बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन



लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन् ।

विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ ( ईयू) बाट बाहिर निकाल्न ‘शक्तिशाली नयाँ जनादेश’प्राप्त भएकामा खुशी व्यक्त गरे । उनले अब तोकिएकै मिति अर्थात् आगामी जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिन्छ र कुनै ‘हुन्छ, हुन्न’ भन्ने द्विविधा छैन भने ।

प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ्स पार्टीको यस पटकको विजय ऐतिहासिक भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनलाई चुनावमा विजयी भएकामा बधाई दिँदै बेलायतसँग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताए ।

बीबीसीका अनुसार हाउस अफ कमन्सका ६५० स्थानमध्ये घोषणा गरिएका ६०० स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३२६ स्थानमा विजय प्राप्त गरिसकेको छ । बिबिसीले मुख्य विपक्षी लेबर पार्टीले ५५ देखि १९७ स्थान गुमाएको छ ।

चुनावपछि गरिएका मतसर्वेक्षणमा सन् १९८० को दशकमा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले बहुमत हासिल गरेयता पहिलोपटक कन्जरभेटिभ्सले संसदमा सबैभन्दा ठूलो बहुमत प्राप्त गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए ।

चुनावी प्रारम्भिक नतिजासँगै बेलायती मुद्रा पाउण्ड स्टर्टिङको मूल्य डलरको तुलनामा दुई प्रतिशतले बढेको थियो । बेलायतको भविष्यलाई लिएर वर्षौंदेखिको राजनीतिक गतिरोध जोनसनको विजयसँगै अन्त्य हुने आमजनताले अपेक्षा गरेका छन् ।

धेरै सांसदको समर्थन प्राप्त भइसकेकाले प्रधानमन्त्री जोनसनले ब्रसेल्ससँग ब्रेक्जिट सम्झौताका सन्दर्भमा यसअघि तोकिएको आगामी जनवरी १ को समयावधिभित्रै बेलायत इयूबाट अलग्ग हुनेछ ।

सम्झौताको अनुमोदनले लगभग ५ दशकको ईयू–बेलायत एकीकरणको औपचारिक रुपमा अन्त्य हुनेछ । यद्यपि दुबै पक्षले अझै पनि नयाँ व्यापार र सुरक्षा सम्झौता गर्नुपर्ने आवश्यकता छ ।

फ्रान्सका युरोपेली मामिला मन्त्री एमेली डी मोन्टचेलिनले बेलायतमा जोनसनको पक्षमा ‘स्पष्ट बहुमत’ प्राप्त भएकामा त्यसलाई स्वागत गरेका छन् । उनले बेलायती नतिजालाई स्वागत गर्ने पहिलो युरोपेली नेता छन् ।

लन्डनका पूर्व मेयर र विदेश मन्त्री समेत रहेका जोनसनका लागि यो ठूलो विजयको सङ्केत हो जसले ब्रेक्जिट अभियानलाई सफल बनाउन सन् २०१६ को जनमत सङ्ग्रहमा पनि मुख्य भूमिका निर्वाह गरेका थिए ।

पश्चिमी लन्डनमा पुनः सांसदको रूपमा छनौट भएपछि बोल्दै जोनसनले ‘यस्तो लाग्छ, यस पटक जनताले ब्रेक्जिटको पक्षमा शक्तिशाली नयाँ जनादेश दिएका छन् । ब्रेक्जिट मात्र होइन, यस देशलाई एकजुट गर्न र देशलाई अगाडि बढाउनेतर्फ यो जनमत लक्षित छ ।’

सांसदका रुपमा १०औं पटक पुनः विजयी भएका मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले चुनावमा हार स्वीकाए। उनले यो नतिजा असाध्यै निराशाजनक रहेको पनि बताए ।

उनले आफूले पार्टीको नेता पदबाट चाँडै राजिनामा गर्ने बताउँदै अर्को चुनावमा आफूले पार्टीको नेतृत्व नगर्ने स्पष्ट गरे । बेलायतमा अब अर्को संसदीय निर्वाचन सन् २०२४ मा हुनेछ ।

