४ अर्ब ८० करोडका नोट छाप्दै राष्ट्र बैंक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४ अर्ब ८० करोडका नोट छाप्दै राष्ट्र बैंक


१० कार्तिक २०७६, आइतबार


राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्ने भएको छ । बैंकले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आह्वान गरेको हो।

यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो। केन्द्रीय बैंकले हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ। यसलाई नोटको आयु पनि भनिन्छ। यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो।

राष्ट्र बैंकका अधिकारीका अनुसार, पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ। हरेक वर्ष दसैंको समयमा नयाँ नोट बजारमा पठाउँदा केन्द्रीय बैंकले केही वर्षयता २० रुपैयाँका नोटको अभाव खेप्नुपरेको छ । ‘चार्डपर्वमा २० रुपैयाँको माग बढी हुन थालेको छ। मागअनुसार छपाइ नहुँदा बर्सेनि अभाव खेप्नुपरेको हो’, । राष्ट्र बैंकले यस्ता साना दरको नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएपछि साना दरका नोट अभाव हुने अवस्था आएको छ । पछिल्ला वर्षमा राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ।

तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको केन्द्रीय बैंकले यो वर्ष भने ३१ करोड थान छपाउँदै छ। नोटमा प्रयोग हुने कागज, नोटका सुरक्षा विशेषता, छपाइ र ढुवानी लागतअनुसार केन्द्रीय बैंकलाई ठूला दरका नोट छाप्न सस्तो पर्छ।

अमेरिकी डलरको विनिमय दरमा आउने फेरबदल पनि छपाइको लागतमा ठूलोअन्तर पर्नसक्छ। राष्ट्र बैंकले सन् २०१४ मा १ हजार दरको एउटा नोट छाप्न ३ रुपैयाँ ९२ पैसा खर्चेको थियो। २०१६ मा यही नोट १ रुपैयाँ ९० पैसामा छापियो।

गत १२ असोजमा चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसन’सँग भएको सम्झौता अनुसार यही १ हजार दरको नोट छाप्न राष्ट्र बैंकले ३ रुपैयाँ ३६ पैसा खर्च गर्ने भएको छ।

सन् २०१३ मा ३.१३ रुपैयाँमा छापिएको ५०० दरको नोट २०१६ मा २.९२ रुपैयाँमै छापियो। २० रुपैयाँको नोट तीन वर्षअघि १ रुपैयाँ ११ पैसामा छपाइएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस