स्थानीय तहमा प्राविधिक शिक्षा सरकारको प्राथमिकता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहमा प्राविधिक शिक्षा सरकारको प्राथमिकता


२५ भाद्र २०७६, बुधबार


काभ्रेपलाञ्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन र स्वीस् संघीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा आयोजित प्राविधिक, व्यावसायिक शिक्षा तथा तालीमसम्बन्धी दुईदिने अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘नेपाल सरकारले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना प्राथमिकतामा राखेको छ, जसबाट ज्ञान–सीपयुक्त जनशक्ति उत्पादन हुन्छ र समृद्धमुलक बनाउन ठूलो मद्दत गर्नेछ ।’ज्ञान–सीपयुक्त युवा जनशक्तिले मात्रै सुदृढ व्यवस्थापन र सुशासन कायम राख्न सक्षम हुने उनले दावी गरे ।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलले विकासशील मुलुकका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाका आवश्यकता रहेकाले सबै स्थानीय तहमा यससम्बन्धी तालीम केन्द्रको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘नेपालजस्तो मध्य आय भएको देशलाई प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता महत्वपूर्ण रहन्छ ।’युवा जनशक्तिका लागि ज्ञान र सीप भविष्य निर्माणको मुख्य कडीका रुपमा रहने उनको धारणा थियो ।

मन्त्री पोखरेलले शिक्षा नेपालीको नैसर्गिक अधिकार भएकाले दीगो विकास लक्ष्यप्राप्तिका लागि प्राविधिक शिक्षाले सीप विकास तथा रोजगारी सिर्जनामा महत्वूर्ण भूमिका खेल्ने बताए । ‘ज्ञान र सीपले क्षमतावान् जनशक्ति उत्पादन गर्छ, सिर्जित रोजगारीबाट आम्दानी वृद्धि हुन्छ र यसपछि जीविकोपार्जनमा सकारात्मक परिवर्तन हुँदै जान्छ’, उनले भने । जारी सम्मेलनले अन्तरराष्ट्रिय प्राविधिक तथा व्यावसायिक शिक्षाको अनुभवबाट नेपालको प्राविधिक शिक्षामा नीतिनिर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरेको मन्त्री पोखरेलले बताए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले विकासको प्रमुख आधार नै प्राविधिक तथा व्यावसायिक शिक्षा रहेको उल्लेख गर्दै भने, ‘नेपाली शिक्षा सामाजमा स्थापित हुनमात्रै भयो, यस कारण हजारौँ युवा विदेशीय, हामीले समृद्ध नेपाल बनाउने जनशक्ति उत्पादन गर्ने शिक्षाको परिकल्पना गर्नुपर्दछ ।’

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भव क्यापेलर ओस्वाल्डले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाले फड्को मार्दै विगत १० वर्षयता शिक्षामा निकै परिवर्तन भएको बताए । ‘नेपालका प्रधामन्त्री केपी शर्मा ओली पनि ज्ञान–सीपयुक्त युवा जनशक्तिद्वारा समृद्ध नेपाल बनाउने अभियानमा लागेका छन्, देश समृद्ध बनाउने यो निकै सकारात्मक पक्ष हो अब हामीले पनि मानसिकता परिवर्तन गर्न जरुरी छ’, उनले भने ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन डा. महेशनाथ पराजुलीले युवा रोजगारीका क्षेत्रमा विद्यमान चुनौती र अवसरबारे प्रकाश पार्न तथा प्राविधिक, व्यावसायिक शिक्षा र तालीमका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय फोरम प्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए।

उनले भने, ‘उत्पादनशील बजार दिनानुदिन बढ्दैछ, गुणस्तरीय शिक्षाले मात्रै अबको श्रमबजार थेग्ने भएकाले अनुभव आदानप्रदान गर्ने थलो बनाइएको हो ।’ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) का सदस्य सचिव पुष्पराज वाग्लेले गुणस्तरीय जनशक्ति उत्पादन नेपालमा चुनौती रहेकाले बजारउन्मुख युवा जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताए ।

तुलनात्मक शिक्षा पद्धति ज्यूरिच स्वीस्का प्रमुख डा उर्सुला रेनोल्डले नेपालको सामाजिक, आर्थिक परिवर्तनमा श्रमबजार अनुकूल जनशक्ति उत्पादन गर्न सुझाव दिए।

सम्मेलन छ महादेशअन्तर्गत देशका प्राविधिक तथा व्यावसायिक शिक्षा विज्ञ, प्राज्ञिक वर्ग तथा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम क्षेत्रका अनुभवी २०० जनाको सहभागिता छ । सम्मेलनमा रोजगारी, आम्दानी तथा कामको गुणस्तरका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमका विषयमा बृहत् छलफल हुने जनाइएको छ ।

सम्मेलनमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्था अध्ययन, नीति निर्माण, योजना तर्जुमा र अभ्यास, संस्था तथा प्रणाली, सुशासन तथा अख्तियारी विभाजन, सिकाइ र शिक्षणलगायतका विषयमा अमेरिकास्थित कोलोराडो करियरवाइज् तथा इन्टरटेकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नोयल गिन्जवर्ग, केयुका पूर्वडीन प्रा टङ्कनाथ शर्मा, तुलनात्मक शिक्षा पद्धति ज्यूरिच स्वीजरल्याण्डका प्रमुख डा. उर्सुला रेनोल्ड र सङ्घीय राज्य माइक्रोनेसियाका शिक्षा विभागका कामु सचिव वाएने मेन्डिओलाले ८२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस