प्रचण्डको सम्बोधन : रेशम चौधरीलाई चाँडै छुटाउँछु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्डको सम्बोधन : रेशम चौधरीलाई चाँडै छुटाउँछु


१ माघ २०७६, बुधबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरी जेलबाट चाँडै छुट्ने दावी गरेका छन् ।

माघीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए ।

डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘झूटा मुद्धा लगाइएको केही साथीहरु छुटिसकेका छन् । रेशमलाई पनि छुटाउँछौं, केही समय पर्खिनुहोला ।’ अध्यक्ष प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताए ।

थारु मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उनले बताए । माओवादी आन्दोलनमा लागेका, आफूसँगै भएका थुप्रै मानिस अहिले पजि जेलमा रहेको भन्दै उनले भने, ‘हिजो जनयुद्धमा संलग्न पहाडिया बाहुन क्षेत्री नै जेलमा छन् । हिजो सेनाबाट आएर जनयुद्धमा आएकालाई पनि जेल हालिएको छ । उनीहरुलाई पनि छुटाउन मेरो आन्दोलन जारी छ ।’

त्यस्तै अध्यक्ष प्रचण्डले आफुलाई १७ हजार मानिस मारेको भनि बारम्बार लगाइएको ओरोपको खण्डन गरेका छन् । उनले आफुमाथि लाग्दै आइरहेको आरोपमा कुनै सत्यता नभएको बताउँदै द्धन्द्धको बेला ५ हजार मानिस मारिएकोमा भने आफु जिम्मा लिन तयार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस