विद्यार्थीलाई शोषण गरेको भन्दै युवा चिकित्सक संघद्वारा मेडिकल काउन्सिलमा ताला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विद्यार्थीलाई शोषण गरेको भन्दै युवा चिकित्सक संघद्वारा मेडिकल काउन्सिलमा ताला


१५ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । युवा चिकित्सक संघ नेपालले नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ। संघले काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारको कार्यकक्षमा माग पत्र टाँस्दै ताला लगाएका हुन्।

संघले नेपालका मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक, मानसिक र विभिन्न प्रकारका शोषण हुँदै आएको बताएको छ।

पछिल्लो उदाहरणका रूपमा सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको र शुल्क फिर्ताको माग गर्दा युनिभर्सल मेडिकल कलेज तथा वीरगन्जको नेशनल मेडिकल कलेजका विद्यार्थीलाई कलेज व्यवस्थापनले बन्धक बनाएको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल सरकारले दिएको निर्देशनको अवज्ञा गर्ने, चिकित्सा शिक्षा आयोगको नियम कानुन पालना नगर्ने, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयको नियम नमान्ने र विद्यार्थीहरू माथि अमानवीय व्यवहार तथा दमन गर्ने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्न युवा चिकित्सक संघले माग गरेको छ ।

सम्बन्धित निकायले ध्यान र चासो नदिएसम्म काउन्सिलमा ताला लागिरहने छ। हामीले यस विषयप्रति दबाबका लागि यो कदम चालेका हौँ,समस्या समाधान नभएसम्म आन्दोलनका अरू कार्यक्रम पनि गर्नेछौँ विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस