पलिङ गर्ने गे्रन स्याम्पल डिभाइडर, कनिका र टुक्रेको चामल छुट्ट्याउने ब्रोकन सेप्रेटर, धुलो तथा पिठो छान्ने सिभ सेट, खाद्यान्न(चामल, गहुँ)को आकार नाप्ने ग्रेन क्यालिपर तथा चामलको तेलहन निकाल्ने सक्स्लेट एपारेटसलगायत साना उपकरणहरू पनि कम्पनीसँग रहेका छन् ।

जुनसुकै वस्तु किनेर बिक्री गर्न पाउने गरी कम्पनीमा गई सकेपछि व्यापार बढाउनका लागि यी उपकरणहरू सञ्चालनमा ल्याउन जरुरी भएको कट्टेलको भनाई छ ।

ठुला लगायत सबै उपकरण जडानका लागि आवश्यक भौतिक पूर्वाधारसमेत तयार रहेको उनले बताए । त्यसका लागि आवश्यक जनशक्ति कम्पनीसँग पर्याप्त भएको उनले बताए ।

हाल कम्पनीसँग वरिष्ठ गुणस्तर अधिकृत एक, गुणस्तर नियन्त्रण अधिकृत तीन, वरिष्ठ सहायक गुणस्तर नियन्त्रण दुई जना रहेका छन् । त्यसै गरी काठमाडौँ उपत्यका बाहिर नेपालगन्ज र बिर्तामोडमा गुणस्तर अधिकृत तथा धनगढी, वीरगन्ज, जनकपुर, लहान, विराटनगरमा सहायक गुणस्तर अधिकृत रहेका छन् ।

उपकरण सञ्चालनका लागि आवश्यक पर्ने केमिकल, ग्लासवेयर, डिस्टिलवाटरलगायत आवश्यक पर्ने अन्य केमिकल पनि कम्पनीसँग रहेको छ । जसमध्ये केमिकल सिआरएम सबैभन्दा महँगो हुन्छ । सर्टिफाईट रियोजेन्ट म्याटेरियल्स(सिआरएम) को मात्रै २० ग्रामसम्मलाई तीस हजार रुपियाँसम्म पर्ने कट्टेलले बताए । यसमार्फत खाद्यान्नमा भएको विषादी जीसीएमएसद्वारा हेरिन्छ । खाद्यान्नमा भएको विषादी पहिचान गर्न सुद्द विषादीको (सिआरएम) लाई जीसीएमएसद्वारा स्याम्पलमा भएको सम्भाव्य विषादी सँग तुलना गरिन्छ र विश्लेषण गरिन्छ । यसका लागि सुद्द विषादी(सिआरएम) खीरद गर्नुपर्ने हुन्छ साथै डिस्टिलवाटर आफ्नै प्रयोगशालामा उत्पादन गर्न सकिने कट्टेलले जानकारी दिए ।

त्यस्तै ल्याब सञ्चालनका लागि एन्टीभाइबे्रसनल टेबुल आवश्यक हुन्छ । यसका लागि कपबोर्ड, बेसिन, केमेस्ट्री ल्याब लगायत निर्माण गर्नु पर्छ । पूर्ण रूपमा ल्याब सञ्चालनमा आएपछि विश्वभर जहाँकहीँ पनि मान्यताको लागि ल्याब परीक्षणको एक्रिडिटेशन हुनुपर्ने उनले जानकारी दिए ।

परीक्षण कार्य सञ्चालनमा ल्याइसकेपछि मान्यताप्राप्त विदेशी कम्पनीलाई बोलाई नेपालमा गरिएको परीक्षण र विदेशी ल्याबमा गरिएको परीक्षणको नमुना मिल्न गएमा मान्यता दिने कट्टेलले बताए । त्यसपछि विश्वको जुन कुनै कुनामा गरिएको परीक्षणको एउटै नतिजा आउने कट्टेलको भनाई छ ।

सरकारी उत्पादनप्रति उपभोक्ताहरूको विश्वास र बजार प्रतिस्पर्धालाई मध्यनजर गर्दै कम्पनी जबर्जस्तरुपमा अघि बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीको भनाई छ ।

कम्पनीसँग रहेका भौतिक पूर्वाधारको सूक्ष्म अध्ययन गरी कम्पनीलाई दिगो ढङ्गले स्थापित गर्ने बताउँदै सुवेदी भन्छन्,‘ यसका लागि सुरुवात भई सकेको छ ।’

कम्पनीमा नयाँ कार्यकारी अधिकृत(सिइओ) तोकिएसँगै साबिक नेशनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानको एकमुष्ट सम्पत्ति तथा दायित्वको अभिलेखीकरण गर्न विवरण सङ्कलन कार्य सुरु भइसकेको छ ।

सम्बन्धित समाचार : देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोज्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी

संस्थागत क्षमता र सुशासनलाई सुदृढ बनाउँदै सशक्त र उत्तरदायी कम्पनी बनाउनेतर्फ सम्बन्धित पक्ष जोडतोडका साथ लागि परेका छन् ।

त्यसै गरी धान खरिद गरेर विकट पहाडी तथा हिमाली जिल्लामा ढुवानी अनुदानमा चामल उपलब्ध गराउँदै आएको कम्पनीले सुगम स्थानमा पनि उपलब्ध गराउन सुरु गरेको छ ।

सम्बन्धित समाचार : ३० हजार मेट्रिक टन धान किन्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी

खाद्य तथा अन्य अत्यावश्यक वस्तुको गुणस्तर कायम राख्दै नियमित रूपमा सर्वसाधारण उपभोक्तालाई उचित मूल्यमा खाद्यान्न बिक्री वितरण र आपूर्ति गर्ने योजनाअनुरुप कम्पनी अघि बढी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस