कोरोना भाइरसले लियो १७ चिनियाँको ज्यान « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोरोना भाइरसले लियो १७ चिनियाँको ज्यान


९ माघ २०७६, बिहिबार


बेइजिङ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले १७ चिनियाँको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको जनाएका छन्। त्यसमध्ये ५७१ जना चिनियाँ छन्।

यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो मान्छेमा सरेको थियो।

त्यसपछि संक्रमित मानिसबाट अरूमा सर्दै गएपछि अहिले कोरोना भाइरस थाइल्यान्ड, हङकङ, मकाउ, ताइवान, अमेरिका, जापान र दक्षिण कोरियासम्म फैलिइसकेको छ।

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि चीन सरकारले वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिदिएको छ। बिहीबार बिहानदेखि त्यहाँका बस, रेल, विमानस्थल, होटल, रेष्टुरेन्ट बन्द गरिएका छन्।

वुहानका मानिसलाई अत्यावश्यक काम नपरी बाहिर नजान भनिएको छ। सडकमा चेक पोइन्टहरू राखिएको छ। जहाँ स्वास्थ्य अधिकारीहरूले कारमा रहेका मानिस जाँच गरेपछिमात्र जान दिन्छन्।

एकाएक सबैथोक बन्द भएपछि दैनिक उपभोग्य सामानको भाउ ह्वात्तै बढेको छ।

के हो कोरोना भाइरस ?
बिल्कुलै नयाँ प्रकारको यो रहस्यमयी भाइरस गत डिसेम्बरमा पत्ता लागेको हो। बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन्।

कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन्। यसमध्ये छ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुने मानिन्थ्यो। यो नयाँ प्रकार पत्ता लागेसँगै यसको संख्या सात पुगेको छ।

नयाँ भाइरसको ुजेनेटिक कोडु विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ। यो कोरोना भाइरसकै एक प्रकार ुसार्सु जत्तिकै शक्तिशाली भएको बताइएको छ।

सार्स धेरै खतरनाक कोरोना भाइरस हो। चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए। ७७४ जनाको मृत्यु भएको थियो।

यो नयाँ भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ।

युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक मार्क वुलहाउसको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘जब हामीले यो नयाँ कोरोना भाइरस देख्यौं, यसको असर यति धेरै खतरनाक किन छ भनेर बुझ्न खोज्यौं। सामान्य रूघाको लक्षण देखाउने भए पनि यसको असर त्यतिमै रोकिँदैन। यो चिन्ताको विषय हो।’

यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन्। यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ। यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन।

नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिल्कुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन सकिएको छैन। जनावरबाट सरेर मान्छेमा आएको उनको अनुमान छ।

यसअघि आतंक फैलाउने सार्स भाइरस पनि बिरालो जातको जनावरबाट मान्छेमा सरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस