विपन्न परिवारलाई बेमौसमी तरकारी खेती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विपन्न परिवारलाई बेमौसमी तरकारी खेती


८ आश्विन २०७६, बुधबार


दमक । झापाको दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नं ३ मा साढे दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवर्द्धन गरेको छ ।

दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करीब रु २१ लाखको खर्चमा टनेलमार्फत खेती प्रवद्र्धनमा जोड दिँदै आएको वडाध्यक्ष नवीन बरालले बताए । आफ्नो नाममा एक धुर पनि जमीन नभएकी पवित्रादेवी चम्लागाईंले नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेती गर्दा अहिले मनग्य आम्दानी गर्न थालेको बताइन् । उनीजस्तै १७ घरपरिवारलाई नगरपालिकाले गरीबी न्यूनीकरणका लागि कृषि उपार्जन सहयोग गरेको छ ।

अग्र्यानिक बेमौसमी तरकारी बालीमा सहयोग गरेकाले उत्पादित तरकारीले राम्रो बजार र आम्दानी लिने गरेको कृषि समूहका अध्यक्ष भगिरथ अधिकारीले बताए । आर्थिक अवस्था कमजोर भएकाहरुलाई टनेल तथा सोलार सिँचाइ राखेर आफ्नो मेहेनत आफ्नै कमाइ हुने अवस्था सिर्जना गरेकाले त्यस वडास्थित साधुथान बस्तीका विपन्न समुदाय कृषिमा आत्मनिर्भर बन्न थालेका र त्यसले समुदायको आर्थिक सशक्तीकरणमा सघाउ पुग्दै आएको वडाध्यक्ष बरालले भनाइ छ ।

उनका अनुसार समूहले अग्र्यानिक तरकारी उत्पादन थालेको र ती उपभोग्य उत्पादित वस्तु दमकका बजारमै खपतसमेत हुन थालेका छन् । नगरलाई अग्र्यानिक कृषि उत्पादनमा प्रोत्साहन गर्न पनि यस्ता कृषि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस