विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक : उपप्रम यादव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक : उपप्रम यादव


२५ भाद्र २०७६, बुधबार


परासी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको समृद्धि सम्भव नहुने बताएका छन् । सरकारी–निजी साझेदारी अवधारणाबाट मात्रै विकास र समृद्धि प्राप्त हुने उनको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ पश्चिम नवलपरासीले आज परासीमा गरेको स्वागत कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, ‘सरकारले त आर्थिक विकासको बाटो खोल्दिने हो, निजी क्षेत्रसँगको साझेदारीबिना सरकार एक्लैले समृद्धि ल्याउन सक्दैन्, निजी–सरकारी साझेदारीबाटै मुलुकको विकास गर्नुपर्छ ।’

मन्त्री यादवले स्वदेशी व्यवसायी उत्साहित नभई विदेशी लगानी पनि नभित्रिने भएकाले लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘उद्योग व्यापार वृद्धि नभई रोजगारी बढ्दैन, राज्यको आय पनि बढ्दैन, गरीबी पनि घट्दैन्, लगानीको वातावरण र करको दायरा फराकिलो बनाउन हामी छलफल गर्छौँ’ उनले भने।

अर्को प्रसङ्गमा उपप्रधानमन्त्री यादवले नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नीतिमा आफूहरुको असहमति रहेको बताए । मन्त्री यादवले सीमा क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै भारतीय सवारी साधनमा कडाइ गरिएको विषयमा पुनःविचार आवश्यक रहेको धारणा व्यक्त गरे ।

मन्त्री यादवले सुनवलमा अस्पताल बन्ने निश्चित भइसकेको र बजेट पनि पठाएको उल्लेख गर्दै राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापनाका लागि सोच्न सकिने बताएका थिए ।

सो अवसरमा नवलपरासी उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले परासीमा रहेको पृथ्वीचन्द्र अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने, सुनवल नगरपालिका–८ मा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्याको अस्पताल बनाउँदा सबै नगरवासीलाई अपायक हुने हुँदा उपयुक्त स्थान वडा नं ५ वनकट्टीमा उक्त अस्पताल बनाउनुपर्ने वा ट्रमा सेन्टरको लागि स्वीकृति दिनुपर्ने, नवलपरासीमा सुविधा सम्पन्न शिक्षण अस्पतालको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

उनले महेशपुर भन्सारमा पूर्वाधार अभावको समस्या रहेको जानकारी गराउँदै आवश्यक पहलका लागि पनि ध्यानाकर्षण गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस