३० हजार मेट्रिक टन धान किन्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

३० हजार मेट्रिक टन धान किन्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी


५ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान किन्न सुरु गरेको छ । कम्पनीले विकट पहाडी तथा हिमाली जिल्लामा खाद्यान्न वितरण गर्न ३० हजार मेट्रिक टन धान खरिद गर्न थालेको हो । हालसम्म कम्पनीले १ लाख ८६ हजार ६ सय ८२ क्वीन्टल धान खरिद गरिसकेको कम्पनीको तथ्याङ्क छ ।

साबिक खाद्य संस्थानले विकट जिल्लामा चामल पुर्‍याउन यसरी नै हरेक वर्ष धान खरिद गर्ने गरेको थियो । कम्पनी बनेपछि खाद्य संस्थानले गर्दै आएको दायित्व कम्पनीमा सरेको हो । विकट जिल्लामा चामल पुर्‍याउनतराईका विभिन्न जिल्लाबाट समर्थन मूल्यमा धान किन्न सुरु गरेको कम्पनीका बिक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिए । उनका अनुसार खाद्य कम्पनी बनिसकेपछि जुनसुकै वस्तु किनेर बिक्री गर्न पाउने व्यवस्था कम्पनी प्रवन्धपत्रले गरेको छ ।

‘सरकारले किसानलाई मर्का नपरोस् भनेर गत आर्थिक वर्षदेखि समर्थन मूल्य तोकेर धान किन्न सुरु गरेको हो,’ उनले भने ‘अहिले कम्पनीले मोटा धान प्रति क्वीन्टल २ हजार ५ सय ३२ रुपैयाँ १६ पैसा र मध्यम धान प्रति क्वीन्टल २ हजार ६ सय ५३ रुपैयाँ ३२ पैसामा खरिद गर्दै आएको छ । किसानको हितका लागि धान किन्ने गरिएको ठाकुरले जानकारी दिए ।

कम्पनीले तराईका वित्तामोड, विराटनगर, लाहन, वीरगन्ज, जनकपुर, राजापुर, धनगढी, महेन्द्रनगर र नेपालगन्ज गरी ९ कार्यालयबाट खरिद गरिरहेको छ । हालसम्म लक्षित खरिदको ६६ प्रतिशत धान खरिद गरिसकेको कम्पनी खरिद विभाग प्रमुख गणेश चापागाईँले जानकारी दिए । ‘यस वर्ष भैरहवाबाट धान खरिद गर्न सकिएन, उनले भने ‘अन्य स्थानमा धान खरिद गर्दै कुटाउने काम भइरहेको छ ।’

कम्पनीले तोकेको जस्तो धान नपाउँदा भैरहवाबाट धान खरिद नगरेको उनले बताए । धान खरिद गर्दा मिसावट, चिस्यानलगायतका गुणस्तर हेर्ने गरिन्छ । अहिले दुई हजार क्वीन्टल धान खरिदका लागि बजारमा छनोट प्रक्रिया भइरहेको चापागाईँले बताए ।

साबिक नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड मिलेर बनेको यस कम्पनीले अब यसअघि खाद्य संस्थानले २४ विकट पहाडी तथा हिमाली जिल्लामा पुर्‍याउँदै आएको सेवा दिनुपर्ने हुन्छ ।

सरकारले यी जिल्लामा धान खरिद गरेर विकट पहाडी तथा हिमाली जिल्लामा ढुवानी अनुदानमा चामल उपलब्ध गराउँदै आएको छ । अब कम्पनीमा गएपछि सुगम जिल्लामा पनि चामल उपलब्ध गराइ राखेको छ । कम्पनीमा गएपछि सुगम स्थानमा पनि यस्तो सेवा कम्पनीले सुरु गरेको छ ।

खाद्य तथा अन्य अत्यावश्यक वस्तुको गुणस्तर कायम राख्दै नियमित रूपमा सर्वसाधारण उपभोक्तालाई उचित मूल्यमा खाद्यान्न बिक्री वितरण र आपूर्ति गर्ने छ,’ ठाकुरले भने ‘ग्रामीण क्षेत्रमामात्र नभई सहरी क्षेत्रका उपभोक्तालाई समेत यस्तो सेवा दिने योजना बनाएका छौँ ।’

कम्पनीले विभिन्न जिल्लाका गोदाम, डिपो तथा सहकारीहरू तथा अस्थायी केन्द्रबाटसमेत यस्तो सेवा उपलब्ध गराउँदै आएको छ । यसको अलावा सिंहदरवार अगाडी, थापाथली र नख्खुमा काउन्टरबाट समेत खाद्यान्न बिक्री गरिरहेको छ । कम्पनीको देशभर २६ वटा शाखा र ५९ वटा डिपो रहेका छन् । यी डिपो र शाखाबाटसमेत उपभोक्तालाई सेवा दिँदै आएको छ ।

आफ्नो व्यवसायलाई विस्तार गर्न कम्पनीले उपभोक्ताको माग अनुसार विभिन्न प्रकारका चामल, भूकम्पका बेला चीन सरकारले उपलब्ध गराएको इन्डक्सन चुलो पनि बिक्री गर्दै आएको छ । सोना मनसुली ४७ रुपैयाँ, जीरा मनसुली ५३ रुपैयाँ र बासमती ७९ रुपैयाँ प्रति केजीमा बिक्री गर्ने गरेको ठाकुरले बताए ।

यसरी नै कम्पनीले जापनिज चामल प्रति केजी ६३ रुपैयाँमा बिक्री गर्दै आएको छ । यी चामलमध्ये जापनिज चामल उपभोक्ताले अत्यधिक मन पराएको चामल हो । कम्पनीका अनुसार सोना मनसुली, जीरा मनसुली र बासमती चामकको क्रमशः ३०, २५ र १० केजीको प्याकमा उपलब्ध छ ।

अहिले कम्पनीसँग १९ हजार मेट्रिक टन धान चामल स्टक रहेको छ । ३३ हजार मेट्रिक टन स्टक राख्नु पर्ने हुन्छ । २५ हजार मेट्रिक राष्ट्रिय सुरक्षा भण्डारणको लागि हो भने ८ हजार मेट्रिक टन सार्क खाद्य बैङ्कको लागि हो ।’

हाल कम्पनीसँग देशभरिमा गरी ६१ हजार मेट्रिक टन भण्डारण क्षमता रहेको छ । धान खरिद हुने तराईका १० जिल्लाहरूमध्ये धनगढी सात हजार दुई सय मेट्रिक टन, राजापुर ६ हजार दुई सय, नेपालगन्ज दुई हजार पाँच सय, बिर्तामोड एघार हजार, जनकपुरमा तीन हजार, वीरगन्जमा १० हजार, लहानमा ६ हजार दुई सय, विराटनगरमा ११ हजार, महेन्द्रनगरमा दुई हजार र भैरहवामा ती हजार मेट्रिक टन क्षमता रहेको कम्पनीका कायम मुकायम नायव महाप्रबन्धक मोतीराज ज्ञवालीले जानकारी दिए ।

गोदाहरु पुरानो भएकोले धेरै ठाउँमा मर्मतको आवश्यकता रहेको कामु नायव महाप्रबन्धक ज्ञवालीको भनाई छ ।

कम्पनीले धान खरिद गर्दा मिसावट, चिस्यान, गुणस्तरलगायत हेरेर खरिद गर्ने गर्दछ तर किसानहरू भने व्यावसायिक खेती प्रणालीमा अभ्यस्त नहुँदा खरिदमासमेत त्यसको प्रभाव पर्ने गरेको छ ।

गुणस्तरीय धान उत्पादनका लागि बीउदेखि बाली भित्र्याउनेसम्मका विभिन्न प्रक्रियामा ख्याल पुर्‍याउनु पर्ने भए पनि किसानहरूले ख्याल नगर्दा धानको गुणस्तरमा कमी देखिनु स्वाभाविकै हो ।

किसानहरूसँग आवश्यक कृषि उपकरणको अभाव पनि अर्को समस्या रहेको छ । ‘धान सुकाउने मेसिनहरू नहुँदा धान चिसै हुने र कम्पनीले चिस्यान बढी भएको धान खरिद गर्न मिल्दैन’ कामु नायव महाप्रबन्धक ज्ञवालीले भने ।
‘चिसो धान खरिद गर्दा छिटै सड्ने, बिग्रने हुन्छ’, उनले भने, ‘यस्तो धानबाट गुणस्तरीय चामल बन्दैन ।’

त्यसैगरी किसानसम्म पुग्ने आफ्नै संयन्त्र पर्याप्त नहुँदा किसानबाट किन्ने भएकोले कहिलेकाहीँ बिचौलियाहरुलेसमेत बिचमा केही समस्याहरू ल्याउने गरेका छन् । धान खरिदलाई प्रभावकारी र स्वचालित बनाउन हाल धान खरिद हुँदै आएका तराईका १० वटै जिल्लाहरूमा ठुला गोदामहरूको आवश्यकता पर्ने ज्ञवाली बताउँछन् । ‘पर्याप्त खरिदका लागि सेड टाइपको संरचना चाहिन्छ’, ज्ञवाली भन्छन् ‘त्यस्तो संरचना भयो भने किसानबाट सहजरुपमा धेरै परिमाणमा धान खरिद गर्न सकिन्छ’

त्यस्तै खरिदसँगै कुटानी प्रबन्ध पनि गर्नुपर्ने भएकोले भण्डारणसँगै मिलको आवश्यकता देखिएको उनले बताए । हाल कम्पनीसँग राजापुर जनकपुरमा मात्रै आफ्नो मिल रहेको छ ।

संस्थानबाट कम्पनीमा गइसकेपछि यसको दायरासमेत फराकिलो भएको छ । अब कम्पनीले अत्यावश्यक वस्तुको उत्पादन र वित्रिवितरणसँगै प्रशोधन, प्याकेजिङ, बाह्य देशहरबाटसमेत आयात, निर्यात तथा अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरूबाट एजेन्सी लिएर अत्यावश्यक वस्तुहरू व्यावसायिक कारोबार गर्न सक्नेछ ।

कम्पनीसँग खाद्यवस्तुहरूको गुणस्तर चेक जाँच गर्न आफ्नै प्रयोगशाला समेत रहेको छ ।

बजारमा प्रभावकारी उपस्थितिका लागि ऐन कानुनको निर्माणसँगै कार्यालय संरचना र जनशक्तिसमेत थप्नु पर्ने देखिन्छ । सङ्घीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय कार्यालयहरू कसरी राख्ने र कहाँ के व्यापार गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा टुङ्गो लगाउनु पर्ने हुन्छ ।

कम्पनी व्यावसायिक कारोबारमा जाने योजनामा रहेकोले व्यावसायिक कार्य योजना बनिसकेपछि के, कहाँ, कसरी कारोबार गर्ने भन्ने कुराको टुङ्गो लाग्नुपर्ने कम्पनीका नायव महाप्रबन्धक ज्ञवालीले बताए ।

साबिक नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभिएर नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेसँगै दुवै सार्वजनिक संस्थानका सम्पत्ति तथा दायित्वको अभिलेखीकरण गर्ने कार्य शुरु भईसकेको छ ।

सम्बन्धित समाचार : देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोज्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी

Tags :
प्रतिक्रिया दिनुहोस