देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोज्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोज्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी


२७ माघ २०७६, सोमबार


काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर छरिएर रहेका सम्पत्ति समेट्ने कार्य सुरु गरेको छ । कम्पनीले साबिक नेशनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानको एकमुष्ट सम्पत्ति तथा दायित्वको अभिलेखीकरण गर्न विवरण सङ्कलन कार्य सुरु गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ)नेत्रप्रसाद सुवेदीले हाल दुवै सार्वजनिक संस्थानका सम्पत्ति तथा दायित्वको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी दिए । ‘यो कार्यलाई हामीले पहिलो चरणको कार्य अन्तर्गत अघि बढाएको छौँ,’ उनले भने ‘यसपछि संस्थागत क्षमता र सुशासनलाई सुदृढ बनाउँदै कम्पनीलाई सशक्त र उत्तरदायी बनाउने छौँ ।’

हालसम्म नेशनल ट्रेडिङ र खाद्य संस्थानको देशका विभिन्न स्थानमा जमिन गोदाम र भवनहरू रहेको छ । कम्पनीको तराईमा ६५ बिगा, उपत्यकामा २ सय ८ रोपनी १४ आना २ पैसा, पहाडमा १ हजार ५ सय ३४ रोपनी र हिमालमा १ हजार १ सय ९८ रोपनी जग्गा रहेको छ । ३० वटा कार्यालय भवन र साना ठुला गरी १ सय ५५ वटा गोदाम रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

त्यसो त अहिले पनि नेशनल ट्रेडिङ कम्पनी र खाद्य संस्थानको संरचनागत सञ्जाल देशैभर छ । देशव्यापी सञ्जाल भए पनि उपयोगमा आउन भने सकेको छैन । खाद्य संस्थान र नेशनल ट्रेडिङले कतिपय भौतिक संरचना निजी कम्पनीलाई भाडामा दिएको छ भने कतिपय भौतिक संरचनासहितको जमिन अन्य सरकारी निकायलाई बिक्री गरेको छ ।

सरकारले २० को दशकमा आम नेपालीलाई खाद्यान्न, अन्य घरायसी प्रयोजनका सामग्री तथा मेशिनरी पार्टपुर्जा उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य सहित यी दुई सार्वजनिक संस्थान स्थापना गरेको थियो । यी दुई कम्पनी नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई जोडेर कम्पनीको नयाँ संरचना तयार पारेको हो ।

नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ आपसमा गाभिएपछि दुवैको सम्पूर्ण शेयर, सम्पत्ति र दायित्व खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा स्थानान्तरण गरिएको छ । गत साउनमै गठन गरिएको ‘पूर्व तयारी समिति’ समितिले दिएको सुझावको आधारमा दुवैको सम्पत्ति नयाँ कम्पनीका नाममा सारिएको हो ।

नेपाल सरकारले गत साउन २८ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको यस कम्पनीले आफ्नो व्यवसायलाई विविधीकरण गर्दै प्रशोधित खाद्य वस्तुको निर्यात समेत गर्ने उद्देश्य लिएको छ । नयाँ कम्पनीलाई राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तुको खरिद, सुलभ रूपमा आपूर्ति, आयात निर्यात, ढुवानी, बिक्री, भण्डारण, अस्वाभाविक बजार मूल्यलाई नियन्त्रण गर्नेलगायतको कामको जिम्मेवारी दिइएको छ ।

यसका साथै कम्पनीले सात वटै प्रदेशमा गोदाम निर्माण, मिल निर्माण कार्य अघि बढाएको छ । हाल कम्पनीसँग १९ हजार मेट्रिक टन अत्यावश्यक खाद्यान्न क्षमताको खाद्य वस्तुको संचिति तथा ‘बफर स्टक’ रहेको कम्पनी बिक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिए । ‘कम्पनीले ३३ हजार मेट्रिक टन खाद्यान्न संचिति राख्ने गरेको छ,’ उनले भने ‘सो खाद्यान्नमध्ये २५ हजार मेट्रिक टन राष्ट्रिय खाद्य सुरक्षाको लागि हो भने ८ लाख मेट्रिक टन सार्क खाद्य बैङ्कको लागि हो ।’

कम्पनीको कुल अधिकृत पुँजी ७ अर्व र जारी पुँजी ५अर्व रहेको छ भने चुक्ता पुँजीका रूपमा खाद्य संस्थानको ९९ करोड रुपैयाँ छ । नेशनल ट्रेडिङ गाभिएपछि १ अर्व १५ करोड ९८ लाख रुपैयाँ पुँजी कबुल गरिएको छ । उक्त कम्पनीमा साविका खाद्य संस्थान सहित उद्योग, वाणिज्य तथा आपूर्ति, गृह, अर्थ, कृषि तथा पशुपक्षी चार वटा मन्त्रालयको शेयर स्वामित्व रहेको छ ।

कम्पनीमा उद्योग, वाणिज्य तथा आपूर्ति १ करोड ६ लाख ८३ हजार, साबिक खाद्य संस्थानको ९९ लाख ४ हजार ९ सय ५०, अर्थ मन्त्रालयको ६ लाख ७२ हजार ४ सय ६१, गृहको १ लाख ७१ हजार र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ७१ हजार कित्ता गरी जम्मा १ करोड १५ लाख ५८ हजार ३ सय कित्ता शेयर कम्पनी सचिव पवित्र गौतमले जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दा नेशनल ट्रेडिङ लिमिटेडलाई नेपाल खाद्य संस्थानमा गाभी राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्ने विषय उल्लेख गरिएको छ । उक्त बजेट वक्तव्यमा उल्लिखित नीति कार्यान्वयनको क्रममा मिति २०१८ चैत्र १८ गते स्थापित नेशनल ट्रेडिङ लिमिटेड र मिति २०२१ मङ्सिर १७ गते स्थापित नेपाल खाद्य संस्थानलाई गाभेर नयाँ सरकारी कम्पनी स्थापना गरिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ जेठ १० ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ गठन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस