धमला प्रकरण र पितृ सत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धमला प्रकरण र पितृ सत्ता


प्रशासन विशेष ब्युरो

२१ भाद्र २०७६, शनिबार


श्रीमती धमलाले चर्चित पत्रकार श्रीमान् ऋषि धमलाको पाउ पखाल्दै जल पिइरहेको तस्बिर सामाजिक सञ्जालभर छरपस्ट भएको छ । मानिसहरू तस्बिरमा देखिएको दृश्यका आधारमा विचार प्रकट गरिरहेका छन् । यो प्रकरणमा नेपाली समाज विभाजित भएको छ । किनभने आफ्नी माताले पिताको पाउ पखालेको पानी पिएको देख्दै हुर्केका धेरैले यो असजिलो संस्कार त्यागिसकेका छन् ।

पतिको पाउ पखालेर जल पिउने कुरा नितान्त धार्मिक आस्थासँग जोडिएको निजी विषय हुन् । यसमा प्रश्न उठाउने अधिकार कसैलाई छैन । पति र पत्नीबिच आपसी समझदारीमा सम्भव भए जति पिउने पिलाउने काम सार्वजनिक बहसको विषय बन्दैन । तर टिकटकमा आएको धमला प्रकरण भने निजी रहेन । यो सार्वजनिक विषय बन्न पुग्यो । त्यसैले यसमाथि टीकाटिप्पणी भैरहेका छन् । यो लेख कुनै धार्मिक आस्थामाथिको प्रश्न भन्दा पनि पितृसत्ताले आफ्नो अनुकूल स्त्रीलाई शोषण गर्न कसरी तिकदमको प्रयोग गर्छ भन्नेमा केन्द्रित हुने छ ।

सायद यो प्रकरण ३० वर्ष अघि भएको भए यति ठुलो बहसको विषय बन्दैन थियो होला । मानिसहरूले पतिको पाउ पखालेको जल घुटुघुटु पिउनु पत्नी धर्म नै ठान्थे होलान् । यसलाई परम्परादेखि चलिआएको अटुट पतिपत्नी बिचको सद्भावको विधि नै मान्थे होलान् । प्रश्न उठाउने प्रति प्रतिप्रश्नको वर्षा हुन्थे होलान् । किन्तु आज समय निकै बदलिएकोछ ।

आज संस्कृतिका नाममा रहेका कुप्रथा विरुद्धको सामाजिक आन्दोलन तथा लैङ्गिक समानताका लागि आएको आम सामाजिक चेतका कारण समाजको आधा हिस्साले यो प्रकरणमाथि प्रश्न उठाउने हिम्मत गरेकोछ । नेपालको संविधानले शोषण विरुद्धको हकलाई मौलिक हकको रूपमा स्थापित गरेपछि झन् कुरीतिमाथि प्रश्न उठाउने हजारौँ औँलाहरू उठेका छन् ।

पढे लेखेका र संसार देखेका विद्वत वर्ग तथा लैङ्गिक समानताको आन्दोलनमा अगुवाइ गर्दै हिँड्ने पुरुष वा स्त्री नै किन नहोउन् यसलाई संस्कृति र परम्पराकै नाममा बचाउ गरेको देखिन्छ । यो अनौठो कुरो पनि होइन । किनभने हामी पुरुष भगवान् अनि पुरुष देउताहरूको महिमा सुन्दै हुर्केको पुस्ता हो । हामी पुरुष भगवानहरुको अविश्वसनीय र चमत्कारिक क्षमताको मिथक लेखिएको साहित्य पढ्दै, सुन्दै र अभ्यास गर्दै सामाजिकीकरण भएको मानव हो । हाम्रो व्यक्तित्व त्यही सफ्टवेयरबाट प्रोग्रामिङ भएको छ । त्यसैले हाम्रो समाजले पुरुषलाई भगवानको रूप मानेको छ । पुरुषको पूजा गर्नु भगवानको पूजा गर्नु हो ।

धार्मिक आस्थाले मानिसका बिचारहरूलाई एउटा सीमाभित्र राख्दछ । मानिसलाई अन्धो बनाइराख्छ । उसलाई तर्क गर्ने हक दिँदैन । उसले उठाएका सवालहरू भगवान् र देउताका नामसँगै पूर्णविराम लाग्छन् । यही हतियारको उपयोग गरी पितृसत्ताले धर्म, परम्परा तथा रिवाजको नाममा स्त्रीहरूलाई दमन गर्ने थुप्रै उपायहरू रचना गरेको छ । स्त्रीहरूलाई बेकुफ बनाउन समाजमा यस्ता थुप्रै उपरिसंरचनाहरु खडा गरिएका छन् । ती बडो स्वाभाविक लाग्छन् । अनि त्यस विरुद्ध तर्क गर्ने हिम्मत कसैले गर्दैनन् । यसको एउटा दृष्टान्त धमला प्रकरण पनि हो ।

श्रीमती धमलाले श्रीमान् धमलाको पाउ पखालेको जल पिएर श्रीमान् धमलाको सुस्वास्थ्य र दिर्घजीवनको लाभ भयो कि भएन, यसको जवाफ कसैले खोज्दैन किनकि यो शास्त्रीय मान्यता हो । यो अनुसन्धानको रिजल्ट होइन । जसले पहिलो नम्बरमा समस्त स्त्रीलाई बेकुफ बनाउन सक्छ ।

आजभोलि सुधारिएको दोस्रो तर्क हुन थालेको छ । पत्नीले पतिको पाउ पखालेको पानी पिउँदा पतिपत्नीबिचको प्रेम, सद्भाव र सम्बन्ध बलियो हुन्छ । केही वर्ष पहिले मलाई नेपालगन्जमा लैङ्गिक समानता विषयको तालिममा सहभागी हुने अवसर मिल्यो । तालिम चलिरहँदा नेपालकै प्रतिष्ठित लैङ्गिक समानता अभियानका महिला अगुवा तथा कान्तिपुरका क्लोमनिष्टसँग यही विषयमा चर्को बहस भएको थियो । उनले आफूले तीजको दिन पतिको निमित्त व्रत बस्ने गरेको र पतिको पाउ पखालेर जल पिउने गरेको बताइन् । हामीले उठाएको सवालमा उनले पतिपत्नीबिचको प्रेम र सद्भाव बढ्ने तर्क गरिन् । हामी उनको तर्कले कन्भिन्स भएनौँ नत हामीले यो त हाइपोथेसिस हो अध्ययनको नतिजा होइन भनेर उनलाई कन्भिन्स नै गर्न सक्यौँ । हामीले यो नितान्त निजी विषय भएको भनेर बहस टुङ्ग्यायौँ ।

सुधारिएको तर्क स्त्रीहरूलाई बकूफ बनाउने पितृसत्ताको दोस्रो कैफियत हो । जसरी पनि स्त्रीलाई पुरुषको पाउ धोएको पानी पिलाउने गजबको इमोसनल ब्ल्याकमेलिङ । अनि स्त्रीलाई पतिप्रति भक्ति भाव देखाउने सुनौलो अवसर ।

भावुकताले भरिपूर्ण स्त्रीहरू पतिलाई असाध्यै खुसी दिने विधि यसैलाई ठान्छन् अनि बदलामा मुरी मुरी पतिप्रेम पाउने भ्रममा भुल्छन् । पत्नीले आफ्नो पाउ पखालेको पानी पिएको देख्दा पतिहरूको दिलमा पत्नीप्रतिको प्रेमको परिमाण बढ्छ भन्ने तर्क पनि अध्ययनको नतिजा होइन । यो शास्त्रीय मान्यतामा आएको स्खलनलाई बचाउन रचिएको तर्क मात्र हो ।

के पुरुषको पाउ पखालेको पानी पिउनु भनेको सम्पूर्ण स्त्री जाति पुरुषको पाउ पखालेको पानी पिउन लायकको प्राणी हो भन्ने तर्क गर्न सकिँदैन ? यो तर्कमा पनि दम छ नि हैन र ? यदि स्त्री र पुरुषलाई फरक फरक वर्गका रूपमा मार्क्सवादी दृष्टिकोणले हेर्ने हो भने यो स्त्रीशोषणको पराकाष्ठा होइन र ? यसले लैङ्गिक समानताको आवाजको धज्जी उदाएको छैन ? यो धर्मको नाममा धर्मको बदनाम तथा २१औँ शताब्दीको आधुनिक सामाजिक चेतमा पुरुषहरूको अपमान होइन ? नयाँ पुस्तालाई यसले कस्तो सन्देश दिन खोजेको ? आजको युगमा यसलाई बजारीकरण गर्नु कति उपयुक्त छ ?

मानवताका दृष्टिले हेर्ने हो भने यो स्त्रीप्रति पुरुषले अपेक्षा गर्ने निर्मम व्यवहार हो । यो अमानवीय छ । मान्छेको पाउ सबैभन्दा सङ्क्रमणयुक्त अङ्ग हो जसले शरीर थेग्न धर्तीमा टेक्छ । त्यही सङ्क्रमित अंगको मैलो पानी स्त्रीलाई पिलाउने परम्परा आजको युगमा समस्त पुरुषहरूका लागि लज्जाको विषय होइन र ? यस्तो कुरीतिलाई नेपालको संविधानले मौलिक हकहरूको व्यवस्था गरी निषेध गरेको छ ।

सामाजिक सत्ता पुरुषहरूको हातमा छ । परिवारको मुखिया हुने हक स्त्रीलाई छैन । यदि स्त्री मुखिया हुने अवस्था आइहाले पनि नायवी मात्र हुन्छे । वैवाहिक सम्बन्धले करारको स्थिति पैदा गर्छ । जो शक्तिको श्रोत हो । त्यो शक्तिको हकवाला स्वतः पुरुष हुन्छ । पिता, पति र छोरामा स्वतः स्थापित शक्ति हासिल गर्न स्त्रीहरू कहिल्यै प्रयास गर्दैनन् किनकि त्यो समाज व्यवस्थाको खिलाफ हो । त्यसैले शक्तिकेन्द्रको नजिक हुन आमा, छोरी, बुहारी, नन्द, आमाजूहरूबिच सङ्घर्ष हुन्छ । त्यसैलाई पितृसत्तात्मक समाजले स्त्री जातिको कमजोरी ठान्दछ । टुटफुटमा रहेका स्त्रीहरूबाट पुरुषहरू आफू पुजिनका निमित्त धर्म संस्कृतिको आडमा मिथक बनाउँछन् । मिथक संस्कारमा रूपान्तरण हुन्छ अनि त्यसलाई आदर्श नारीको मानक बनाइदिन्छन् । हिन्दु संस्कृतिमा पतिको पाउ पखालेको जलको सेवन गर्ने सदियौँ पुरानो शैवपन्थ विवाहित स्त्रीहरूको उपबासको समाप्तिको विधि यसैको उपज हो ।

पितृसत्तात्मक रक्षार्थ स्त्रीहरूलाई दमन गर्ने तथा नीच बनाई राख्ने संस्कार हिन्दु संस्कृतिमा मात्र होइन अन्य धर्म र संस्कृतिमा पनि छन् । सुदूरपश्चिममा रहेको देउकी र छाउपडी प्रथा तथा नेपालको उत्तरीभेगमा बसोबास गर्ने बौद्ध समुदायमा रहेको झुमा प्रथा पनि पितृसत्तात्मकै रचना हुन् । स्त्रीलाई दायित्वको रूपमा अर्थ्याउँदा दायित्व हस्तान्तरण गर्ने क्रममा दाइजो बार्गेनिङ टुलको रूपमा समाजमा स्थापित भयो । यो तराईमा आज संस्कार मात्र रहेन बरु घरेलु हिंसाको मुख्य कारक बन्न पुगेको छ । मगर समुदायमा प्रचलित सिर्तू पुरुषको भागमा टाउको र स्त्रीको भागमा पुच्छरको हिस्सा बनाउने रीति पनि पितृसत्ताकै करामत हो । टाउको उपल्लो र पुच्छरले तल्लो हैसियतकै सङ्केत गर्दछ । अरू जातजातिका संस्कारहरूमा पनि यस्ता थुप्रै विभेद पूर्ण व्यवहारहरू पाउन सकिन्छ । मानव अधिकार तथा लैङ्गिक समानता एवं आधुनिक सामाजिक चेतनाको वृद्धिसँगै ती विभेदको गन्ध आउने कुरीतिहरूलाई हटाउँदै लैजाने कार्य आजको आवश्यकता हो ।

अर्कोतिर पितृसत्तात्मक पारिवारिक संरचना हुँदा हुँदै पनि थुप्रै पुरुषहरू पत्नी शोषित नभएका होइनन् । यस्ता थुप्रै उदाहरण हामी माझ छन् । पितृसत्ताले तिनलाई दबाएर राखेको छ । पुरुष दम्भले स्त्रीलाई मात्र होइन पुरुषलाई पनि शोषित पारेको छ ।

नेपालको संविधानको धारा ५१ मा राज्यका नीतिहरूको व्यवस्था अन्तर्गत समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त गर्ने सामाजिक सांस्कृतिक रूपान्तरणको नीति सम्बन्धी व्यवस्था गरिएको छ ।

वैवाहिक सम्बन्ध पश्चात् शक्ति सन्तुलनका क्रममा पतिपत्नीले परिवारमा आफ्नो पोजिशन आफै निर्धारण गर्छन् । तर धर्म, परम्परा, संस्कृति र रीतिरिवाजका नाममा पुरुष उच र स्त्री नीच हुने सामाजिक व्यवहार संविधानको भावना विपरीत हुनेछ ।

अबको हाम्रो अपेक्षित समाज लैङ्गिक समानतामा आधारित हो । नारी पुरुष एक रथका दुई पाङ्ग्रा भन्ने भनाइलाई यथार्थमा परिणत गरी लैङ्गिक समानतामूलक समाजको निर्माण गर्न समाजका रोल मोडेलहरूले परम्परादेखि रही आएका कुरीतिलाई त्याग्न साहस गर्नु पर्छ । धमलाहरू कुरीतिका संरक्षक होइन, समाज रूपान्तरणको संवाहक बन्नुपर्छ । आम सञ्चार क्षेत्रका आइकन धमलाहरूको व्यवहारले समाजलाई डोर्‍याइरहेको हुन्छ । समाज रूपान्तरणको सामाजिक दायित्व उनीहरूको पनि हो ।

घर्तीमगर हिरोशीमा युनिभर्सिटी हिरोशीमा, जापानमा विकास नीति अध्ययनरत छन् 

प्रतिक्रिया दिनुहोस