मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते


२९ मंसिर २०७६, आइतबार


लहान । सिरहाको लहान–ठाडी सडकअन्तर्गत लहान नगरपालिका–२३ स्थित सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स.३प. ५३१९ र विपरीत दिशाबाट जाँदै गरेको स.६प. २६७६ नंको मोटरसाइकल आपसमा ठोक्किदा स.३प ५३१९ नंको मोटरसाइकलका चालक लहान नगरपालिका–५ निवासी ४० वर्षीय सबिर अहमद नवाफको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते नवाफलाई उपचारका लागि लहान अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । सोही दुर्घटनामा परी लहान नगरपालिका–२४ गोविन्दपुर निवासी २१ वर्षीय राहुल भण्डारी र स.६प. २६७६ नंको मोटरसाइकल चालक लहान–२३ बथनाहा निवासी १८ वर्षीय रामशङ्कर यादव घाइते भएका छन् । घाइते दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस