बा मेरो पीआर आयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बा मेरो पीआर आयो


११ माघ २०७६, शनिबार


आज शनिबार । बाहिर पानी दर्किरहेको छ । सुयोग बैठक कोठाको सानो ‘लो बेड’ मा सिरक ओढेर बसेका छन् । उनी अस्ट्रेलियामा ‘पढ्न’ बसेको कान्छो छोरो सुशान्तसँग ‘म्यासेन्जर’ मा कुरा गर्दै छन् ।
सुयोग– अब त तेरो पीआर आउने बेला भयो हैन ?
सुशान्त – छैन बाबा ।
सुयोग – कहिले आउँछ त ?
सुशान्त – खै बाबा मुस्किल छ ।
सुयोग – चार चार वर्ष वितिसक्यो । झन् मुस्किल छ पो भन्छ यो !
सुशान्त – हो बाबा । मेरो प्वाइंट पुग्दैन ।सुयोगको जेठो छोरो सुखान्त नजिकै बसेर ब्रेल लिपिमा केही पढ्दै छ । भाइले उताबाट भनेको कुरा सुन्न सक्दैन, तर बाबुले भनेका कुराबाट भाइले भनेका कुरा पनि सहजै अनुमान गर्न सक्छ ऊ । बाबुछोराबीच पूरा एक घण्टा वार्तालाप भयो । सुशान्तले भनेको थियो, ‘अब म नेपाल आउँछु’, किन्तु सुयोगले भने, अब घर फर्केर आइस भने त बर्बाद हुन्छ । हेर बाबु ! यहाँ नोकरी पाइँदैन, के गरेर खान्छस् ? मान्छेले के भन्छन् ? बेइज्जती हुने काम नगर । सुशान्तले भनेको थियो ‘चार वर्ष यता बसेर मैले धेरै हण्डर खाइसकेको छुँ बाबा ! नेपाल आएर जे काम पनि गर्न सक्छु ।

अस्ट्रेलियाले मलाई केही नदिए पनि कुनै काम सानो हुँदैन भन्ने कुरा सिकाएको छ, परिश्रमको महत्वको शिक्षा दिएको छ ।’ तर बाबुले भनेका थिए, ‘यतिका वर्ष दुःख गरेर बसिसकिस्, अब अझै बस र जसरी पनि पीआर निकाल ?’

रातिको बाह्र बजिसक्यो, तर सुयोगलाई निद्रा लाग्ने छाँट छैन । चार वर्षदेखि अस्ट्रेलियामा बसेको छोराले ‘अब म घर आउंछु’ भनेर ‘टेन्सन’ दियो । उनले आज आफ्ना सपनाहरु भत्केको महसुस गरे, जीवन नै असफल र निराश हुने कल्पनाले सिथिल बनायो । उनी पिसाब फेर्न बाहिर निस्के । सुखान्त अझै पनि पढिरहेको थियो । उनले भनेका थिए,‘यति रातिसम्म नसुतेर, काम नपाए जस्तो, जहिले देख्यो के–के गरेर बसिरहन्छ ।’ सुखान्त जन्मान्ध हो । यस घरमा उसको संसार भनेको यही सानो बैठक कोठाको ‘लो बेड’ हो । ऊ खाना खान भान्सामा जान्छ, नित्य कर्म गर्न शौचालय जान्छ, अरु सारा समय बैठकमा बसेर अध्ययन गरिरहन्छ ।

सुखान्तसँग बाबु प्रायः बोल्दैनन् । बाबु ऊसँग बोल्ने भनेको दशैंमा टिका लाइदिँदा आशीर्वाद दिने मात्र हो । आमा खाना खाने बेला ‘के दिऊँ ?’ र ऊ स्कूल जाने बेलामा ‘राम्रोसँग जा है, फेरि छासियलास’ भन्ने बाहेक केही बोल्दिनन् । सुखान्त दृष्टिविहीनहरुले पढ्ने स्कूलमा पढ्न जान थालेको दुई वर्ष पुग्यो । आमा सुलोचना उसलाई दिनको बीस रुपैयाँ बस भाडा र पचास र रुपैयाँ खाजा खर्च अटुट दिने गर्छिन् । सुखान्त पनि केही बोल्दैन, किनकि सानै उमेरदेखि यहीँ आदत बसिसक्यो । बाबु सुयोग आज अचानक बोल्न त बोले, तर त्यो बोलीमा सुखान्तले पिताको वात्सल्य होइन तिरस्कार र अपहेलना प्रकट भएको महसुस गर्यो । आज उसलाई साह्रै चित्त दुख्यो । ‘के पढ्दैछस् ? किन यति रातिसम्म पढिरहेको ? अब सुत बाबु’ भन्नु त कता हो कता उल्टै तिरस्कारभावले निन्दा गरेको सुन्दा उसलाई असह्य भयो ।

सुखान्त जुरुक्क उठ्यो । ऊ छामछाम छुमछुम गर्दै बाबुआमा सुत्ने कोठा बाहिर गएर आमा–आमा भन्दै ढोका हान्न थाल्यो । बाबुले भने, ‘अब यो बहुलाउने भयो ।’ तर उसले एकोहोरो ढोका हानिरह्यो । वाध्य भएर आमाले ढोका खोलिन् । सुखान्त भित्र पसेर ठिंङ्ग उभियो । ‘म बहुलाएको छैन र सकेसम्म बहुलाउने पनि छैन । तर मलाई आजदेखि डर लाग्न थालेको छ बाबा । मलाई तपाईं बहुलाउनुहुन्छ कि भन्ने डर लागेको छ । आज दिउँसो भाइ र तपाईंबीचको वार्तालाप सुनेर म धेरै निराश भएको छुँ । मेरो भाइ मेरो लागि मेरो आफ्नै जीवनभन्दा प्यारो छ र बाबाआमा पनि । हो बाबा म अन्धो छु, मलाई यो दृश्य संसार कस्तो छ भन्ने थाहा छैन । किन्तु मसँग मेरो भावनाको संसार त छ नि ! कि छैन ? तपाईँहरु आफ्ना चर्मचक्षुले यो संसारलाई देख्नुहुन्छ, मैले यो संसारलाई मेरो हृदय, भावना र आत्मिक आँखाले देख्छु । म जब एक्लै चुपचाप पढेर बस्छु, जब रातिसम्म जागा रहन्छु, अनि मलाई आशा लाग्छ कि मेरा बाबाआमाले केही सोध्लान् । मलाई आशा लाग्छ, बाआमाले के–के पढिस् ? के–के जानिस् ? स्कूल कस्तो छ ? के पढाइ हुन्छ ? तर अहँ ! तपाईँहरुले कहिल्यै पनि सोध्नु भएन । तपाईँहरु सोच्नुहुन्छ, यसले केही देख्दैन, त्यसैले केही जान्दैन । तपाईँहरुको सोचाइमा म एक अचेतन जड हुँ, पृथ्वीको लागि अनपेक्षित भार हुँ । तपाईँहरुको सोचाइमा म कुनै इच्छा, आकांक्षा र अभिलाषा राख्न अयोग्य छुँ ।’ सुखान्त बाहिर निस्क्यो ।

सुयोगकी आमा उनी सानै हुँदा बितिन् । आमा बितेको केही समयमै बाबुले अर्को विवाह गरे । सुयोग मामाघरमा बसेर हुर्के । बाबुआमाको माया कस्तो हुन्छ ?, उनले थाहै पाएनन् । मावलीकै सहयोगमा उनले एसएलसीसम्म पढे । उनले काम गर्दै पढ्दै गरेर स्नातक गर्न भ्याए । सुयोगले सुलोचनालाई विवाह गरेर मामा घरमै भित्र्याए । कान्छी आमातर्फ़ चार भाइ छोरा जन्मेपछि बाबुले सुयोगलाई पनि दामासाहीले अंस दिएका थिए । अहिले थोरै बाबुले दिएको सम्पत्ति र बाँकी आफ्नै पौरखबाट भरतपुरमा सानो घर बनाएर बसेका छन् । उनी स्थानीय विद्यालयमा नेपाली विषयका अध्यापक छन् । जेठो छोरो जन्मेपछि उनको घरमा उल्लाश छाएको थियो, उनले छोराको नाम सुखान्त राखे । किन्तु छोरो दृष्टिविहीन भएको थाहा पाएपछि उनी धेरै निराश र हतास भए ।

उनले कान्छो छोरो सुशान्त र छोरी सुलक्षणालाई साह्रै माया गरेर हुर्काए, किन्तु, सुखान्तको हैसियत साँझ बिहान दुई छाक खान पाउनेमा सीमित भयो । सुखान्त एउटा अभागी र खोटो सन्तानको रुपमा परित्यक्त र अपहेलित अवस्थामा हुर्क्यो । शान्त र सन्तोषी स्वभावको सुखान्तले भाइ बहिनीले पाठ घोकेको सुनेकै भरमा सबै मुखाग्र पार्थ्यो । अरुले रेडियोमा समाचार सुन्दा ऊ पनि एउटा छेउमा बसेर सुन्थ्यो, मानिसहरुले आपसमा कुरा गरेको सुन्थ्यो । उसले एकपल्ट सुनेको कुरा कहिल्यै पनि बिर्सदैनथ्यो, तर उसको त्यो प्रतिभाको पहिचान र सम्मान गर्ने कोही थिएन । सुशान्त अस्ट्रेलिया गएको दुईवर्षपछि सुखान्तलाई स्कूल पठाउन थालियो । चौबीस वर्षको अन्धो छोरालाई स्कूल पठाउनुमा केही सिक्ला र जान्ला भन्ने भावनाभन्दा पनि समाजलाई देखाउन गरिएको कर्तव्यपालनमा सीमित थियो त्यो औपचारिकता । मेधावी सुखान्त दुई वर्षमा कहाँबाट कहाँ पुगिसक्यो, बाबुआमालाई पत्तै भएन ।

आज शनिबार । सुशान्त सिड्नी शहरसँग जोडिएको समुद्रको किनारमा अवस्थित ‘म्यान्ली बीच’ मा एक्लै बसिरहेको छ । सिड्नी आएको चार वर्षमा उसले करिब दस ठाउँमा काम गरिसक्यो । अहिले पनि ऊ दुई ठाउँमा काम गर्छ । ऊ हप्ताको चार दिन एक घन्टाको रेल यात्रा गरेर एउटा कलेजमा काम गर्न जान्छ । लगातार तीन घण्टा कलेजको फर्स पुछ्ने काम गरेपछि फेरि एक घण्टा यात्रा गरेर रेस्टुरेन्टमा काम गर्न जान्छ । त्यहाँ उसले हप्ताको छ दिन चार घण्टा भाँडा माझ्छ । ऊ बिहान कलेज जान्छ, जहाँ ऊ दुई पिरियड पढ्छ । यही गतिमा अध्ययन गर्दा तीन वर्षे ब्याचलर कोर्ष पूरा गर्न उसलाई अझै कम्तीमा दुई वर्ष लाग्नेछ ।

उसलाई थाहा छ, उसका बाबुआमाको कर्तव्य उसलाई उड़ाएपछि समाप्त भएको थियो । उसलाई यो पनि थाहा छ, नेपालको समाजले विदेश पुग्नासाथ मालामाल भइन्छ भन्ने सोच्दछ । ऊ यो पनि जान्दछ, विदेश आएका युवाहरु आफूले विदेशमा बसेर पाएका दुःख र कष्टहरु नेपालमा बस्ने कसैलाई पनि भन्दैनन् र यो पनि बुझेको छ, विदेशमा बस्नेहरु काम पाए नपाएकोमा मात्र चासो राख्दछन्, कसले के काम गर्दछ भन्नेमा सरोकार गर्दैनन् । विदेशमा बस्ने नेपालीहरु राम्रो नराम्रो जे जस्तो काम होस्, ‘काममा जाने’ मात्र भन्छन्, अफिस जाने, होटेल जाने, मासु काट्न जाने या भुइँ पोछा लाउन जाने जस्ता शव्द प्रयोग गर्दैनन् । विदेश आउनु अघि उसलाई पनि लाग्दथ्यो, विदेशमा त जताततै स्वर्ग मात्र छ । विदेश गएर थोरै समयका लागि नेपाल फर्कने युवाहरुले पनि उता दुःख हुन्छ भनेको कहिल्यै सुनेन, बरु ‘नेपालमा सिस्टम नै छैन’ भनेको मात्र सुनेको थियो । विदेशमा बस्नेहरुले सामाजिक संजालमा राखेका मनमोहक तस्वीरहरुले उसलाई बडो आकर्षित गर्दथे ।

जब ऊ सिड्नी आयो , अनि बल्ल उसलाई थाहा भयो , विदेश स्वर्ग मात्र होइन महाँ कष्टकर संसार पनि हो । तर ऊ पनि विदेशी मायाजाल र मोहनीको पोल खोल्नु हुँदैन भन्ने भावनाको लहरमा समाहित भयो । उसले आफ्ना साथी त के बाबुआमालाई पनि के काम गर्छु भनेर कहिल्यै भनेको छैन । बरु समुद्र किनार, पार्क, मेलास्थल र होटेलमा खिचेका सुन्दर फोटाहरु पठाएर मोहित पारेको छ । उसले यो पनि थाहा पाएको छ, केही नेपालीहरुले विदेशमा पैसा र नाम कमाएको विषय विदेशमा बस्ने सबै नेपालीमा लागू गर्ने प्रवृत्ति छ नेपालमा । कूल मिलाएर विदेश मोहक नै छ, तर यो देशका मानिसले कस्ता काम आफूले गर्लान र नेपालबाट आएका ‘कामदार’ लाई कस्तो काम देलान भन्ने कुरासम्म नबुझ्ने नेपाली सोच देखेर ऊ निराश हुन्छ ।

सुशान्तले यताउता नजर लगायो । अचानक ऊ झसंग भयो ! ऊ आउनुभन्दा छ महिना अघि सिड्नी आएको सहपाठी मित्र विनम्र घले एउटी अधबैंसे गोरी महिलाको काखमा बसिरहेको छ । गोरीले उसको कपाल, गाला, पाखुरा, तिघ्रा र गर्दन मुसार्दै छ । त्यहाँ जस्ता दृश्य देखे पनि धेरैबेरसम्म घुरेर हेर्ने चलन छैन । सबैले हेर्छन्, तर नहेरेजस्तो गरी । तर यो दृश्य त उसको मिल्ने साथीको थियो । फेरि गोरी विनम्रको काखमा बसी । विनम्रले गोरीलाई चाट्न थाल्यो । केही बेरपछि गोरी ‘बाइ’ भन्दै आफ्नो बाटो लागी । सुशान्तलाई उसले भुइँ पुछ्ने गरेको कलेजमा क्लर्कको काम गर्ने सोफियाको सम्झना भयो । सोफियाले उसलाई देख्ने बित्तिकै हेलो भन्छे, नजिकै आउँछे र भन्ने गर्छे ‘हाउ आर यु सुश्यांन्ट ? ह्वाट डिड़ यु डु अन द पास्ट वीकेन्ड ?’ कुनै दिन सोध्छे ह्वाट इज योर प्लान फर कमिंग वीक ?’

विनम्र उसको नजिकै आयो । धपक्क बलेको अनुहारभरि छायाँ परेको, भद्दा पहिरन, रक्सीले मातेर होस गुमाए जस्तो भएको विनम्रलाई देखेर सुशान्त गम्भीर भयो । विनम्रले भन्यो,‘ओ माइट ! तिमी सरप्राइज त भएन नि ? के गर्नु यार यहाँ कमाएर कलेजको फी जुटाउनै मुस्किल भयो मलाई । नेपालमा लाहुरेको पुलपुलिएको छोरो म, यहाँ आउने वित्तिकै ह्वाट अ डर्टी एण्ड डिफिकल्ट जब, ओ माइ गड ! कान्ट टेल यु ।’ मैले बालाई म नेपाल फर्कन्छु भनेर म्यासेज गरें, बट ही डिडन्ट रिप्लाई ।’ ऊ सुशान्तको छेउमै आएर बस्यो । ‘हेर साथी यहाँ आएर धेरैले राम्रो पनि गरेको छ, बट सम आर सफरिङ्ग लाइक मी । मेरो बाआमाले म काठमाडौँबाट उड्ने बित्तिकै अर्को शेष घले उडेको कल्पना गरे होलान । नाउ आइ एम क्वाइट ह्याप्पी, डायना मभन्दा पच्चीस वर्ष जेठो छ, बट सी इज अ गूड लेडी । सी इज पेइंग माई कलेज फी ।’

उता चितवनमा सुलक्षणाको विवाहको कार्यक्रम तय भयो । आमाले सुशान्तलाई फोन गरेर जसरी पनि विवाहमा आउनु भनिन् । ऊ काममा सोधेर एक दुई दिनमा भन्छु भनेर उम्क्यो । वास्तवमा सुशान्त नेपाल जान सक्ने अवस्थामा थिएन, ऊसँग पैसा थिएन । तेस्रो दिन फेरि फोन आयो यस पाली आमाले भनेकी थिइन् ‘तँ आउन नसक्ने भए अलिकता पैसा पठाइदे ।’ सुशान्तलाई फसाद पर्यो । पैसा छैन भनौँ, कोही पत्याउने वाला छैन । उसले विनम्रलाई फोन गर्यो । विनम्रले एक घण्टापछि जवाफ दियो, ‘यस माइट ! मैले तेरो समस्या डायनालाई भनेँ । सी इज रेडी टु लेन्ड यु वान थाउजेन्ड डलर ।’

शनिबारको दिन । भोलिपल्ट छोरीको विवाहको कुरा छिन्नु छ । सुयोगलाई दान दक्षिणाको लागि तीस हजार नपुग भयो । आज बैंक बन्द छ, भोलि बिहानै पाहुना आइसक्छन् । कसैसँग माग्न जानु पनि छोरीको विवाह छिन्नको लागि पनि पैसा नराखेको भनेर खिसी गर्छन् । बाबुआमा छटपटाएको बुझेर सुखान्तले भन्यो, ‘आमा मसँग छ तीस हजार ।’ आमा अचम्म परिन्, तर बाबुले भने,‘मैले यो बहुलाउन लाग्यो भनेको त्यसै हो र ? यसले अचेल यस्तै सट्केको कुरा गर्छ । अस्ति पनि आधारातमा मलाई डाइलग दियो ।’ सुखान्तले आफ्नो कन्तुर खोल्यो, आमाले दुई वर्षदेखि खाजा खान दिने गरेका सबै पचासका नोटहरु निकालेर आमाको हातमा राखिदियो । उनले रुँदै सबै नोटहरू मिलाएर गनिन्, जम्मा एकतीस हजार रहेछ । यो सबै दृश्य सुलक्षणा र सुयोगले पनि हेरिरहेका थिए । सुलक्षणा दाजुलाई अँगालो हालेर रोई । आज पहिलोपल्ट बहिनीले अँगालो हाली, त्यो पनि बलिन्द्र धारा बगाउँदै । सुखान्तले अत्यन्त खुसी हुँदै भन्यो बहिनी, तिम्रो विवाहमा विदेशमा बस्ने भाइले त धेरै पैसा पठायो होला, तर यो अन्धो दाइको पनि त बहिनीप्रति कर्तव्य हुन्छ नि ।’
आज सुयोगले जेठो छोरालाई भनेका थिए, ‘मलाई माफ गर छोरा ।’

सुखान्तले भनेको थियो,‘बाबा एउटा ढोका बन्द हुनुको मतलव जीवनका सारा सम्भावना समाप्त हुनु होइन । मेरा आँखा छैनन्, तर बाँकी नौ इन्द्रिय त छन नि ! अनि मुख्य कुरा मेरो हृदय र दिमाग सदा जीवित छन् । मेरा पनि इच्छा र आकांक्षा छन्, मेरो पनि यो जीवन गुजारा गर्ने केही योजना छन् । मिर्जा गालिबले भनेका छन् ‘हाथों के लकिरों पर मत जा ए गालिब, नशीब उनके भी होते हैं जिनके हात नही होते ।’ बाबा ! एउटा लाटो बोल्न सक्दैन, तर उसको मुस्कान र रोदनले हजारौं वाक्य बोलिरहेको हुन्छ । तपाईँले मलाई कहिल्यै मानिस नै गन्नु भएन । हो, विदेशमा रहेको भाइलाई तपाईँले मलाईभन्दा धेरै माया गर्नु पर्छ । ऊ कान्छो पनि हो, त्यसैले मायाँको हकदार ऊ नै हो ।

किन्तु म अन्धो छोरो मायाँको नभए पनि दया र करुणाको हकदार त हुन पाउनु पर्ने हो, कि होइन ? बाबा म चर्मचक्षुबाट बन्चित छु, तपाईं ज्ञान, करुणा र कर्तव्यको चक्षुबाट हीन हुनुहुन्छ । मैले सबै देख्छु बाबा, सबै । टाढाको भाइसँग घन्टौं कुरा गर्नुहुन्छ, तेरो ठूलो भरोसा छ बाबु भन्नुहुन्छ, तेरो भविष्यको ठूलो चिन्ता छ मलाई भन्नुहुन्छ । यी सबै कुरा मेरै अगाडि मैले सुन्ने गरी गर्नुहुन्छ, किनकि तपाईँको दृष्टिमा मेरो कुनै अस्तित्व नै छैन, ममा कुनै भावना छैन, म जड हुँ । मलाई आश्चर्य लाग्छ आमा ! मप्रति यत्रो भरोसाहीनता र उपेक्षा हुँदाहुँदै बूढेसकालको सहारा भाइलाई कसरी विदेश पठाउन सक्नुभयो ? तपाईँहरु महत्वाकांक्षा र झूटो शान देखाउने अभिलाषाको शिकार हुनु भयो । अब म छ महिनापछि नोकरीमा लाग्नेछु । बाबा मलाई म जान्ने भएदेखिका सबै घटना अक्षरशः याद छन्, मैले पढेको कुनै कुरा बिर्सन्न, मैले धेरै साहित्य, विज्ञान र इतिहास पढिसकेको छुँ । मलाई एउटा कुरा बडो अचम्म लाग्छ आमा, म यहाँ तपाईँहरुसँग छुँ, तर तपाईँहरु सात समुद्र पारीको भाइसँग हुनुहुन्छ । म छेउमै हुन्छु, तर तपाईँहरुलाई मेरो बोली सुन्ने चेष्टा हुँदैन, भाइको बोली सुन्न निरन्तर तड़प छ । मेरा प्रज्ञाचक्षु गुरु भन्ने गर्नुहुन्छ, ‘हेर बाबुनानी हो ! यो संसार बडो स्वार्थी छ, नलुकाई भन्ने हो भने बाबुआमा पनि स्वार्थी छन् ।’ म र तपाईँहरुबीचको नग्न यथार्थ यहीँ हो ।’

सबैलाई आफ्नो सन्तानको माया लाग्छ । सुयोग र सुलोचनाले पनि सुखान्तलाई मायाँ त गरे, तर मनमनै । उनीहरु सोच्दथे, खान लाउँन दिएकै छ, स्कूल पठाएकै छ । अरु कुरा त यो अन्धासँग गर्नुको के प्रयोजन छ र ? विद्यालयमा पढाउने शिक्षक भएर पनि माया भन्ने कुरा मनबाट गरेर मात्र पुग्दैन, माया गरेको देखिनु पर्दछ र माया पाउनेले महसुस पनि गरेको हुनु पर्दछ भन्ने कुरा उनले ख्याल गरेनन् ।

शुक्रबारको दिन । सुशान्त कलेजको भुइँ पुछिरहेको थियो । उसले परबाट आफूतिर आइरहेको स्यान्डलको आवाज सुन्यो, टक टक टक टक ! उसले यसो आँखा उठाएर हेर्यो सोफियाले भनी हाय सुख्यान्ट, गुड मर्निंग ! आज उसले पहिलो पल्ट सोफियातिर सिधै हेरेर अभिवादन फर्कायो गुड मर्निंग ! उसले सोफियालाई हेर्यो, अग्लो शरीर, हिस्सी परेको अनुहार, लामालामा पाखुरा सोफिया सुन्दर र स्वस्थ थिई । सोफिया मुसुमुसु हाँस्दै उसलाई हेरिरहेकी थिई । उसले भनेकी थिई ‘यु आर सो ह्याण्डसम माइ ब्वाय !’ सुशान्तको शरीरका रौँ ठाडा भए, ऊ रोमान्चित भयो, लाज पनि लाग्यो । सोफिया बाई भन्दै आफ्नो कार्यक्षतिर लागी ।

सुशान्त रेस्टुरेन्टको काम सकेर कोठामा गयो । रुम पार्टनर रातिको काममा गएको थियो ।

सिड्नी आएको चार वर्ष भयो, मनमा अनेक इच्छा छन, अनेकौँ तरंग उठ्छन्, अनेकौँ रहर र आकांक्षा छन्, तर इच्छाहरु पूरा हुने सम्भावना निकै कम छ । नेपालीहरु विदेशमा आउने भनेको यतै ‘सेटल’ हुने उद्देश्यले हो । बाबुआमामा पनि सन्तानलाई जसरी पनि विदेश पठाउने र भरसक उतै सेटल भए हुन्थ्यो भन्ने भावना छ । भविष्यमा के पर्ला, वृद्ध र कमजोर भएपछि कसरी जीवन बित्ला भन्ने कसैलाई मतलव छैन । सुशान्तलाई थाहा छ, नेपालमा जसको सन्तान विदेशमा छैन, उसको ‘इज्जत’ हुँदैन । सारा समाज विदेशी हावाको प्रवाहमा बगेको छ ।

सुशान्तभन्दा एक वर्षपछि सिड्नी आएकी विविधा उसकी मिल्ने साथी हो । कहिलेकाहीँ विविधासँग भेट पनि हुन्छ । उसले सोधेकी थिई, ‘भविष्यको प्लान के छ तिम्रो ?’ उसले भनेको थियो ‘नो प्लान’ । उसलाई थाहा छ, विविधा उसलाई मन पराउँछे, सायद ऊ अरु केही कुरा पनि भन्न चाहन्छे, तर मुख खोल्न सकेकी छैन । सुशान्त पनि विविधालाई मन पराउँछ । एकदिन उसले झन्डै भन्ने लागेको थियो, ‘आइ लभ यु’ तर शव्द बाहिर निस्कनुभन्दा अघि मुखभित्रै रह्यो । उसको अर्को मनले भनेको थियो, ‘हतार नगर सुशान्त, तेरो हैसियत विचार गर, आफ्नो अवस्थाको विचार गर, यहाँ माया गर्न पनि हैसियत चाहिन्छ, भविष्य सुरक्षित नहुनेले माया गर्दा पनि विचार गर्नु पर्दछ ।’

आज शनिबार । सोफिया र सुशान्त ‘म्यान्ली बीच’ मा सँगै बसेका छन् । सोफिया पूरा खुलेर कुरा गर्दै छे, तर सुशान्त संकोचमा छ, डराइरहेको छ । सोफियाले भनेकी थिई ऊ तेह्र वर्षकी हुँदा उसको मामाको छोरो डोनाल्डले ऊसँग शारीरिक सम्बन्ध राखेको थियो । उसले नाइँ नाइँ भनी, तर डोनाल्डले जवर्जस्ती गर्यो । उसले भनेकी थिई, उसको समाजका धेरै केटीहरु नाता पर्ने केटाहरुको शिकार भएका हुन्छन । कतिपयलाई त पाको उमेरका नातेदार पुरुषले नै शिकार बनाउँछन् । उसले आँसु खसाल्दै भनेकी थिई हाम्रो समाज जति खुला र स्वतन्त्र छ, त्यति नै भित्रभित्र घोर अनैतिक र अमानवीय छ । पुरुष मात्र होइन, उमेर खाएका महिलाहरुले पनि आफ्नो नजिकका नातेदार केटाहरुलाई आफ्नो वासनाको शिकार बनाउँछन् यहाँ । प्रायः सबै युवा युवतीहरु विवाह अघि नै ‘अनुभवी’ भइसकेका हुन्छन् ।

ऊ भन्दै गई – म बीस वर्षकी हुँदा एउटा केटासँग मायाँ बस्यो । बाइस वर्षकी हुँदा हामीले विवाह गर्यौं । तर त्यो केटा धेरै नै ‘फोहोरी’ रहेछ मलाई त्यससँग बस्न मन लागेन । मैले उसलाई डिभोर्स दिएँ । म सत्ताइस वर्षकी थिएँ, मिचेलले मेरो पिछा गर्न थाल्यो । मिचेल सुन्दर थियो, उसको ‘जब’ पनि राम्रो थियो । तर मैले एकपल्ट धोका पाइसकेको हुँदा वास्ता गरिन । मान्छेको बानीबेहोरा राम्रोसँग नबुझी संगत गर्दा धोका हुन्छ भन्ने मलाई थाहा थियो । तर मिचेलले हार मानेन् । दुई वर्षपछी मेरो मन पग्ल्यो, मैले दोस्रो विवाह गरेँ । हाम्रो एउटा छोरा पनि भयो । तर पछि मिचेलले अरु केटीहरुसँग सम्बन्ध राख्न थालेछ । ऊ धेरै कामुक मात्र थिएन, अप्राकृतिक सम्बन्धको भोको थियो । ऊ अत्यन्तै स्वार्थी र झगडालु हुन थालेपछि मैले उसलाई पनि छादडिदिएँ । अहिले मेरो छोरो विलियम पन्ध्र वर्षको छ । मेरो उमेर अहिले पैंतालीस वर्ष मात्र छ । मेरा रहरहरु बाँकी नै छन्, धेरै इच्छाहरु बाँकी नै छन्, माया गर्ने र माया पाउने अभिलाषा पूरा हुन पाएको छैन । मेरो घर छ, राम्रो जब पनि छ किन्तु मसँग जे हुनुपर्थ्यो त्यो छैन, म रित्तो छुँ । सोफिया धेरै रोई ।

सुशान्तले सोफियाका कुरा शान्त भएर सुनिरह्यो । उसलाई आश्चर्य लाग्यो, सिड्नीमा घर भएकी, त्यति राम्रो जब भएकी महिला उसकै कलेजको भुइं पुछेर गुजारा गर्ने बेसहारा विदेशी केटोसँग रुँदैछे । उसले सोच्यो जीवन आखिर के रहेछ । जसलाई देखेर नेपाली केटीहरु ‘आहा’ गर्छन । जसको जीवनस्तर देखेर उसका स्वदेशी महिलाले पनि ईर्ष्या गर्छन, तर उसको जिन्दगानी नै कति दुखान्त ! आज तीनजना पुरुषसँग सम्बन्ध राखिसकेकी महिला सुशान्तको नजरमा घृणा होइन करुणा र सहनुभूतिकी पात्र बनी । जीवनको बीभत्सता थाहा भएपछि बिग्रेको मान्छेप्रति पनि श्रद्धा र दया लाग्दो रहेछ ।

अर्को दिन सुशान्त फर्समा पोंछा लाउँदै थियो । उसले स्यान्डलको परिचित आवाज सुन्यो, टक टक टक टक ! तर आज सोफिया उसलाई हेर्दै नहेरी सरासर गई । सुशान्तले सोच्यो यो खैरीलाई आफ्नो दुखेसो पोख्ने ठाउँ चाहिएको रहेछ, पोखी, सकियो । आज सुशान्तले कताकता हृदयको कुनामा निराशा र हतासा महसुस गर्यो । उसलाई केही हराएको, केही गुमेको महसुस भयो । तर अर्को मनले भन्यो, अहो ! म पनि कस्तो ! यो मेरी आमाको उमेरकी तीनजना पुरुषसँग सम्बन्ध राखिसकेकी, पन्ध्र वर्षको छोरो भएकी महिलाको विषयमा अन्यथा सोच्नु नै पाप हो । उसले मनमनै सोच्यो, सोफियालाई आफ्नो हृदयको चीत्कार कसैलाई सुनाउनु थियो, सुनाई । सायद एउटा भाइ सम्झेर सुनाई । उसलाई कताकता पापी मनको सोचाइप्रति पश्चाताप पनि लाग्यो । उसले अचानक विविधालाई सम्झ्यो ।

यता नेपालमा बहिनीको विवाह भइसकेको थियो । सुयोग जेठो छोरासँग कुरा गर्ने मात्र होइन, उसका अर्ति उपदेश र जीवनका सुखद र दुःखद वास्तविकताबारे सुन्न थालेका थिए । उनले चेतनशक्तिरहित ठानेको छोरो कति वुद्धिमान र समझदार छ बल्ल थाहा पाउँदै छन् । सुखान्त उसले पढ्ने गरेको विद्यालयमा शिक्षकमा नियुक्त भइसकेको थियो । आमाबाबु दुवै खुसी छन् । उनीहरुलाई अब कान्छो छोराको मात्र चिन्ता छ । अहिले सुयोगलाई कताकता भित्री मनमा पछुतो पनि छ । एकदिन उनले सुखान्तलाई सोधेका थिए ‘ठूलो बाबु ! कि भाइलाई नेपाल बोलाउने हो ? मलाई भित्रभित्रै पछुतो लागिरहेको छ । सुशान्तले नेपाल फर्कन्छु भन्दा मैले हुन्न भनें, अहिले यतै बोलाउन मन लागेको छ के गर्ने होला ?’

सुखान्ताले भनेको थियो ‘मैले तपाईं र भाइको कुरा सुनेपछि ऊ त्यहाँ मुस्किलमा छ भन्ने बुझिसकेको थिएँ । विदेशको बारेमा मैले धेरै कुरा सुनेको छु बाबा । त्यहाँ गएका धेरैजसोले राम्रो गरेका छन् । प्रतिभाशाली युवायुवतीले साह्रै प्रगति पनि गरेका छन् । प्राविधिक शिक्षा हासिल गरेका र राम्रोसँग अंग्रेजी बोल्न र लेख्न जान्नेलाई राम्रो काम र पीआर पाउन सजिलो छ । तर ठीकै खालकालाई निकै गाह्रो छ । उमेर पुगेका कलेजका प्रोफेसर विदेश गएर होटेलको पाले बस्छन् भन्ने सुन्दा मलाई साह्रै दिक्क लाग्छ । मेरो देशको सरकार युवायुवती विदेश पठाएर समृद्धिको सपना देख्नछ । आफ्ना कलिला सन्तानलाई विदेश पठाउने बाबुआमा उल्टै उनीहरुको माया पाउने सपना देख्छन्, कस्तो विडम्बना ! विदेश गएका नेपालीहरु आफ्ना दुःखहरु खुलेर भन्दैनन्, तर भनाइको शैलीबाट कुरा बुझ्नु पर्दछ । केही समय विदेशमा बसेर आउनेहरु नेपालमा पनि सफल भएका छन् । काम, श्रम, पसिना र आफ्नो मातृभूमिको महत्व थाहा हुन्छ उनीहरुलाई । तर मेरो विचारमा अब धेरै विलम्ब भइसकेको छ, तैपनि सोध्नुहोस् के भन्दोरहेछ ।’

धेरै दिनपछि शुक्रबारको दिन सोफियाले सुशान्तलाई फोन गरी । शनीबार उनीहरुले ‘म्यान्ली बीच ‘ मा भेट गरे । बीचमा धेरै भीड थियो । सोफियाले सुशान्तलाई सोधेकी थिई ‘तिमीलाई थाहा छ यो बीचको नाम किन म्यान्ली रह्यो ?’ सुशान्तले टाउको हल्लायो । सोफियाले भनी ‘यो ठाउँमा बसोबास गर्ने रैथाने मानिसहरुको म्यान्ली अर्थात मानवीय व्यवहार देखेर क्याप्टेन आर्थर फिलिपले यो नामाकरण गरेका रे ! यो बीचमा आउनेहरुको प्रेम र व्यवहार मानवीय हुन्छ रे ! धोका दिने मनसाय लिएका मानिस यो बीचमा आउनु हुँदैन रे !’ ऊ भन्दै गई ‘ऊ माथि हेर त ! दुईटा चिलहरुले हाम्रो निरीक्षण गर्दै छन् । उनीहरु यो बीचको माथिमाथि उडेर मानवलाई ‘म्यान्ली’ बन्न प्रेरणा दिन्छन् रे ।’

उसले भनेकी थिई ‘चार हप्ताअघि हामी यहाँ आएदेखि मेरो मन अर्कै भयो । कताकता तिमीसँग लाज पनि लाग्न थाल्यो । फेरि सोचेँ ‘मेरो उमेर धेरै छ, कहाँ पच्चीस वर्ष कहाँ पैंतालीस । तर फेरी सोचेँ, के मेरो यौवन सकियो ? के मेरा इच्छा सकिए ? के उमेर नै ठूलो कुरा हो ? के उमेर बढी हुनेले मायाँ गर्न जान्दैनन् ? अनि फेरि मैले निर्णय गरेँ, यदि सुशान्तले उत्ताउलो भएर फोन गर्यो या भेट गर्न खोज्यो भनेँ विचार गर्नु पर्छ कि उसमा खोट छ । किन्तु यदि उसले फोन पनि गरेन र भेट्न हतार पनि गरेन भने दुईओटा कुराको निधो हुन्छ, कि ऊ मप्रति उत्सुक छैन, कि ऊ उत्सुक भए पनि हतारमा छैन, ऊ शान्त र इमान्दार मानिस हो । अब म तिम्रो कुरा सुन्न चाहन्छु ।’

सुशान्त सोचमा पर्यो । बाबुको वचन सुनेपछि उसले मनमनै निधो गरेको थियो, ऊ बीस वर्ष कुरेर पनि पीआर पाउने प्रयत्न गर्नेछ । बाबाले भन्नु भएको थियो, ‘जसरी पनि पीआर निकाल’ । उसले विविधालाई सम्झ्यो । उसले मनमनै सोच्यो, आजकै अवस्थामा मैले विविधासँग सम्बन्ध राख्नु भनेको उसलाई धोका दिनु हो । म आत्मनिर्भर भएर अस्ट्रेलियामा बस्ने सम्भावना अत्यन्त न्यून छ । भाग्यले साथ दियो भने पनि कम्तीमा दस वर्ष कुर्नु पर्छ । उसले यसो सोफियालाई हेर्यो, राम्री छ, उच्च व्यक्तित्वकी धनी छ, ढाँटेर बत्तीस वर्ष भनेको भए पनि नपत्याउने जस्ती छैन । मलाई इमान्दारीसाथ माया पनि गर्नेछ, किनकि अब सोफियासँग अर्को विकल्प रहने छैन । यसको घर पनि छ, जागिर पनि राम्रो छ, कमसे कम एउटा सन्तान जन्माउन सक्ने उमेर पनि बाँकी छ । मैले यसलाई नेपाल लैजाने होइन, लगे पनि नेपालकाले यसको उमेरको अड्कल गर्न सक्दैनन् । दुई वर्षपछि पीआर पनि आउँछ । उता बाआमाको ‘पीआर छोरो’ पनि भइन्छ ।

सुशान्तले सोफियालाई हेर्यो, हेरिरह्यो । यस्ती सुन्दर र निर्दोष नारीको जीवन कति दुःखी ! उसले मनमनै सोच्यो, सायद विधाताको विधान नै यही हो । ऊ मुसुक्क हाँस्यो, सोफिया डाँको छोडेर रोई । उसले भनी ‘यो मेरो नियतीको अन्तिम विश्राम हो । हे भगवान तिमी कति दयालु छौ ! उसले आकाशतिर हेर्दै भनी ‘आज मेरो अन्तःकारण र भित्री हृदयले पुकार्दै भनिरहेछ, हे सोफिया ! यही हो तेरो भाग्यको अन्तिम परिणति ।’ उनीहरु धेरै बेरसम्म अँगालो हालेर रोइरहे ।

केही दिनपछि सुशान्तलाई बाबुको फोन आएको थियो । उसले विनम्र शव्दमा भनेको थियो ‘बाबा तपाईँले ‘जसरी पनि पीआर निकाल’ भन्नु भएको हो कि होइन ? हो बाबा ! म अब जसरी पनि पीआर निकाल्दै छु । अब मलाई बिरामी भएको अवस्थामा बाहेक फोन नगर्नु होला । पीआर निस्केपछि म आफै फोन गर्नेछु ।

दुई वर्षपछि,
शुक्रबारको दिन । अबेर राति सुशान्तले बाबालाई फोन गर्यो । दुई वर्षपछि छोराको बोली सुन्दा सुयोग हर्षविभोर भए । सुशान्तले आमा सुलोचनासँग पनि कुरा गर्यो । सुलोचना धेरै रोइन । आज पहिलोपल्ट उसको र सुखान्तको बीचमा पनि कुरा भयो । सुखान्तले भनेको थियो ‘‘इ मेरो विवाह भयो, अब तिम्रो पालो आयो । छिट्टै आऊ ! मलाई तिम्रो विवाहमा धेरै रमाइलो गर्ने इच्छा छ । पैसाको चिन्ता नगर्नु, मेरो भाइको सामान्य विवाह खर्च मैले जोगाएर राखेको छु ।’ सुशान्तले दाजुको कुरा सुनिरह्यो, दाइका ज्ञानगुनका गहन र सारगर्भित कुरा सुनेर ऊ छक्क र विस्मित भयो । उसले भन्यो ‘दाइ तिमी साँच्चै नै सुखान्त हौ ।’ उसले ‘फोन बाबालाई देऊ’ भन्यो सुयोगले भने ‘अँ भन कान्छा’ । सुशान्तले भन्यो, ‘बाबा मेरो पीआर आयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस