तिहारको चौथो दिन : आज गाई र गोरुको पूजा गरी मनाइँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तिहारको चौथो दिन : आज गाई र गोरुको पूजा गरी मनाइँदै


११ कार्तिक २०७६, सोमबार


काठमाण्डौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र किसानको पूजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रहेको छ ।

यसैबीच, पञ्चाङग निर्णायक समितिले आजै नेवार समुदायले गर्दै आएको आत्म(म्हः) पूजा गर्नुपर्ने निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् ।

समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णयअनुसार आज नै आत्मपूजा गर्ने बताउँछन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरेर भोलि भाइटीका लगाउने तयारी गरेका छन् ।

उपत्यका र बाक्लो नेवारी बस्ती भएका ठाउँमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन विभाजित भएका छन् । सदस्य जोशी भने धर्म राजनीति भएकाले एकथरी मानिस शास्त्रसम्मत पर्व नमनाउने निर्णयमा पुगको बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस