देउता रिसाउने डरले छोरीलाई स्कुल पठाउँदैनन् अभिभावक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउता रिसाउने डरले छोरीलाई स्कुल पठाउँदैनन् अभिभावक


१४ माघ २०७६, मंगलबार


डोटी । डोटीको केआई सिंह गाउँपालिका–५ जमलकट्टेका अभिभावकहरु आफ्ना छोरीहरु महिनावारी भएको बेला विद्यालय पठाउँदैनन् ।

गाउँको बिचमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय जाने बाटोमा देवी देवताका मन्दिरहरु तथा थानहरु पर्ने हुँदा देवी देवता रिसाए छोरीहरुको भविश्य बिग्रीने भन्दै अभिभावक छोरीलाई विद्यालय पठाउँन मान्दैनन्

कक्षा ६ देखि १० सम्म अध्ययन अद्यापन हुने सो विद्यालयमा ४७ जना छात्रा अध्ययनरत छन् । जसमध्ये २५ जना महिनावारी हुने उमेरका रहेको विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडीसी) नामक संस्थाको अध्ययनले देखाएको छ ।

महिनावारी हुने २५ जना छात्राहरुमध्ये पाँच जना मात्रै महिनावारी भएका बेला विद्यालय जाने गरेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

देवी देउताकै डरका कारण अभिभावकहरुले महिनावारी भएका बेला छोरीलाई विद्यालय नपठाउने गरेको अध्ययनबाट पाईएको संस्थाका डोटी जिल्ला संयोजक मोहन शाहीले बताए ।

महिनावारी भएको चार दिनसम्म छोरीलाई विद्यालय पठाउन नसकिने बताउँछिन स्थानीय सीता जोशी । ‘महिनावारी भएको बेला छोरीलाई विद्यालय पठाए देवी देवता रिसारिसाउँछन्,’ सीताले भनिन् ‘विद्यालय भएको क्षेत्र देउताको थान हो, अहिले केही भएको छैन भनेर हुन्छ ? भविष्यमा पछुताउनु पर्ला,’ उनी एक न एक दिन यसको असर देखिनेछ ।’

विद्यालय भएको ठाउँ भुवनेश्वरी देवताको थान भएकाले छोरीहरुको जीवन बिग्रिने डरले आफूहरुले विद्यालय नपठाउने गरेको अर्का अभिभावक रेवादेवी जोशी बताउँछिन् । उनी भन्छिन् ‘कि त विद्यालय अरु ठाउँमा सार्नु पर्यो, नत्र भने छोरीको जीवन बर्बाद बनाउनका लागि पठाउन सकिन्न ।’

अभिभावक रत्ना विकले पनि यस्तै अभिव्यक्ति दिएकी छन् । ‘यो हामीले चलाएको चलन होइन, पहिलेदेखि चलिआएको हो’ उनी भन्छिन, ‘हामी पढेलेखेका छैनौं, हाम्रा छोरीचेलीहरुलाई केही भईहाल्छ कि भन्ने डर छ, त्यसैले महिनावारीका बेला विद्यालय पठाउन सक्दैनौं ।’

छात्राहरुलाई तातो दुध निल्नु न ओकेल्नु
छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय जाने नजाने भन्ने विषयले पीडित बनाएको छ । विद्यालय जाउँ अभिभावको दबाब र देवी देवताको डर छ । नजाउँ विद्यालयमा पढाई छुटेर पढाईमा कमजोर भइने डरका कारण तातो दुध निल्नु न ओकेल्नु झैँ भएको छ ।

महिनाको ४ दिनका दरले बाह्रै महिना विद्यालय जान नपाउँदा पढाईमा कमजोर भइने बारे विद्यार्थीहरुलाई प्रस्ट जानकारी छ । तर के गर्ने अभिभावकले जान दिँदैन अभिभाबकहरुसँग झगडा गरेर भएपनि जाउँ भन्दा साच्चैँ केही भैहाल्छकी भन्ने डर पनि छ । केही विद्यार्थीहरु भने विद्यालय जाँदा केही हुँदैन भन्ने कुरामा ढुक्क छन् ।

भुवनेश्वरी माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनर महेश्वरी जोशी महिनामा चार दिन महिनावारीकै कारण विद्यालय जाँदिनन् । उनी आफू विद्यालय जान खोजेपनि अभिभावकहरुले जान दिँदैनन् । उनले भनिन् ‘म त जान चाहान्थेँ तर आमाबुवाले देउताको ठाउँ भन्दै विद्यालय जान दिँदैनन् ।’

सोही विद्यालयमा कक्षा १० मा अध्यपयनरत छात्रा सुना विकको अवस्था पनि उस्तै छ । कक्षा ९ मा अध्ययनरत देवी शर्माले महिनावारी भएको बेला कसैलाई पनि जानकारी नदिइ विद्यालय जाने सोँच बनाइन् । तर, उनले सोचे जस्तो सजिलो थिएन । ‘बज्यैले भविश्य बिग्रिने डर देखाएपछि उनी आफ्नो सोचलाई सोचमै सिमित गर्न बाध्य भइन् ।

सो विद्यालयकी शिक्षिकाहरु भने नियमित विद्यालय आउने गर्छन् । शिक्षिका गौरी ओझा भन्छिन््‘हामी त नियमित रुपमा विद्यालय आइरहेका छौं, त्यस्तो कुनै अप्ठेरो भएको छैन ।’ आफूहरुले सम्झाउँदा पनि छात्राहरुले विद्यालय आउन नमानेको उनले बताइन् ।

‘मुख्य कुरा जनचेतनाकै कमी हो, देवी देउताको ठाउँमा विद्यालय भएका कारण देउता रिसाएर छोरीको भविष्य बिग्रिन्छ कि भन्ने डर अभिभावकहरुको छ ।’

अभिभावकहरु विद्यालय अर्को ठाउँमा सार्न सके समस्याको समाधान हुन सक्ने सुझाव दिन्छन् ।

केही समय अगाडि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलसहितको टोलीले छाउपडी प्रथाविरुद्ध साही विद्यालयमा वृहत कार्यक्रम पनि गरेको थियो ।

कार्यक्रममा कुनै पनि प्रकारको विभेद् गरे कानूनी कारबाही गर्ने चेतावनीसमेत पौडेलले दिएका थिए । तर सुधार भएको छैन् । सोही विद्यालयमा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीसहितको उपस्थितिमा छाउपडीकै विषयमा एक अर्को छलफल भयो । तर सोचे जस्तो सहज र परिवर्तन हुन सकेन ।

१ सय ३० छाउ गोठ भत्काईए
पुस २६ गते देखि डोटीमा छाउपडी गोठ भत्काउने अभियान सूरु गरिउको थियो । हालसम्म १ सय ३० छाउपडी गोठ भत्काई सकेका छन् ।

बडीकेदार गाउँपालिका – ३ सिन्दुरेपानी बाट सुरु भएको अभियानले सोही गाउँपालिकामा रहेका ९५ वटा गोठहरु भत्काइसकेका छन् । त्यस्तै जिल्लाका अन्य स्थानीय तह जोरायल गाउँपालिकामा ३ वटा र पूर्विचौकी गाउँपालिकामा ३२ वटा छाउगोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलीप सिंह देउवाले जानकारी दिएका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ अनुसार महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्न वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपियाँ जरिवानाको व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस