कर्मचारीविहीन स्थानीय शिक्षा शाखा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीविहीन स्थानीय शिक्षा शाखा


१५ पुस २०७६, मंगलबार


पाल्पा । पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय सरकारले शिक्षा शाखाका संयोजकको जिम्मेवारी अहिले रोजगार संयोजकलाई तोकिएको छ ।

जिल्लाको तानसेन नगरपालिका तथा बगनासकाली, तिनाउ र रिब्दीकोट गाउँपालिकामा मात्र शिक्षा शाखामा कर्मचारी छन् । त्यो पनि आवश्यकता अनुसार रहेको छैन् । बाँकी स्थानीय तहका शिक्षा शाखा अस्थायी र करार कर्मचारीका भरमा सञ्चालन छन् । फलस्वरुप शाखाका काम कारवाही प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका छ स्थानीय तहमा शिक्षक तथा करारका कर्मचारीका भरमा शिक्षा शाखाका गतिविधि सञ्चालित छन् । रैनादेवसकी छहरा गाउँपालिकामा रोजगार संयोजक हरि पोखरेललाई शिक्षा शाखाको समेत जिम्मेवारी तोकिएको छ । रामपुर नगरपालिकाको हालत पनि उस्तै छ । रोजगार शाखाका संयोजकलाई शिक्षा शाखाको जिम्मेवारी प्रदान गरिएको छ ।

माथागढी गाउँपालिकामा पनि शिक्षा शाखाको संयोजकमा रोजगार संयोजक सुदिना ज्ञवालीलाई तोकिएको छ । तर ज्ञवालीले राजीनाम दिएपछि संयोजक शाखाको काम कारवाही अगाडि बढेको छ । गाउँपालिका प्रशासकीय अधिकृत दीपक नेपालीका अनुसार शिक्षाका सबै काम प्रशासन शाखाबाट हुँदै आएको छ ।

पूर्वखोला गाउँपालिकामा उद्धबुद्ध माविका प्रध्यानाध्यापक लोक हरि देवकोटाले शिक्षा शाखाका काममा सहजीकरण गरिरहेका छन् । अधिकांश समय विद्यालयको जिम्मेवारीमा रहनुपर्दा गाउँपालिकाले बोलाएको समयमा सल्लाह तथा सहजीकरण मात्रै गर्ने गरेको उनले बताए ।

निस्दी गाउँपालिकामा पनि शिक्षाको कर्मचारी नहुँदा स्रोत व्यक्ति हरिबहादुर सारुले शिक्षा शाखाका काम हेरिरहेका छन् । स्रोत व्यक्तिका सट्टामा नयाँ शिक्षक विद्यालयमा राखेर गाउँपालिकाले स्रोत व्यक्तिलाई गाउँपालिकामा तानिएका छन् ।

रम्भा गाउँपालिकामा शिक्षा शाखाको जिम्मेवारी स्रोत व्यक्ति काशीराम बस्याललाई दिएको छ । स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा करारका कर्मचारी र शिक्षकलाई जिम्मेवारी प्रदान गर्न बाध्य भएको गाउँपालिकाले जनाएको छ । कर्मचारीको अभावमा शिक्षासम्बन्धी काम गर्दा ढिलासुस्ती र समस्या हुँदै आएका छन् ।

जिल्लामा २०० प्राथमिक विद्यालय सञ्चालनमा छन् । त्यस्तै, ८८ निमावि र ११५ मावि जिल्लामा सञ्चालित छन् । जिल्लाको तानसेन नगरपालिकामा शिक्षा शाखा उपसचिव रेशमलाल न्यौपाने र स्रोत व्यक्ति लक्ष्मी ढुङ्गाना, बगनासकाली गाउँपालिकामा शिक्षा अधिकृत गुनाराम खनाल, तिनाउ गाउँपालिकामा शिक्षा अधिकृत लक्ष्मी कुँवर तथा रिब्दीकोट गाउँपालिकामा शिक्षा अधिकृत मणि खनाल कार्यरत छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका शाखा अधिकृत विष्णुप्रसाद बेल्बासेका अनुसार स्थानीय तहका शिक्षा शाखाले प्रदेश र केन्द्रका कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने हुन्छ । केन्द्र र प्रदेशका काम गर्ने जिम्मा रहेको हुँदा शाखामा कर्मचारी नहुँदा समस्या बल्झिएको उनले बताए ।

शिक्षा, युवा तथा खेलकूद मन्त्रालयका काम पनि स्थानीय शिक्षा शाखाले गर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष युवा तथा खेलकूद मन्त्रालयले एक लाख खेलकूदका क्षेत्रमा खर्च हुँदै आएको छ । त्यसबाहेक स्थानीय तहका शिक्षासम्बन्धी बैठक, तालीम, अनुगमनका कामसमेत गर्नुपर्ने अवस्थामा कर्मचारी नहुँदा स्थानीय तहमा शिक्षाका कामको व्यवस्थापनमा चुनौती थपिएको छ ।

प्राथमिक तहमा एक हजार ८०५ शिक्षक कार्यरत छन् । तीमध्ये ५९६ स्थायी र २०९ राहत दरबन्दीका शिक्षक कार्यरत छन् । निमाविमा तहमा स्वीकृत ३२३ दरबन्दीमध्ये १५८ राहत गरी ४८१ शिक्षक कार्यरत छन् । मावि ९ देखि १० कक्षासम्म २४९ र मावि कक्षा ११ र १२ मा ६१ शिक्षक अझै आवश्यक छ । शिक्षकलाई तलब भत्ता तथा अवकाश नियमित प्रक्रियाको चाजोपाँजो मिलाउन स्थानीय तहलाई अहिले चुनौती थपिएको हो ।

करारका कर्मचारी भरमा शिक्षा शाखा सञ्चालनले स्थानीय तहलाई शिक्षाप्रति बेवास्ता गरिएको शिक्षाविद्को दाबी छ । अस्थायी करारका कर्मचारीका भरमा शिक्षा सञ्चालनले शिक्षा क्षेत्र कमजोर हुँदै जाने सङ्केत देखिएको शिक्षक बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस