सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत मतदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत मतदान


९ माघ २०७६, बिहिबार


डोटी । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा ९९ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

२ सय २९ जना मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा २ सय २७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिएका छन् ।

८८ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी एक सय ७६ जना र प्रदेश सभा सदस्य ५३ जना गरी जम्मा दुई सय २९जना मतदाता रहेको सुदूरपश्चिममा अछाम जिल्लाबाट नेकपाबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य मना कुमारी साउद र बझाङ जिल्लाको साईपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहरा मतदान प्रक्रियामा अनुपस्थिति रहेको निर्वाचन अधिकृत काफ्लेले बताए ।

सुदूरपश्चिमबाट एक खुल्ला र एक महिला गरी दुई जनाका लागि भएको निर्वाचनका लागि चार जनाको उम्मेदवारी परेको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टले उम्मेदवारी दिएका थिए भने नेपाली काँग्रेसका तर्फबाट महिलातर्फ तुलसी देवकोटा र खुल्ला तर्फ प्रताप ठगुन्नाले उम्मेदवारी दिएका थिए ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ का दरले तीन हजार एक सय ६८ र प्रदेश सभाका ५३ जना सांसदको मतभार ४८ का दरले दुई हजार पाँच सय ४४ गरी सुदूरपश्चिम प्रदेशमा कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ ।

२०७४ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट खुल्लातर्फ निर्वाचित सांसद नेपाली काँग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचित नेकपाकी सांसद कमला ओलीको पदावधि दुई वर्ष कायम भएको थियो । उनीहरूको रिक्त हुन लागेको ठाउँमा निर्वाचन भएको हो ।

डोटी जिल्ला सदरमुकाम स्थित पद्म पब्लिक मुक्तिनारायण माविमा २ वटा मतदान केन्द्र रहेका थिए । मतदान बिहान १० बजे सुरु भई ४ बजे सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस