अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई स्वत: स्थायी गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई स्वत: स्थायी गर्न माग


२१ माघ २०७६, मंगलबार


काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले सरकारी कार्यालयमा कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई एक पटकको लागि उमेरको हदबन्दी नलाग्ने गरी स्वतः स्थायी गर्न माग गरेका छन् ।

शनिवार प्रदेश २ को जनकपुरधाममा आयोजित प्रदेश भेलाबाट विभिन्न ७ बुँदे प्रस्ताव पारित गर्दै सङ्घले स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनु पर्ने र स्थायी हुन नसकेका कर्मचारीलाई उपदानको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पारित गरेको हो ।

त्यसै गरी निजामती कर्मचारीको समायोजन गर्दा कुनै पनि अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको रोजगारीमा असर नपर्ने गरी व्यवस्थापन गर्न र सङ्घीय निजामती सेवा ऐनमा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको सेवा, सुविधाको बारेमा स्पष्ट व्यवस्था गर्न माग गरेका छन् । त्यसै गरी राज्यकोबाट तलब भत्ता खाने अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई हालसम्म गरेको कामको मूल्याङ्कन गर्दै योगदानमा आधारित उपदानको व्यवस्था गरी अव उप्रान्त सामाजिक सुरक्षा कोषमा समावेश गराउनु पर्ने, ट्रेड युनियनको रोहबरमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, ठेकेदार प्रथाबाट कर्मचारी भर्ना रोक्दै सिधै कार्यालयबाट नियुक्ति दिन माग गरेका छन् ।

सातै प्रदेश र राष्ट्रिय भेलासम्ममा पनि माग पुरा नभएमा जुनसुकै मूल्य चुकाएर पनि हक अधिकारको लागि एकजुट भएर लड्ने प्रतिबद्धतासहित भेला सम्पन्न भएको अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका उपाध्यक्ष एवं प्रवक्ता श्याम सापकोटाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस