उपनिर्वाचन : कांग्रेसको विरासत भत्काउने दाउमा नेकपा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपनिर्वाचन : कांग्रेसको विरासत भत्काउने दाउमा नेकपा


१५ कार्तिक २०७६, शुक्रबार


बाँके । प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली कांग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ ।

कोहलपुर–६ मा दलले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटी निर्माण गरेर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रम भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलले सबै रणनीति तय गरिरहेका छन् ।

उम्मेदवार सिफारिस भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दल चुनावी अभियानमा सक्रिय भएका छन् । वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउने लयमा छ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काङ्ग्रेसको विरासत भत्काउने दाउमा छ ।

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ । गत निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

विसं २०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गरेका थिए । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दाबी छ ।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर वली र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत ल्याएका थिए । ‘पार्टी एकीकरणपछि हाम्रो मत करीब २०० को अन्तरले बढेको छ, नयाँ मतदाता पनि धेरै नेकपाकै हुनुहुन्छ’, कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले भनिन् ।

वडा नं ६ मा थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक मत कम रहेकाले मतदातालाई आफ्नो पक्षमा पार्ने चुनौती रहेको नगर अध्यक्ष अधिकारीको भनाइ छ । उनले भनिन्, ‘थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक र वैचारिक मत निकै कम छ । यो मत कसको पक्षमा कसरी जान्छ भन्ने थाहा नै हुँदैन । तर हामी हाम्रो पक्षमा पार्छौं ।’

सरकारका लोकप्रिय र जनमुखी कार्यक्रमकै कारण मतदाता नेकपाका पक्षमा रहेकाले जीत सुनिश्चित भएको नगर अध्यक्ष अधिकारीको दाबी छ । ‘सरकारले ल्याएको विकास र आर्थिक समृद्धिका कारण जनलहर नेकपाको पक्षमा छ । कोहलपुरमा नेकपाकै प्रमुख भएकाले विकासका काम तीव्ररुपमा भएका छन्, यो पनि जीतको आधार हो’, उनले भनिन् ।

नेपाली कांग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि कांग्रेसको जीत सुनिश्चित रहेको बताए । उनले भने, ‘तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार हाम्रो पार्टीमा आइसक्नुभएको छ । यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ ।’

तत्कालीन मधेशी जनाधिकार फोरमबाट प्रमुखको उम्मेदवार बनेका फूलाराम थारुले गत निर्वाचनमा वडा नं ६ बाट ११४ मत प्राप्त गरेका थिए । फूलाराम र रामसोहनले ल्याएको कूल ५३८ मत छ । यो तथ्याङ्कअनुसार नेकपा रकांग्रेसको मतान्तर ८७ देखिन्छ । तर, सो वडामा थारु मत धेरै रहेकाले कांग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् । ‘थारु समुदायबाट बलियो उम्मेदवार छनोट गरेकाले निर्वाचन परिणाम सहजै हाम्रो पक्षमा आउँछ’, नगर सभापति बलरामले दाबी गर्दै भने । तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका श्रीराम थारुका भाइ कृष्ण थारु अहिले कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस