निजामती सेवा दिवसको सार्थकता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती सेवा दिवसको सार्थकता


ललित विक्रम सिंह

२२ भाद्र २०७६, आइतबार


मुलुकभर १६ औ निजामती सेवा दिवस मनाइँदै छ । निजामती सेवाको सबलीकरण र सुदृढीकरणमा यस्ता दिवसहरूले केही सन्देश छाड्ने कुरामा शङ्का छैन । तर शङ्का व्यवहार र प्रवृत्तिमा अवश्य छ । हरेक निजामती सेवामा नवीनतम नारा दिने गरे पनि व्यवहारमा खासै बदलाव देखिँदैन ।

सरसर्ति हेर्दा, निजामती सेवामा काम गरिरहँदा न त निजामती कर्मचारी स्वयं सन्तुष्ट र अभिप्रेरित छन् न त यिनीहरूका सेवाग्राही सर्वसाधारण जनता यिनीहरूले दिइरहेको सेवाप्रति कृतज्ञ तथा खुसी हुन सकेका छन्, न निजामती सेवाको परिचालक राजनीति नै निजामती कर्मचारीहरूको सेवा भाव, समर्पण र पेसागत इमानदारिताप्रति विश्वस्त हुन सकेका छन् । यस्तो अन्ट न सन्टको अवस्थामा निजामती सेवा चलिरहेको छ । यो अवस्था आखिर कहिलेसम्म ?

राज्यको स्रोतसाधनको परिचालन गर्ने, राज्य इच्छाको कार्यान्वयन गर्ने, लोकतन्त्रलाई व्यवहारमा वितरण गर्ने तथा दिनप्रतिदिन जनतासँग सम्पर्कमा रहेर सरकारको जनताप्रतिको दायित्व पूरा गर्ने संयन्त्र निजामती सेवा नै हो ।

विगतमा निजामती सेवालाई राजाको सिँदुरका रूपमा लिइन्थ्यो । राज्यलेसमेत निजामती सेवालाई अत्यधिक महत्त्व दिएको थियो । निजामती सेवालाई उच्च मनोबलयुक्त बनाउन राज्य स्वयं नै संवेदनशील थियो । तर पछिल्लो समयमा खास गरी कर्मचारीको समायोजनका नाममा निजामती सेवामा अतिक्रमण भयो । प्रणालीगत प्रक्रियागत रूपमा कर्मचारीको विश्वास जितेर सहज रूपमा कर्मचारी समायोजन टुङ्ग्याउन सकिन्थ्यो । तर कर्मचारी समायोजनलाई विगतका निरङ्कुश सरकारले बेलाबेलामा कर्मचारीलाई अतंकित बनाउन अपनाउने विभिन्न हतकण्डाकै शैलीमा अध्यादेशको बाटो समातेर असमान रूपमा कर्मचारीको समायोजन गर्‍यो । एकातिर अध्यादेश ल्याएर कर्मचारीलाई आतङ्कित पार्दै कर्मचारी समायोजन गर्ने अर्कोतिर कर्मचारी समायोजनमा निजामती सेवा समूह पिच्छे असमान व्यवहार गर्ने सरकारको रवैयाप्रति थुप्रै कर्मचारी आज असन्तुष्ट र अति दुःखित छन् ।

कर्मचारी समायोजनका नाममा शिक्षा, महिला विकास र स्थानीय सेवाका कर्मचारीहरू उत्पीडनमा परे । समायोजन पश्चात् कार्य सम्पादन मूल्याङ्कन र स्थानीय र प्रदेश तहमा प्रशासनिक नेतृत्व लिने विषयमा समेत पूर्वाग्रही र दुराग्रह व्यवहार सरकारबाट श्रृङ्खलावद्ध रूपमा भइरहेको छ । शिक्षाका सिनियर उपसचिवहरू प्रशासन सेवामा हिजो मात्रै प्रवेश गरेका अधिकृतहरूबाट शासित छन् । ठेगान लगाइएका छन् । यतिले भएन अब सिनियर उपसचिवको कार्य सम्पादन मूल्याङ्कनसमेत जुनियर कर्मचारीबाट गराइँदै छ । यसबाट विगत ६३ वर्ष यता बनेको निजामती सेवाको प्राण र आत्मामाथि घन प्रहार हुँदैछ र सार्वजनिक प्रशासनमा विगत २३६ वर्षमा विश्व समुदायमा विकसित गणतन्त्रलाई प्रक्षेपण गर्ने प्रयास भइरहेको देखिन्छ ।

निजामती सेवालाई विभिन्न सेवा सञ्चालनको मापदण्डका रूपमा समेत लिने गरिन्छ । विभिन्न अन्य सार्वजनिक सेवाका कानुन मात्र नभई गतिविधि, कार्य पद्धति र कार्य संस्कार समेत निजामती सेवाबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा निर्देशित हुने गरेको पाइन्छ । यसरी सार्वजनिक सेवा सञ्चालनको मियोका रूपमा रहेको निजामती सेवाको सञ्चालन, व्यवस्थापन र निर्देशन तथा नियमन सो अनुरूप हुन सकेको छ त ? भन्दा छैन ।

निजामती सेवालाई गर्विलो सेवाको रूपमा विकास गर्नका लागि, राष्ट्रिय एकताको प्रतीकका रूपमा विकास गर्नका लागि, विविधता व्यवस्थापनको एउटा प्रतिनिधि नमुना बनाउनका लागि अर्थात् सेवा प्रवाह र विकास व्यवस्थापनको काबिल संयन्त्र निर्माणका लागि नत हाम्रो राजनीतिक वृत्त दूरदर्शी रूपमा प्रस्तुत हुन सक्यो न त प्रशासनिक नेतृत्वले नै त्यो आँट गर्न सक्यो । बरु निजामती सेवा खराब राजनीतिको दिनानुदिन सिकार बन्न पुग्यो ।

कर्मचारीहरूलाई यो वा त्यो बहानामा र नाममा विभाजित गरियो । कर्मचारीका पेसागत हकहितका लागि स्थापित गरिएका ट्रेड युनियनहरू सामूहिक हित र सौदावाजीमा होइन, वैयक्तिक, गुटगत तथा दलगत स्वार्थमा चरम रूपमा लिप्त भए । एकाध स्वार्थका लागि सामूहिक स्वार्थको र पेसागत हकहितको घाँटी निमोठ्न निजामती कर्मचारीका सङ्घ सङ्गठनहरू नै लागि परिरहे ।

यी यावत कारणले अहिले निजामती सेवा ठुलो बिलखबन्दमा परेको छ, गतिहीन र दिशाहीन अवस्थामा छ । न त यो वेवरीन व्यूरोक्रेसीको तटस्थता, निष्पक्षता, गुणमूलकताको सिद्धान्तमा अघि बढ्न सकेको छ न त यो नयाँ सार्वजनिक व्यवस्थापनको सिद्धान्त अनुसार उद्यमशील रूपमा रूपान्तरित हुन सकेको छ । न त यसले सेवाग्राही माझ आफूलाई सेवकको रूपमा प्रस्तुत गर्न सकेको छ, न त राज्य इच्छाको कार्यान्वयनमा खरो उत्रन सकेको छ ।

उपरोक्त अनुसार वर्षका ३६४ दिन निजामती सेवा स्खलनको यात्रा गरिरहने तर खाली १ दिन निजामती सेवा दिवसको अवसर पारेर निजामती सेवाको विवेचना र समालोचना गर्ने प्रवृत्तिले निजामती सेवालाई सबलीकरण र सुदृढीकरण गर्न सकिँदैन । अहिलेको मूल सवाल भनेकै समृद्ध राष्ट्र निर्माणका लागि निजामती सेवाको सबलीकरण र सुदृढीकरण नै हो । यो विषयलाई अझै पनि गम्भीरतापूर्वक लिन सकिएन भने पशुपतिको जात्रा सिद्राको व्यापार सिवाय अरू केही हुने देखिँदैन ।

निजामती सेवालाई सबलीकरण र सुदृढीकरण गर्न धेरै केही गर्नु पर्दैन । खाली निजामती कर्मचारीहरूमा अत्यावश्कीय क्षमताको विकास र उच्च मनोबल तथा अभिप्रेरणाको विकास गरिदिए पुग्छ । कर्मचारीहरूमा सक्षमताको विकास कसरी गर्न सकिन्छ भन्दा क्षमता विकासका विद्यमान कार्यक्रमहरूलाई निष्पक्ष ढङ्गले कार्यान्वयन गरे पुग्छ । एकै व्यक्तिले पटक पटक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमता विकासका अवसरहरू हडप्ने तर सिकेका कुराहरूलाई सेवाप्रवाहमा प्रयोग नगर्ने र सहकर्मीसँग अनुभव आदानप्रदानसम्म नगर्ने संस्कारको अन्त गरे पुग्छ । यो तथ्याङ्क विश्लेषण गर्दा एकाध जना नेपाल सरकारका कर्मचारीहरूले सक्षमता विकासका प्रायः अवसर दुरप्रयोग गरेको देखिन्छ ।

सक्षमता विकासका अवसरहरू मन्त्री र सचिवका भाइभारदारहरुले मात्र भ्याइ नभ्याई गर्ने तर मोफसलमा जनतालाई सेवा दिन संलग्नरत कर्मचारीहरूले यो अवसर नपाउने अवस्था दुरभाग्यपूर्ण छ । यसको अन्त गरे पुग्छ । कर्मचारीलाई जनतासँगको सेवा प्रवाहमा रमाउने बनाउन कर्मचारीहरूमा मनोबल र अभिप्रेरणाको विकासमा त्यतिकै ध्यान दिनु पर्दछ । कर्मचारीलाई काम गरौँ गरौँ लागेन भने उसले कार्य सम्पादन दक्षतापूर्वक गर्दैन । दक्षतापूर्वक सेवा प्रवाहमा संलग्न नहुने कर्मचारीले प्रवाह गरेको सेवाबाट जनता पनि खुसी हुँदैनन् र राष्ट्र पनि समृद्ध हुन सक्दैन ।

कर्मचारीमा उच्च मनोबल वृद्धिका लागि मास्लोको पदसोपान आवश्यकताको शृङ्खला पूरा गर्ने खालका कार्यक्रम ल्याउनु पर्दछ । कर्मचारीलाई तलब वृद्धिले उसका आवश्यकता पूरा गराउँला तर पूर्ण अभिप्रेरित राख्न सक्दैन । यसका लागि कर्मचारीको सेवा सर्तको सुरक्षा र पूर्व अनुमानीय वृतिपथ आवश्यक पर्दछ ।

निजामती सेवाको व्यवस्थापन र सञ्चालनमा ध्यान दिन नसकिएकै विषय कर्मचारीको वृति विकासलाई पूर्व अनुमानीय बनाउन नसक्नु नै हो । छिमेकी भारतमा सफ्टवेयर प्रयोग गरी कर्मचारीको सरुवा र वृतिपथ व्यवस्थापन गर्न थालिएको दशकौँ भयो । तर हाम्रोमा कर्मचारी समायोजनका क्रममा प्रयोग गरिएको कथित सफ्टवेयर समेत दुराग्रह भावनाले निर्देशित भयो । जसले सबैभन्दा ठुलो सेवा भनिने प्रशासन सेवाका कर्मचारीको लागि रातारात अधिकृत स्तरको नौ सय दरबन्दी केन्द्रमा सिर्जना गरायो र निरीह सेवालाई मात्र समायोजनको बली बनायो ।

साथसाथै कर्मचारी समायोजनका नाममा निजामती कर्मचारीका सेवा सर्तहरूलाई समेत मिचेर धुजा धुजा पार्‍यो । कर्मचारीको गतिशीलता खुम्च्यायो । वृतिविकासको बाटो अवरुद्ध गर्‍यो । यस तरिकाले गरिने कर्मचारी व्यवस्थापनबाट निजामती सेवा उच्च मनोबलयुक्त र उच्च अभिप्रेरित हुन सक्ला ? पटक्कै हेक्का राखिएन । व्यवस्थापनको यस अदूरदर्शिताले नत सेवा प्रवाह प्रभावकारी बन्छ । नत विकास व्यवस्थापन नतिजामूलक हुन्छ । नत परिवर्तन व्यवस्थापन प्रभावकारी बन्छ ।

कर्मचारी समायोजनमा गरिएको बलमिचाइबाट एकाध सेवासमूहहरु अति नै कमजोर र मनोबलहीन भएका छन् । सेवाग्राहीहरू समेतले मूल्याङ्कनमा तत्तत् सेवालाई परिवर्तनले पारेको तहप्रदको संज्ञा दिएका छन् । ती सेवाहरूको सेवाशर्त मिचिएको छ र वृतिपथ मासिएको छ । यसको समीक्षा गरी उचित उपचार खोजिनु पर्दछ ।

यति वेला सङ्घीय निजामती सेवा ऐन निर्माणको अन्तिम चरणमा छ । यस ऐनलाई एकाध सेवा समूह र व्यक्तिको प्रभावबाट मुक्त गरी सन्तुलित रूपमा निर्माण गरिनु पर्दछ । समायोजनका क्रममा भएका त्रुटिहरू सच्चाइनु पर्दछ । सबै सेवा समूहलाई वृत्ति विकासको समान अवसर प्रदान गर्नु पर्दछ । माथिल्लो तहमा पर्याप्त दरबन्दी नभएका सेवा समूहका लागि पर्याप्त दरबन्दी भएका सेवा समूहमा आन्तरिक प्रतिस्पर्धाको माद्यमवाट जान सक्ने गरी ढोका खोलिनु पर्दछ । स्थानीय तह र प्रदेश तहमा समायोजन गरिएका कर्मचारीहरूका लागि अन्तर सेवा प्रतिस्पर्धाको अवसर प्रदान गरिनु पर्दछ । सङ्घीय निजामती सेवा ऐनका हरेक दफा ऋषिमनका साथ निर्माण गरिनु पर्दछ ।

सम्मानित सदन र माननीय ज्युहरूले विगतको जस्तो जुम्सो कर्मचारीतन्त्रलाई स्मार्ट कर्मचारीतन्त्र कसरी बनाउने ? एकाध सेवा समूहको अनुचित प्रभावबाट निजामती सेवा हतप्रद हुने अवस्थाको अन्त कसरी गर्ने ? हरेक कर्मचारीका लागि वृत्ति विकासका उच्च सम्भावनाहरू हिजोको तुलनामा थप बढोत्तरी कसरी गर्ने तर्फ ध्यान दिनु पर्दछ न कि सामाजिक सुरक्षाको वृहत् प्याकेज सरकार एकातिर घोषणा गर्ने अर्कोतिर निजामती कर्मचारीले पाइ आएका सामाजिक सेवा सुरक्षाका अवसर पनि हटाउने अनुचित बहस गर्ने !

सङ्घीय निजामती सेवा ऐनको विवेक पूर्ण निर्माणबाट मात्र निजामती सेवाको रूपान्तरण गर्न सकिनेमा द्विविधा छैन । तब मात्र निजामती सेवा गर्विलो र सन्तुलित सेवाका रूपमा विकास भई सेवा प्रवाह र विकास व्यवस्थापनका गतिविधिहरू जनमैत्री र नतिजामूलक रूपमा सम्पादन हुन सक्दछन् । यसबाट मात्र समृद्ध राष्ट्र र सुखी जनताको नारा सार्थक बनाउन सकिन्छ । अन्यथा नत सिङ्गो राज्यको मिसन पूरा हुन सक्दछ नत निजामती सेवा दिवसको नै कुनै सार्थकता देखिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस