दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, काउन्टरका कर्मचारीहरु व्यस्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, काउन्टरका कर्मचारीहरु व्यस्त


५ आश्विन २०७६, आइतबार


काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिएको छ । काठमाडौंबाट चाडपर्वका लागि बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले आजैदेखि टिकट बुकिङ खुला गरेको हो ।

चाड पर्वको समयमा अरु समयको भन्दा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुन्छ । अन्य पर्वको तुलनामा महान पर्व दशैंको समयमा हरेक वर्ष अग्रिम टिकट खुलाइने गरेको छ ।

टिकट काउन्टरमा एक्कासि भीड
आजदेखि खुलाईएको टिकट बुकिङको लागि बिहानैदेखि काठमाडौं स्थित नयाँ बसपार्कमा यात्रुहरुको भिडभाड लागेको छ ।

भिडभाड बढेपछि काउन्टरका कर्मचारीहरु व्यवस्त भएका छन् । आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने यात्रुहरू टिकट बुकिङको लागि बसपार्कमा झुम्मिएका छन् ।

नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका काउन्टरमा पनि भीडभाड देखिएको छ ।

रुट इजाजत खुला
दशैं, तिहार र छठको अवसरमा मुलुकभर नै सवारी साधनको रुट इजाजत खुला हुने भएको छ । सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारीसाधन चलाउन पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले दशैं, तिहार र छठ पर्वका अवसरमा बिना झन्झट सवारी धनीले आफ्नो सवारी साधन देशभरका जुनसुकै ठाउँमा पनि गुडाउन पाउने गरी सवारी साधनको रुट इजाजत खुला गरिने बताएको छ ।

सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो ससवारी साधन चलाउन कुनै रोकटोक नहुने विभागले जनाएको छ ।

दशैं र तिहारमा एक महिनासम्मका लागि रुट इजाजत खुला गरिने गरी गृहकार्य भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस