राष्ट्रिय एकता र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ : उप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय एकता र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ : उप्रधानमन्त्री पोखरेल


प्रशासन संवाददाता

८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नेपाली सेनाद्वारा प्रकाशित सामरिक लेखको सङ्गालो ‘युनिटी जर्नल’ मा समावेशमध्ये मानवशास्त्री विहारीकृष्ण श्रेष्ठकोे ‘बहुलजातीय नेपालमा राष्ट्रियता र राष्ट्रिय एकता : राष्ट्रिय मामिला व्यवस्थापनका लागि एकीकृत पद्धतिको अवलम्बन’ शीर्षकको लेख सर्वोत्कृष्ट घोषित भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त लेखका लागि उनलाई रु २ लाख पुरस्कार र प्रमाणपत्र प्रदान गरे। राष्ट्रिय एकता प्रवर्द्धनका लागि बौद्धिक तहमा अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले सेनाले उक्त जर्नलका लागि आह्वान गरेको प्रतियोगितात्मक ९७ सामरिक लेख समावेश थिए ।

लेखक पशुपति नेपालको ‘अनुकूलन तथा असर कम गर्ने उपायद्वारा जलवायु परिवर्तन जोखिमको मूल प्रवाहीकरण’ दोस्रो र द्वन्द्व व्यवस्थापन विश्लेषक गेजा शर्मा वाग्लेको ‘विश्वशक्तिको भूराजनीतिक वैरभाव र नेपालमा पर्ने प्रभाव’ शीर्षकको लेख प्रतियोगितामा तेस्रो घोषित भयो ।

दोस्रो हुने लेखलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरियो । सेना दिवसको अवसरमा प्रकाशित उक्त जर्नलमा समावेश बाँकी २९ लेखका लागि सान्त्वना पुरस्कार स्वरुप रु १० हजार र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताबाट नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सुरक्षाका विभिन्न आयाममा ठोस योगदान पुग्ने सेनाले विश्वास लिएको छ । उक्त जर्नलको विमोचन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक जिम्मेवारी बहन गर्ने क्रममा राष्ट्रिय सुरक्षा र एकताका विषयमा आमनागरिक र विषयविज्ञहरुबाट अनुसन्धानमूलक लेख रचनाको सङ्गालो प्रकाशित गरेकोमा नेपाली सेनाप्रति धन्यवाद ज्ञापन गरे ।

उनले भने, ‘विविधताले भरिएको नेपालमा नागरिकबीच सहिष्णुताको विकास र एकताको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न यस्ता अभ्यासले महत्वपूर्ण भूमिका खेल्नेछ, सेनाले इतिहासदेखि नै राष्ट्रिय सुरक्षाको अहम् जिम्मेवारी बहन गरी राष्ट्रियहित प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय एकता र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ’, भने।

राष्ट्रको सुरक्षाको जिम्मेवारी सरकार र सेनाले मात्र गर्न सम्भव नहुने हुँदा आमनागरिकको सहयोग र सद्भाव आवश्यक रहन्छ भन्दै उनले राष्ट्रिय सुरक्षामा सबै तह र तप्काको सहभागिता र भूमिका उतिकै महत्वपूर्ण रहने उल्लेख गरे ।

‘सरकार, सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको समग्र सुरक्षा सम्भव हुन्छ, यसका लागि सरोकारवाला पक्षको एउटै धारणा, सोच, बुझाई र योगदान आवश्यक हुन्छ, यसमा बौद्धिक बर्गको अहम् भूमिका रहन्छ भन्नेमा दुईमत हुन सक्दैन’, उनले भने ।

नेपालको भू–राजनीतिक र भू–रणनीतिक पक्षको अध्ययनको आवश्यकता धेरै अघिदेखि महसुस गरिएको बताउँदै रक्षामन्त्री पोखरेले ‘राष्ट्रिय सुरक्षाको निरन्तर अध्ययन, अनुसन्धान तथा विश्लेषण आवश्यक हुन्छ’ भने । रक्षामन्त्री पोखरेलले राष्ट्रिय महत्वका विषयमा सही दिशा निर्देशन गर्न बौद्धिक तह र तप्काले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालको संविधानले सेनालाई एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको बताउँदै राष्ट्रिय एकताबिना राष्ट्रिय सुरक्षाको परिकल्पना गर्न नसकिने बताए । उनले भने, ‘राष्ट्रिय एकता भएको मुलुकलाई कुनै पनि शक्तिले कमजोर र परास्त गर्न सक्दैन, हाम्रो इतिहासले दिएको सबैभन्दा महत्वपूर्ण शिक्षा यही हो, राष्ट्रिय एकताको जगेर्ना गर्ने जिम्मेवारी हामी सम्पूर्ण नेपाली कै हो ।’

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक विज्ञानदेव पाण्डेले राष्ट्रिय महत्वका विषयमा आम नागरिकका बीचमा समान सोच बनाउन सकियोस् भन्ने हेतुले प्रबुद्ध वर्गबाट आनुसन्धानमूलक लेखका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगिता लेख मूल्याङ्कन समितिका सदस्य प्राध्यापक कमलसिंह राठोर राष्ट्रिय सुरक्षा र हितका विषयमा विद्वान्बाट प्राप्त भएको रचनालाई अत्यन्त निष्पक्ष र पारदर्शी ढङ्गबाट छनोट गरिएको जानकारी दिए ।

निकट भविष्यमा सञ्चालनमा आउने प्रतिरक्षा विश्वाविद्यालयको पाठ्यक्रममा समेत समावेश गर्ने उदेश्यले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक सैनिक सम्बन्ध, सैनिक कूटनीतिकका विषयमा इच्छुक लेखकसँग रचना आह्वान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस