आठ वर्षीया बालिका अपहरण गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आठ वर्षीया बालिका अपहरण गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ


१५ कार्तिक २०७६, शुक्रबार


pakrau

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ । हजुरबुबाको श्राद्धमा मामाघर आएकी बालिका घरपरिवारका सदस्य भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुगेङ्लीले बताउए ।

साइकलमा चढाइ बजारबाट एक किलोमिटर पश्चिम पुर्‍याएका बेला स्थानीयवासीले दुवैलाई नियन्त्रणमा लिई बालिकाका मामा रवी शर्मालाई खबर गरेका थिए । अपरिचित युवासँग गइरहेको देखेपछि शर्माको घर आएकी बालिकासँग सोधपुछ गर्दा बालिकाले नचिनेको बताएपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएको बालिकाका मामा शर्माले बताए ।

‘श्राद्धको पूजा र भोजमा व्यस्त रहेका बेला गाउँलेहरुले अपरिचित दुई युवकले भाञ्जीलाई साइकलमा लैजाँदै छ भनेपछि हामी दौडिएर गयौं’, शर्माले भने, ‘हाम्रो भाग्य भनौ वा दिन दह्रो रहेछ गाउँलेहरुले बालिकालाई चिनेकाले सोधपुछ गर्दा अपहरण हुन पाएन र भाञ्जीलाई सकुशल पायौं ।’

चिया र बिस्कुटको प्रलोभन दिई बालिकालाई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेका अपरिचितलाई स्थानीयवासीले कुटपिटसमेत गरेका छन् । आरोपित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस