संविधानको सफल कार्यान्वयनबाट संघीयता स्थापित हुन्छ : मन्त्री त्रिपाठी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संविधानको सफल कार्यान्वयनबाट संघीयता स्थापित हुन्छ : मन्त्री त्रिपाठी


प्रशासन संवाददाता

१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संविधानको सफल कार्यान्वयनबाट संघीयता स्थापित हुने बताएका छन् ।

शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री त्रिपाठीले नेपालको संविधान अन्य मुलुकका तुलनामा विशिष्ट र मौलिक भएकाले यसको कार्यान्वयनको विकल्प नभएको जनाए । उनले भने, ‘नेपालको संविधान जनताका प्रतिनिधिले बनाएका हुन् । केन्द्र, प्रदेश र स्थानीय तहका आफ्नै अधिकार र समावेशिताका दृष्टिले यो मौलिक छ । हामी सबै यसको कार्यान्वयनमा लागौँ ।’

संघीयताको भविष्यबारे चिन्ता नगरौँ । संविधानको कार्यान्वयन हुँदा सबै कुरा कार्यान्वयन हुन्छ ।’ कार्यक्रममा समाजशास्त्री डा.डम्बर चेम्जोङले ‘संघीयताको कार्यान्वयनमा बौद्धिक वर्गको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यमान संघीयता केन्द्रीयताकै अर्को रुप भएको जिकिर गरे । सो अवसरमा ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरविनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई संयुक्तरुपमा दिइयो ।

पुरस्कारको राशि संयुक्त रु एक लाख ११ हजार १११ छ । पुरस्कारका लागि विसं २०७५ मा प्रकाशितमध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट पहिले उत्कृष्ट पाँच छनोट गरी अन्तिममा दुई कृति पुरस्कृत गरिएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बताए ।

कार्यक्रममा उक्त पुस्तक खरीदकर्तामध्ये गोलाप्रथाबाट पुस्तक क्रमसङ्ख्यामध्ये ११ हजार २१ र नौ हजार ३५९ ले रु २५ हजार राशिको ‘बादलभित्रको घाम पाठक पुरस्कार’ पाउने घोषणा गरियो । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।

पुडासैनीको कृतिमा मधेश–तराई गाथा र अर्यालको कृतिमा नारीवादी आत्मिक प्रेम वर्णन भएको जनाइएको छ । ‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनःमुद्रण गरी कूल २५ हजारप्रति प्रकाशन भएको जिकिर गरिएको छ । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस