चिनियाँ नागरिकबाट नेपालमा भइरहेको अपराध शृङ्खला डरलाग्दो–पूर्वसचिव त्रिताल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिनियाँ नागरिकबाट नेपालमा भइरहेको अपराध शृङ्खला डरलाग्दो–पूर्वसचिव त्रिताल


प्रशासन विशेष ब्युरो

१६ भाद्र २०७६, सोमबार


काठमाडौँ । सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले चीन जस्तो सुरक्षामा कठोर पद्धति भएको देशका नागरिकबाट नेपालमा अनेक खराबी कामहरू हुनु गम्भीर विषय भएका बताएका छन् ।

नेपालमा घटेका पछिल्ला केही ठुला अपराधका श्रृंखलाहरुको उदाहरण दिँदै ती घटनाहरूमा देखिएको चिनियाँ नागरिकहरूको संलग्नता डरलाग्दो भएको पूर्वसचिव त्रितालको भनाई छ ।

‘चीनको सीमा भएर ठुलो मात्रामा सुन तस्करी हुनु, नेपाली चेलीहरूलाई नक्कली बिहे गरी लैजानु र उनीहरूलाई गलत काममा प्रयोग हुन बाध्य गराउनु, आयोजनामा काम गर्न आउने कतिपय कामदारहरू विभिन्न आपराधिक कार्यमा संलग्न हुनु तथा बैङ्कहरूबाट उच्च स्तरको प्रविधि प्रयोग गरी ठुलो मात्रामा नगद झिक्नु डर लाग्दा उदाहरणहरू हुन्’ पूर्वसचिव त्रितालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले नेपालमा घटिरहेको यस्ता घटनाहरूबारे प्रश्न गर्नुपर्ने भएकोसमेत बताएका छन् । ‘अव प्रश्न गर्नु पर्ने भएको छ’ त्रितालले भनेका छन् ‘के चीनको सरकारी संयन्त्रले थाहा नपाएरै यस्ता घटनाहरू भइरहेका हुन् त ?’

‘गलत तरिकाले ठुलो मात्राको नगद चिनिया सीमाबाट वा बैङ्किङ पद्धतिबाटै किन नहोस् चीन भित्रन सक्नुको रहस्यबारे सूक्ष्म रूपले अनुसन्धान हुनु आवश्यक’ भैसकेको उनको भनाई छ ।

दुई दिन अघि एटिएमबाट अनधिकृत रूपमा करोडौँ रुपैयाँ निकाल्ने चिनियाँ गिरोहको पक्राउसँगै ठुला घटनाहरूमा चिनियाँहरूको संलग्नता रहँदै आएको विषय यति बेला चर्चामा छ ।

यसबारे सम्बन्धित निकायबाट कूटनीतिक र अन्य प्रयास पनि हुनु अति नै आवश्यक देखिएकोसमेत पूर्वसचिव त्रितालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस