सिरहामा ७६६ जनता आवास निर्माण हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सिरहामा ७६६ जनता आवास निर्माण हुने


२४ पुस २०७६, बिहिबार


लहान । जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र सिरहामा विपन्न परिवारका लागि ७६६ पक्की भवन निर्माण हुने भएको छ ।

सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को असारसम्ममा सिरहा जिल्लामा ७६६ र सप्तरीमा ६६६ पक्की आवास भवन निर्माण हुने शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।

बरण्डासहित २ कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु ३ लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १० हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।

पहिलो चरणमा डोम र मेहतर जातिका व्यक्तिको घर निर्माण गर्नका लागि सिरहाका १७ र सप्तरीका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे पत्राचार गरिसकिएको प्रमुख झाको भनाइ छ ।

सिरहामा निर्माण हुने जनता आवास भवनका लागि प्रक्रिया अघि बढाइसकेको छ । प्रदेशसभा सदस्य सुनिताराम मोचीको संयोजकत्वमा रहेको समितिको बैठक केही दिनमै बस्ने तयारी गरिएको जानकारी दिर्दै प्रमुख झाले छिट्टै बैठक बसेर घर निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने बताए । सिरहामा निर्माण हुने घरका लागि बजेट निकासा भइसकेको समेत उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस