शिक्षा समितिको बैठक नबस्दा ३२ विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षा समितिको बैठक नबस्दा ३२ विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित


११ मंसिर २०७६, बुधबार


गौशाला । गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनौँदेखि तलब पाउन सकेका छैनन् । गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् ।

नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष सुनिताकुमारी महतोले जानकारी दिए । नगर शिक्षा समितिको बैठक नियमित नबस्दा विद्यालय लथालिङ्ग अवस्था पुगेकाले समयमै यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको उपाध्यक्ष महतोले बताए ।

जनही रु १२ हजारका दरले मासिक तलब पाउँदै आएका शिक्षकलाई यस वर्षदेखि केही थप रकम जोडेर दिने नगरपालिका शिक्षा शाखाको योजना रहेको र सो सम्बन्धमा शिक्षा समितिबाट निर्णय गराउन बाँकी रहेकाले शिक्षकलाई समयमै तलब खुवाउन नसकिएको नगर शिक्षा शाखाका पुरुषोत्तम अधिकारीले जानकारी दिए । गत वर्ष शिक्षकलाई तलबवापत नगरपालिकाले रु ५३ लाख छुट्याएको थियो । यस वर्षदेखि सोही शीर्षकमा रु ६० लाख छुट्याएकाले समयमै रकम मिलान हुन नसक्दा समस्या भएको अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस