मानव सेवा र स्थानीय सरकारको दायित्व « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मानव सेवा र स्थानीय सरकारको दायित्व


१४ कार्तिक २०७६, बिहिबार


के हो मानव सेवा ?
जनताको सेवा वा विकास भन्नु वृहत कुरा हो भने मानव सेवा भनेको मानवीय संवेदनशीलताको नजिक पुगेर जीवनयापनमा सहयोग गर्नु हो । जनसेवा वा मतदाताको सेवा गर्नु निर्वाचित जुनसुकै तहको सरकारको प्राथमिक उद्देश्य हुन आउँछ । मानव सेवा छिनभरमा संभव हुने विषय होइन । मानवता प्रवर्द्धन गर्दै सहारा आवश्यक परेका व्यक्तिको सहारा बन्ने र सिकाई, गराई र विकास व्यवस्थापनमा समेत यसलाई जोडेर जानु जरुरी हुन्छ । वेसहाराको सहारा राज्य हुनुपर्दछ । राज्य सञ्चालनमा संलग्न रहेका जुनकुनै तहका सरकारले मानवता प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्दछ । यसो भन्दैमा कुनै संघसंस्था वा समूह वा व्यक्तिले पनि मानवता प्रवर्द्धनका लागि केही भूमिका निभाउन सक्दैन भन्ने हुँदैन । वृहत सरकारको आधुनिक अवधारणाको दायरामा जोसुकै पक्षबाट हुने समस्या सम्वोधनका उपायहरुलाई समेटिने गरेको पाइन्छ । जोसुकैले संरक्षण गरेपनि न्युनतम मानवीय व्यवस्थाको अनुगमन गर्ने र नीति तथा कार्यक्रममार्फत व्यवस्थित सम्वोधन गर्ने दायित्व भने आआफ्नो तहमा कार्यरत सरकारहरुको हुन आउँछ । स्थानीय स्तरमा पालिकाहरुले पनि यस कार्यमा सरोकार राख्नुपर्दछ किनकि रुपान्तरण र समृद्धिको एउटा महसूस हुने काम भनेको दु:खमा रहेका व्यक्तिको आधारभूत जीवन सरोकारलाई बुझ्नु र सम्वोधन गर्नु हो ।

मानवता प्रवर्द्धन कसले गर्ने ?
मानवीयता हराउँदै गएकोमा चिन्तित हुनु एउटा कुरा हो भने मानवीयता प्रवर्द्धनका लागि केही न केही काम गर्नु सबै जिम्मेवार व्यक्ति वा निकायको दायित्व बन्नुपर्दछ । मानवताको जगेर्ना गर्नु सबै पेशा व्यवसाय र क्षेत्रका लागि मार्गनिर्देशक बन्नुपर्दछ । मानवता भन्ने वित्तिकै एक मानवमा अर्को मानवका सम्वन्धमा पैदा हुने संवेदनशीलता हो करुणा हो । तसर्थ असल नागरिकमा मानवताको ज्ञान आवश्यक छ । सडकमा भेटिने व्यक्ति पनि हाम्रो जस्तै सपना बोकेको हुन्छ उसका आफ्नै कथा र विवसताहरु हुन्छन् । विभिन्न उमेर समूहका विभिन्न लिंगका र जातपात र धर्मसहितका ती व्यक्तिहरुको अवस्थाप्रति संवेदनशील भएर हामीहरुले मानवीयताको आँखाले र सबैले धर्मले चाहेको गन्तव्य अर्थात मानवताकै हृदयले हेर्न र व्यवहार गर्न सक्नुपर्दछ ।

एकछिनका लागि हामीहरुले सोँचौं त्यसरी भेटिने व्यक्ति पनि कसै न कसैका बाबु श्रीमान श्रीमती छोरा छोरी हुन सक्छन् । अनुमान गरौँ कि आफ्नै आमाबुबा वा छोराछोरी सडकछेउको चिसो भुँइमा सुतिरहेको भेटिएमा के हुन्थ्यो होला ?

भनिएको छ कि ज्येष्ठ व्यक्तिहरुको सेवा गर्न पाउनु भाग्यको विषय हो । आफ्ना आमाबाबुलाई वृद्धावस्थामा सेवा पुर्याउनु भनेको दैविक कार्य हो । त्यसो त प्रत्येक मनुष्यमा इश्वरको रूप देख्नु मानवता हो | मानव भएर मानवोचित व्यवहार गर्नुपर्ने सन्दर्भमा मानव भएर मानवको सेवा उद्धार गर्नु उत्तम गुण अनि सात्विक गुण हो |

महात्मा गान्धीले भनेका छन् कि परिवर्तन चाहिन्छ भने सर्वप्रथम आँफैबाट शुरु गर्नुपर्छ | यदि सडक तथा सार्वजनिक स्थलहरुमा दुःखी मानव नदेख्नु परोस भन्ने चाहना छ भने तिनका लागि उद्धारको कार्य स्वयम्बाट प्रारम्भ गर्नु आवश्यक छ | मानवीयता जागृत नभै मानव कल्याण संभव छैन । भनिएको पनि छ कि फोहोर पानीद्वारा फोहोर जति गरेपनि सफा हुन्न । सफा राख्ने वा वनाउने चिज पहिले आफैमा सफा हुनैपर्दछ । व्यक्ति व्यक्तिको सोँचाइ र चिन्तनसँग पनि मानवियता प्रवर्द्धनको विषय जोडिएको छ ।

विश्वव्यापी मानवीयताका सिद्धान्त अनुसार मानिसको जीवन जोगाउनु र उसलाई दुखबाट त्राण दिनु नै मानवीयता हो | यसकार्यमा सहयोग दिने व्यक्ति वा संस्थाले यस्तो कार्य शीघ्र गर्नुपर्छ | यस्तो सहयोग दिंदा पक्षपात हुनुहुन्न र स्वतन्त्र रूपमा दिनु पर्छ | यी विषय विश्वव्यापी मान्यताका रूपमा लिइएको पाइन्छ |

केही वर्षयता मानव सेवा आश्रम स्थापना भई अनाथ र सहयोगापेक्षी मानवहरुलाई लालनपालन गर्ने र संभव भएकालाई परिवारमा पुनर्मिलन गराउने कार्य हुँदै आएको छ । युवा महिला तथा पुरुषहरु पनि मानवियता प्रवर्द्धनको यो पुनित कार्यमा समर्पित भएर अभियान अघि बढाइएबाट यस संस्थाको लोकप्रियता बढेको छ र नेपालका विभिन्न जिल्लामा शाखाहरु खोल्ने क्रम बढेर गएको छ ।

मानवसेवा आश्रमका अग्रजहरुका अनुसार सहयोगापेक्षी सडक मानव भन्नाले खूला आकाशमुनि रात विताउन विवश घरपरिवारविहिन, परिवार तथा समाजबाटै परित्यक्त, बेसहारा, अनाथ, अपांग, अशक्त, असाहय, मनोरोगी तथा जीवन नै संकटमा रहेका जुनसुकै उमेर समूहका साहाराको आवश्यक भएका मानवहरुलाई सहयोगापेक्षी सडक मानव भनेर बुझ्नुपर्ने हुन्छ । लापरवाही ढंगले सडक वा सार्वजनिक स्थलमा फालिने र अस्तव्यस्त जीवन विताउनेलाई भने सहयोगापेक्षी भनिहाल्न मिल्दैन । कोही कोही त पैसा कमाए पनि अपराधिक काम गर्न र स्वच्छन्दरुपमा खानपान गर्न र वेश्यावृत्ति गर्नका लागि मात्र पनि सडकमा भेटिने हुन्छ । तसर्थ सहयोगापेक्षी वा राज्यले साच्चिकै सहारा दिनुपर्ने व्यक्ति र नियमकानून लगाएर दुरुत्साहित गर्ने व्यक्तिको पहिचानको विषय ज्यादा महत्वपूर्ण हुन आउँछ ।

सहयोगापेक्षी सडक मानवरहित स्थानीय तह सम्बन्धी अवधारणाको औचित्य र सान्दर्भिकता
• संविधान र कानूनको मर्म, अन्तराष्ट्रिय सन्धी सम्झौताका प्रावधानहरु र सम्मानित सर्वोच्च अदालतको आदेशको पालना
• सहरी शौन्दर्य तथा स्मार्ट सिटीको अवधारणालाई साकार पार्न
• “मानवता सभ्य समाजको पहिलो आधार” भन्ने भावना प्रत्येक व्यक्ति परिवार समाजमा जगाउन आवश्यक
• Visit Nepal Year, 2020 लाई सहयोग पुग्ने
• मानवता प्रवर्द्धन महाअभियान सफल पार्न
• लोकतन्त्र, विकास र मानवाधिकारवीचको अनन्य सम्बन्धलाई सम्मान गर्न

भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानवरहित घोषणा गरिदाको सन्दर्भ
मानवीयतासहितको विकास Development with humanity लाई संभव तुल्याउनका लागि सरकार र सरकारवाहेकका अन्य पात्रहरुको सहयोग र सकृयतामा कोही पनि व्यक्ति वेसहारा र अभिभावकविहीन रहन नपरोस् भन्ने मूल ध्येयका साथ भरतपुर महानगरपालिकामा पनि सबै सरोकारवालाहरुको सहभागिता र सहयोगको प्रतिवद्धतावमोजिम “वेसहारा र अभिभावकविहीन सहयोगापेक्षी सडक मानवरहित महानगर” घोषणा गर्ने अवधारणा अघि सारिएको हो ।

गत कार्तिक ९ गते भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवरहित महानगर घोषणा गरियो । घोषणाको तयारीको शुरुमा यो विषय असंभवप्राय लाग्दथ्यो तर जव महानगर र जिल्लाकै अगुवाहरुको समेत उपस्थितिमा रात्रीकालीन सडक सेवा सञ्चालनमा ल्याइयो यो विषय थप चर्चामा आयो अनि महानगरवासीको व्यापक समर्थन र सहयोग प्राप्त गर्यो । फलस्वरुप २ हप्ताको तयारीमै भव्यरुपमा घोषणा कार्यक्रम सम्पन्न भएको छ । यो अभियानमा कोही विरोधी वा प्रतिपक्ष थिएन । सबैलाई एउटै अभियानमा जोड्नका लागि सबाल पनि साझा र संवेदनशील हुनुपर्दछ भन्ने सन्देश यो विषयले दिएको छ । यस सन्दर्भमा वेसहारा र अभिभावकविहीन सहयोगापेक्षी सडक मानवरहित महानगर घोषणा गर्ने समग्र अभियानमा उपस्थित सबै मनकारी व्यक्तित्वहरु र मानवीयताप्रति संवेदनशील सम्पूर्ण सहभागी जनहरुमा हार्दिक नमन एवं सम्मान प्रकट गर्नुपर्दछ । जय मानवसेवा ।

अनुकूल वातावरणको सृजना र यसको उपयोग
• यस सम्बन्धमा तर्जुमा भएको वार्षिक नीति कार्यान्वयन हुने
• मानव सेवा आश्रमले ६ वर्षदेखि अभियान सञ्चालन गर्दै र साहारा दिँदै आएको
• भरतपुर महानगरपालिकाभित्रै अन्य पुनर्स्थापना केन्द्रहरु, अनाथालयहरु पनि सञ्चालनमा रहेको जस्तै : आदर्श गृह, पिटुसिटु, आमाको घर, मन्जुश्री फाउण्डेसन आदि
• सुरक्षा निकायको सकृयता

भरतपुरमा सञ्चालित रात्रिकालीन सडक सेवाको एक दृश्य
भरतपुरमा सञ्चालित रात्रिकालीन सडक सेवाको एक दृश्य

रात्रीकालीन सडक सेवामा जे देखियो
बेसहारा व्यक्तिहरु यसवाहेक पनि भरतपुरमा विभिन्न उद्देश्य र सन्दर्भले आई काम गर्ने, बसोबास गर्ने र लुकीछिपी बस्ने र अशोभनीय ढंगले मादक पदार्थ सेवन गरी सडक छेउमा रात विताउने व्यक्तिहरुलाई तत् तत् स्थानबाट हटाई उचित व्यवस्थापन गर्न उपयुक्त भएकोले भरतपुर महानगरपालिकाले मानव सेवा आश्रम, चितवनको अग्रसरता र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु, विभिन्न संघसंस्था तथा सामाजिक सेवामा संलग्न अभियन्ताहरुको साझा प्रयासमा भरतपुर महातगरलाई वेसहारा र अभिभावकविहीन सहयोगापेक्षी सडक मानवरहित महानगर घोषणा गर्ने सोँचका साथ गत विगत वर्षमा केही पटक र २०७६ असोज २७ देखि लगातार हरेक साँझ सडक सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै मानवता प्रवर्द्धन हेतु लौरो नामक सडक नाटक प्रदर्शन समेत गरिएको थियो । रात्रिकालीन सेवामा जे जस्तो गतिविधि देखियो त्यो यहाँ राखिएको छ :
√ दिनभरि केही न केही काम गरेर साँझ वा राति खाना कम र खान नहुने मदिरा धेरै खाइ चौतारो वा प्रतिक्षालय वा घरको पेटी वा वसपार्कको टहरोमुनी जसोतसो पल्टने व्यक्तिहरु
√ उपचार गर्न आएर वेखर्ची भई उल्लेखित स्थानमा आश्रय लिएर बास बसेका व्यक्तिहरु
√ तेश्रो लिंगी व्यक्तिहरु जसले वजारका व्यक्ति र ओहोरदोहोर गर्ने व्यक्तिहरुलाई यौनजन्य क्रियाकलापमा आकर्षण गर्ने र लुकीछिपी त्यस्तो अनैतिक क्रियाकलाप गर्ने गर्दछन्
√ अन्यस्थान वा विदेशबाटै पनि भाँडाकुडालगायतका चिजवस्तु व्यापारका लागि समूहमा हिँडडूल गर्ने, बालबालिका देखाएर पैसासमेत संकलन गर्ने, मौका परे चोरी पनि गर्ने र रातमा चौर वा नहरको किनार वा जुनकुनै खाली स्थानमा खाना बनाउने र सामूहिकरुपमै सुत्ने समूह ।
√ एकदिन मानवसेवा आश्रम वा प्रहरी कार्यालयले सम्झाईवुझाइ गरी कागजसमेत गराइ अवदेखि त्यस्तो कार्य नगर्ने भनी फर्केका व्यक्तिहरु फेरी पनि सडक छेउमै र उस्तै हालतमा देखिए
√ रात्रीकालीन सडक सेवा वढाउँदै जाँदा सबैतर्फबाट नै बेसहारा मानवको सूचना प्राप्त हुने र छिटोछिटो उद्दार गर्ने क्रम वढेर गयो ।
√ २०७६ कार्तिक ९ गते शनिवार प्रदेश नं ३ का मुख्यमन्त्री माननीय डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा घोषणा सभा सम्पन्न भएको छ । सभाअगाडि झाँकी र बाजागाजासहितको र्‍याली पनि निकालिएको थियो ।

सहयोगापेक्षी सडक मानवरहित महानगर घोषणा गर्नका लागि तय गरिएका सूचकहरु

नोट: मानवता प्रवर्द्धनका लागि सचेतनामुलक र सामाजिक सामन्जस्यतामूलक कार्यक्रमहरु महानगरपालिका र यसका वडाहरुमा सञ्चालनमा ल्याउनुपर्दछ । “Screening Center” तथा श्रम सिविर सञ्चालनका लागि जग्गाको प्रवन्ध गर्नु आवश्यक देखिन्छ ।

पूर्वीय सभ्यता र वैदिक मान्यतामा मानवता प्रवर्द्धन
वैदिक शास्त्रीय व्यवस्थामा रहेका असल र जीवनोपयोगी कुराहरुको अवलम्वन र जगेर्ना गर्दा पनि “परोपकार पुण्याय पापाय परपिरणनम” को मर्मलाई अंगिकार हुने देखिन्छ ।
समाजको निर्माणमा मुख्यतः चार प्रकारका कर्महरुको उल्लेख रहेको हामी पाउँछौ | तपस्या, ध्यान, शोध, ज्ञानको खोजीजस्ता कार्य, नेतृत्व दिने र समाजमा शासन व्यवस्था मिलाउने कार्य, कृषि व्यापार उद्योगका कार्य र सेवा गर्ने गरी ४ वर्गमा विभाजित थियो | तर हाल समाजमा यो विभाजनमा बेमेल हुँदा मानवले कसले के गर्ने असमन्जस पैदा भएकोले गरीबी र अशिक्षा बढेको अवस्था छ भने सवैजना पुँजी आर्जनमा मात्र तल्लिन हुँदा मानवीयता छाँयामा परेको छ ।

लोका: समस्ता: सुखिनो भवन्तु | अर्थात् संसारका सबै मानव सबै प्रकारले खुशी रहुन भनेर हाम्रा शास्त्रहरुमा उल्लेख छ तर समाजमा असमानता र विभेद व्याप्त छ । विभेद हुनुलाई सामान्यरुपमा लिइनुले पनि मानवीयता कमजोर देखिएको हुनसक्छ ।

नेतृत्वले गरेका असल तथा खराब कार्यको अनुसरण अनुयायीले गर्छन | हामीले मानवता प्रवर्द्धनका लागि प्रयास गरे सचेतना बढ्ने र यसतर्फ सफल परिणाम अवश्य आउने छन् | परिवारमा मुलीले, समुदायमा समुदायको अगुवाले भनेका कुराहरु अरुले अवलम्वन गर्ने र अगुवाहरुले मानवीय मूल्य र मान्यतालाई केन्द्रविन्दुमा राखेर काम गरेमा मानवियता कमजोर हुन पाउने थिएन ।

विश्वव्यापी मानवीयताका सिद्धान्त अनुसार मानिसको जीवन जोगाउनु र उसलाई दुखबाट त्राण दिनु नै मानवीयता हो | नेपालको हालको संविधानमा वर्णित राज्यका नीति तथा निर्देशक सिद्धान्तमा नागरिकको जिउ धनको संरक्षण, हक संरक्षण गर्दै न्याय दिने राज्यको उद्देश्य रहेको छ भने सभ्य समाजको निर्माण गर्ने तथा सबै पक्षको बिकासका लागि पहल गर्ने उद्देश्य समेटिएको छ । यही मर्मवमोजिम विभिन्न नीति, कानून र कार्यक्रमहरु वनेका छन् तर असहायको लागि सिधा सम्वोधन हुने कामहरु भने कमै मात्र भएका छन् ।

मानवता प्रवर्द्धनका लागि सहयोगी हुनसक्ने केही क्रियाकलापहरु
• नीति तथा कार्यक्रम तर्जुमाका वखत असहायको हित र मानवियता तथा मानवसेवाको विषयलाई महत्वका साथ समेट्ने
• सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर दिने (अपांगता भएकाहरुका लागि समेत)
• बाल्यकाल र शिसु अवस्थामै संस्कारयुक्त शिक्षा दिने व्यवस्था
• युवाहरुमा मानवीयता सम्वन्धी औपचारिक र अनौपचारिक शिक्षाको व्यवस्था
• शिक्षकहरुको मानमर्यादा वढाउनुपर्ने र यसका लागि शिक्षकहरुले उदाहरणीय व्यवहार प्रदर्शन गर्दै इमान्दारपूर्वक कार्यसम्पादन गर्नुपर्ने
• जुनसुकै सार्वजनिक सेवामा प्रवेशका लागि मानवीयता र नैतिकताका विषयहरुको ज्ञान भएको हुनुपर्ने व्यवस्था
• विवाहका वखत दाइजो लिनदिन वन्देज
• आमाबाबुको रेखदेखका लागि सन्तानहरुले चलअचल सम्पत्तिको पर्याप्त व्यवस्था गर्नुपर्ने
• समुदायमा वृद्धवृद्धाको विश्रामस्थल वनाउने र अन्य रचनात्मक गतिविधिमा सहभागी हुनका लागि आवश्यक व्यवस्था गर्नुपर्ने
• सार्वजनिक स्थलमा वा सडकमा कोही असहाय वा सहयोगापेक्षी व्यक्ति फेला परेमा सम्वन्धित पालिका वा त्यसअन्तगर्गतको वडा कार्यालय वा नजिकको प्रहरी इकाइमा सूचना गर्ने ।
• वृद्धवृद्धालाई उपचारको सहज व्यवस्था र असहाय एवं वेवारिसे व्यक्तिहरुलाई आश्रयस्थलको व्यवस्था र मृत्यु हुँदाका वखत मृत्युसंस्कारको समेत व्यवस्था
• वैदिक शिक्षालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने
• सवैखाले तालिम कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रममा कमसेकम एउटा सेसन मानवता प्रवर्द्धनसँग सम्वन्धित समावेश गर्ने
• सार्वजनिक स्थान, विद्यालय तथा कलेजहरुमा मानवीयता प्रवर्द्धनसम्वन्धी नाटक एवं उत्प्रेणात्मक कक्षाहरु सञ्चालन गर्ने व्यवस्था गर्ने । यसका लागि पाठ्यक्रममा नै समावेश गर्न पहल गर्ने

अन्त्यमा भन्नुपर्दा समाजमा वढ्दै गएको उपभोक्तावादका कारण परिवारका सदस्यको पालनपोषणलाई पनि धनआर्जनसँग जोडेर हेर्ने क्रम वढेर गएको छ । पूरानो तर उपयोगी हाम्रो पूर्वीय सभ्यताले देखाएको असहाय एवं वृद्धवृद्धाको थप हेरचाह गर्ने विषय अहिले भत्केर गएको छ । ती मान्यताहरुको पुनर्जागरण गर्ने र मानवता प्रवर्द्धन सम्वन्धमा औपचारिक र अनौपचारिक शिक्षा दुवैमा आवद्ध गरेर जानुपर्ने र अन्य कार्यक्रमहरुमा समेत मानवीयता र सकरात्मक चिन्तनका सेसनहरु समावेश गर्ने र स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा रहेका असहायहरुको अभिभावकत्व लिई मानव सेवा आश्रम र यस्तै अन्य पुनर्स्थापना केन्द्रहरुसमेत सहभागिता र समन्वयमा सहयोगापेक्षी सडक मानवरहित वनाउन ढिला गर्न हुँदैन । भरतपुर महानगरपालिकाले गरेको शुरुवात अन्य पालिकाहरुका लागि सन्देश बनोस् ।

लेखक भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (नेपाल सरकारका सहसचिव) का रुपमा कार्यरत हुनुहुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस