सहुलियतमा फोर जी : ग्राहकहरूमाझ लोकप्रियता बढ्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहुलियतमा फोर जी : ग्राहकहरूमाझ लोकप्रियता बढ्दै


२४ कार्तिक २०७६, आइतबार


काठमाडौँ । नेपाल टेलिकमले नवीनतम प्रविधि सहितको फोर जी सेवाको देशभर सातै प्रदेशमा एकैसाथ सेवा शुभारम्भ गरेसँगै ग्राहकहरू माझ फोर जी सेवाको लोकप्रियता बढ्दै गएको छ ।

पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख सहरहरूमा सहुलियतमा फोर जी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालनका क्रममा आम नागरिकहरूमा फोरजीप्रतिको आकर्षण बढेको पाइएको नेपाल टेलिकमले जनाएको छ ।

कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोर जी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवर्द्धन कार्य उत्साहजनक रूपमा सम्पन्न भएको टेलिकमले जनाएको छ ।

आज २४ गते आइतबार चितवनको भरतपुर स्थित नारायणी नदी किनारमा सिम वितरण कार्य भइरहेको छ । आगामी कार्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मङ्सिर ४ गते पोखराको अमरसिंह मैदानमा सिम कार्ड वितरण गरिने कार्यक्रम रहेको छ । यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोर जी सिम प्राप्त हुनेछ ।

यो विशेष अभियान अन्तर्गत ग्राहकहरूले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमति पत्रको फोटोकपी र एकप्रति फोटो पेस गरी सिम कार्ड प्राप्त गर्न सक्नेछन् ।

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरूको साथमा गरिरहेको साङ्गीतिक कार्यक्रम सप्त रङ्ग २ मार्फत पनि टेलिकमको फोर जी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवर्द्धन गरिएको छ । साङ्गीतिक कार्यक्रमको प्रमुख आकर्षण महा नायक राजेश हमाल रहेका छन् भनेँ साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस