महिलाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिलाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालद्वारा यहाँ आज आयोजित अन्तक्रियामा मन्त्री गुरुङले महिलाका सवालमा देखिएका समस्या समाधानका लागि सरकारलाई आवश्यक सुझाव दिनसमेत सम्बन्धित क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थालाई आग्रह गरे ।

‘महिलाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यक सुझाव दिन म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु’, उनले भने । मन्त्री गुरुङले दिगो विकास लक्ष्य हासिल गर्न पनि महिलासँग सम्बन्धित सबै समस्या समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको पनि प्रष्ट पारे ।

मन्त्री गुरुङले मन्त्रालयले शुरु गरेको गर्भवती र सुत्केरीका लागि लक्षित हवाई उद्धार कार्यक्रमलाई अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ । चालू आर्थिक वर्षमा ५० सुत्केरीको उद्धार गर्ने लक्ष्य राखिएकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत मन्त्रालयले गत वर्ष कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार शुरु गरेको थियो । सो कार्यक्रमबाट हुम्ला, दोलखा, तेह्रथुम, धादिङ, डोल्पा, बाजुरा, मुगु, सोलुखुम्बु, गोरखा, कालीकोट, म्याग्दी, रुकुमपूर्व, जाजरकोट, सल्यानलगायत दुर्गम जिल्लाका महिला लाभान्वित भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलालाई मानव अधिकारको प्रत्याभूति दिलाउने काममा सरकार गम्भीर नभएको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस