सुदूरपश्चिममा २ सय ६६ कुष्ठ रोगी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सुदूरपश्चिममा २ सय ६६ कुष्ठ रोगी


१३ माघ २०७६, सोमबार


डोटी । सुदूरपश्चिम प्रदेशमा दुई सय ६६ जना कुष्ठ रोगी भएको एक तथ्याङ्कले देखाएको छ ।

६७औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार स्वास्थ्य कार्यालय डोटीद्वारा आयोजन गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको प्रकोप दर १.०५ प्रति दश हजार रहेको देखाएको छ । नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिएको भए पनि सुदूरपश्चिममा प्रकोपको दर प्रति दश हजार जनसंख्यामा एक भन्दामाथि रहेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशभित्र सबैभन्दा बढी प्रकोप दर कैलाली जिल्लामा रहेको छ । यस जिल्लामा प्रति दश हजार १.९१ रहेको छ । यस्तै बझाङमा सवैभन्दाकम ०.०९ प्रति दश हजार रहेको छ । अछाममा १.८०, कञ्चनपुरमा ०.८९, बाजुरामा ०.३९, डडेलधुरामा ०.३८, डोटीमा ०.२८, बैतडीमा ०.२३ र दार्चुलामा ०.१४ प्रति दश हजार प्रकोप दर रहेको स्वास्थ्य कार्यालय डोटीका कुष्ठरोग फोकल पर्सन उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।

डोटीमा चार नयाँ कुष्ठरोगी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चार जना नयाँ कुष्ठरोगी पत्ता लागेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

गत आर्थिक वर्षसम्ममा जिल्लामा तीन जना मात्रै कुष्ठरोगीहरु रहेकोमा चालु आ।व।मा चार जना थप भई ७ जना पुगेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनले दुई जना थप रोगीहरूको पहिचान नभएको र अभिलेख आउन बाँकी रहेको समेत जानकारी दिए । ‘नयाँ बिरामीहरू भेटिनुले अहिले पनि समाजमा लुकेर रहेका धेरै छन् भन्ने अनुमान हो’ कार्यालय प्रमुख मलासीले भने ‘स्थानीय तहहरुले यस विषयमा अध्ययन गर्नु पर्ने देखिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस