काठमाडौँ । राष्ट्रिय सभाकी सांसद डा.विमला राई (पौडेल)ले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था ल्याउनु पर्ने बताएकी छन् ।
दिइएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई फाल्न सक्ने व्यवस्था गर्नुपर्ने बताउँदै काम गर्ने कर्मचारी करारमा राख्ने व्यवस्था हुनुपर्ने माग गरेकी हुन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा.राईले संसद् सचिवालयका कर्मचारीहरूको उदाहरण पेस गर्दै समग्र निजामती सेवामा यो व्यवस्था लागू हुनुपर्ने बताएकी हुन् ।
‘लोक सेवा पास गरिसकेपछि आफ्नो जिम्मेवारी पुरा गर्दैन भने त्यो कर्मचारीलाई के गर्ने ?’ डा.राईले प्रश्न गर्दै भनिन्, ‘अराएको लगाएको काम नगर्ने कर्मचारीलाई फाल्न सकिने व्यवस्था ल्याउनु पर्छ ।’
असाध्यै दक्ष, पढेलेखेका, काम गर्न सक्ने युवाहरू अवसर नपाएर बिदेसिइरहेका रहेको बताउँदै उनले बरु उनीहरूलाई नै करारमा राख्ने व्यवस्था गर्न सकिने तर्क पेस गरेकी छिन् ।
एक पटक लोक सेवा पास गरेपछि जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गरिनुपर्ने जिकिर उनले गरेकी छन् ।
‘मन्त्री–प्रधानमन्त्री बन्न पाँच/पाँच वर्षमा जनतामा जानुपर्छ, खारिएर आउनुपर्छ,’उनले भनिन्,‘स्थायी सरकार भनिएका कर्मचारीको पनि क्षमताको बेला बेलामा परीक्षण हुनुपर्छ ।’