अर्को ठूलो अप्ठ्यारोमा ब्रेक्जिट विरोधी लिबरल डेमोक्रेट्सका नेता जो स्विन्सनमाथि आइपरेको छ । उनी स्कटिस नेसनल पार्टीका उम्मेदवारसँग पश्चिमी स्कटल्याण्डबाट पराजित भएका छन् ।

केही हप्ता अघिदेखि नै चुनावी मतसर्वेक्षणमा कन्जरभेटिभ्सहरु अगाडि थिए तर उनीहरूले यति ठूलो अन्तरमा चुनाव जित्ने अड्कल कमैले मात्र गरेका थिए । यो नतिजा निकै अप्रत्याशित रहेको छ ।

पार्टीले उत्तरी इङ्ल्याण्ड र वेल्समा चुनावी प्रचारलाई तिब्र बनाएका थिए किनभने यहाँ परम्परागत रुपमै लेबर पार्टीको वर्षौंदेखि बर्चश्व रहिआएको थियो । तर यसपटक यहाँका मतदाताले लेबर पार्टीलाई रुचाएनन्, र कन्जरभेटिभ्स पार्टीका उम्मेदवारलाई मतदान गरे ।

एउटा मतसर्वेक्षणले कन्जरभेटिभ्सले ८६ स्थान थप जित्ने र मार्गरेट थ्याचरपछि पहिलोपटक बहुमत ल्याउने प्रक्षेपण गरेको थियो ।

समाजवादी विचारधाराका नेता कोर्बिनको नेतृत्वको लेबर पार्टीले १९१ स्थान मात्र जित्ने पूर्वानुमान गरिएका थिए । लेबर पार्टीका लागि यो नतिजा सन् १९३५ पछि सबैभन्दा खराब हुने थियो ।

कोर्बियनले ब्रेक्जिटका सन्दर्भमा दोस्रो जनमत सङ्ग्रह गर्नुपर्ने धारणा अघि सार्दै आएका थिए उनको विचारमा आधाभन्दा बढी जनता अझै पनि ईयुकै पक्षमा रहनेछन् ।

तर उनले लेबरको अभियानलाई आर्थिक परिवर्तनका कार्यक्रममा बढी केन्द्रित गरेका थिए, जसमा केही प्रमुख उद्योगहरूको पुनः राष्ट्रियकरण गर्ने कुरा समावेश थियो । तर यी आश्वासनले मतदाताहरूलाई लोभ्याउन सकेन ।

शुक्रबार बिहान समर्थकहरुलाई सम्बोधन गर्दै कोर्बिनले आफ्नो चुनावी ‘घोषणापत्र’ को पक्षलाई बचाउ गर्दै चुनावी अभियानका क्रममा आफ्ना नीतिहरू ‘अत्यधिक लोकप्रिय’ रहेको दाबी गरे ।

तर उनले ब्रेक्जिटले बेलायती जनता र दलहरुमाझ ध्रुवीकरण र विभाजित बहस निम्त्याएको स्वीकार गरे ।

कोर्बिनले व्यक्तिगत रूपमा अलोकप्रिय र गिरफ्तार गरिएका आतङ्ककारी समूहहरूप्रति सहानुभूतिपूर्ण वक्तव्य दिएको भन्दै पार्टीभित्रै आलोचना खेप्नु परेको थियो ।

यो लेबरको चौथो लगातार चुनावी पराजय हो, र कोर्बिनको नेतृत्वमा दोस्रो । चुनावी पराजयसँगै लेबर पार्टी अझै पाँच वर्ष सत्ताबाट बाहिर रहनुपर्ने निश्चित झैं देखिएको छ ।

ब्रेक्जिट विरोधी लिबरल डेमोक्रेट्सका लागि पनि यो रात निकै सकसपूर्ण थियो । पार्टी नेतृ स्विन्सन पराजित भएका थिए । सन् २०१७ को भन्दा एक स्थानमात्र बढी अर्थात् १३ स्थान जित्ने अनुमान गरिएको छ ।रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस