ज्योतिष बाजेका वैज्ञानिक नाति : ‘नेपालमा ठुला उपकरण जडान गर्ने सपना छ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ज्योतिष बाजेका वैज्ञानिक नाति : ‘नेपालमा ठुला उपकरण जडान गर्ने सपना छ’


प्रशासन विशेष ब्युरो

१५ भाद्र २०७६, आइतबार


दृढ इच्छाशक्तिले मानिसलाई त्यहाँ पुर्‍याउँछ, जहाँ उसले पुग्न चाहन्छ, यसैका उदाहरण हुन् खगोलशास्त्री डा. गोपाल भट्ट । ज्योतिष परिवारमा जन्मेका भट्ट प्रख्यात खगोलशास्त्री बने । सुदूर पश्चिमको पहाडी जिल्ला डोटीको सिलगाउँमा जन्मेका भट्टलाई न भूगोलले छेक्यो र पहुँच तथा पारिवारिक वातावरण नै तगारो बन्यो । बरु परम्परागत मानिने ज्योतिष विद्या नै आधुनिक युगको उत्कृष्ट विधा वैज्ञानिक बन्न सहायक सिद्ध बन्यो । ज्योतिष विद्याबाट हेरिने ब्रमाण्ड, भूगोल, नक्षत्र तथा ताराहरूबारे अत्याधुनिक उपकरणले नयाँ नयाँ तथ्य पत्ता लगाउन तल्लीन छन् खगोलशास्त्री भट्ट ।

६ वर्षदेखि पोल्याण्डको यागेलोलियन युनिभर्सिटीमा खगोलशास्त्र विभागमा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा कार्यरत भट्टका ब्रम्हण्ड, ग्यालेक्सी, सुपर म्यासिभ ब्ल्याकहोल सम्बन्धी दर्जनौँ खोज कार्यहरू अमेरिकाबाट प्रकाशित हुने प्रसिद्ध द एष्ट्रोलोकिल जस्ता अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भइसकेका छन् । पोल्याण्डमा आधार बनाई युरोपमा कमाएको ख्यातिलाई नेपालसम्म कसरी फैलाउन सकिन्छ भनेर नेपालमा ठूल वैज्ञानिक उपकरण जडानबारे प्रारम्भिक अध्ययनका लागि आएका डा. भट्टसँग प्रशासन डटकममा विशेष प्रतिनिधि एस राज उपाध्यायले गरेको कुराकानी ।

विकट सुदूर पश्चिमी नेपाल हुँदै युरोपकै प्रसिद्ध यागेलोलिएन युनिभर्सिटीमा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा कार्य गर्दै गर्दा खगोलशास्त्रमा नेपालको अवस्थिति कहाँनेर रहेछ ?
खगोलशास्त्रले मुख्यरुपमा ब्रह्माण्डको बारेमा अध्ययन गर्छ । जस्तो ग्रह, तारा, सौर्य मण्डल, ग्यालेक्सीहरू, ब्लाकहोललगायत अन्य दृश्य र अदृश्य खगोलीय पिण्डहरूको विषयमा अध्ययन गर्दछ । ब्रम्हाण्डको उत्पत्ति कसरी भयो ? जुन यो फैलिँदोक्रममा छ यसको क्रम विकास कसरी हुन गयो ? यसको अन्त्य कसरी हुन्छ ? अर्थात् आगामी दिनमा कति समयमा कहाँ के हुन्छ भन्ने विषय नै खगोलशास्त्रको अध्ययनका विषय बनेका छन् ।

जहाँसम्म नेपालको सन्दर्भ छ त्रिभुवन विश्व विद्यालयमा खगोलशास्त्रको अध्ययन हुँदै आएको छ । र, प्राध्यापक डा. उदयराज खनाल जो विश्व प्रसिद्ध वैज्ञानिक भित्र पर्नुहुन्छ । वहाँले पनि ब्ल्याक होलहरुको विषयमा अध्ययन गरिरहनु भएको छ । त्यसबाहेक अरू प्रोफेसरहरूले पनि ग्यालेक्सीहरूको विषयमा अध्ययन गरिरहनु भएको छ । तर खगोलशास्त्र नेपाली आम समाजमा त्यति परिचित हुन सकेको छैन । यसको कारण के हुन सक्छ भने त्यसलाई कसरी मूलधारमा स्थापित गर्ने र आम सर्वसाधारण नागरिकसम्म पु¥याउने भन्ने कुराको कमी भएको देख्छु मैले ।

यहाँले यति बेला खोज गरिरहनु भएको विषय के हो ?
मैले अहिले खोज गरिरहेको मुख्य विषय ग्यालेक्सी र ब्ल्याकहोल हो । ब्ल्याकहोल पनि मुख्यतः दुई प्रकारका हुन्छन् । एउटा स्टेलर ब्ल्याकहोल अर्थात् सूर्यभन्दा चार-पाँच गुणा ठुलो छ र अर्को चाहिँ सुपरम्यासीभ ब्ल्याक होल जो सूर्यभन्दा अरबौँ गुणा ठुलो छ । अरबौँ सूर्यलाई सघनरुपमा एउटैमा राख्दा जुन आकार बन्छ, त्यस्तो प्रकारको ब्ल्याकहोलको बारेमा मैले अध्ययन गरिरहेको छु । यसक्रममा मैले नासा र युरोपियन स्पेस एजेन्सीका उपकरणहरूको प्रयोग गरेर त्यहाँका वैज्ञानिकहरू सँगसँगै धेरै टाढा टाढाका ग्यालेक्सीहरूको अध्ययन गरिरहेको छु ।

कति जना खगोलशास्त्रीहरूको टिमले यो काम गरिरहेको छ ?
खगोलशास्त्रको पहिलाको र अहिलेको पढाइमा धेरै फरक छ । पहिला पहिला चर्चित विश्व विद्यालयहरूले आफ्नै टेलिस्कोपबाट स-सानो टिममा काम गर्ने गर्दथे भने अहिलेको समयमा धेरै फरक छ । अहिले सबै जना मिलेर हजारौँको सङ्ख्यामा पृथ्वीमा उपग्रहहरू राखेका छन् । त्यसमा ठूल ठुला टेलिस्कोपहरू जडान गरिएका छन् । र, त्यो एक-दुई जनाले मात्रै अध्ययन गरेर साध्य हुने विषय अव रहेन । त्यति मात्रै होइन, एउटा दुइटा विश्वविद्यालयले गरेर पनि साध्य हुने नभएपछि संसारभरीका खगोलशास्त्रीहरू मिलेर काम भइरहेको छ । सङ्ख्याकै कुरा गर्ने हो भने पनि करिब सय जना जति खगोलशास्त्री हाम्रो टिममा आबद्ध छौँ । र, तिनमा कयौँ कामका लागि अन्तर्राष्ट्रिय स्तरको नेतृत्व मैले गर्ने अवसर पाएको छु ।

विश्वका वैज्ञानिकहरुको नेतृत्व गर्न पाउनु नेपालकै लागि गौरवको कुरा हो, डा सा’प यहाँले नेतृत्व गरेको टिमले केही नयाँ तथ्य पनि पत्ता लगाएको छ कि ?
मैले नेतृत्व गरेको टिमले गरेको काम दुई पटक अन्तर्राष्ट्रिय स्तरमा नै समाचार बनेको थियो । जसमध्ये एउटा महत्त्वपूर्ण कुरा एकदमै टाढा टाढाको ग्यालेक्सीहरूमा जुन सुपरम्यासीभ ब्ल्याकहोलहरु हुन्छन्, ती सुपरम्यासीभ ब्ल्याकहोल एउटा नभएर दुइटा हुन्छन् । दुइटाले एकले अर्कोलाई परिक्रमा गरिरहेको अवस्थाको सङ्केत हामीले भेटायौँ । त्यो किन पनि महत्त्वपूर्ण छ भने यसको सम्बन्ध ग्य्राभेटिसनल वेब अर्थात् गुरुत्वाकर्षण तरङ्गसँग हुन्छ । जुन आजभन्दा सयौँ वर्ष पहिले प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले अनुमान गरेका थिए । र, यो कुरालाई खोजी गर्न हामीलाई करिब सय वर्ष लाग्यो ।

दुई तीन महिना अगाडी मात्रै इभेन्ट होराइजन नामक ठुलो टिमले यस्ता ब्ल्याकहोलहरुका तस्बिरहरू पनि खिचेको छ,जुन विश्व प्रसिद्ध सञ्चारमाध्यमबाट पनि सार्वजनिक भई सकेका छन् ।

तपाईँको टिम यति बेला विशेष गरी के विषयमा केन्द्रित छ ?
अहिले मुख्यतः सुपरम्यासीभ ब्ल्याकहोलकै विषयमा केन्द्रित छौँ । यिनीहरू किन पनि रहस्यात्मक हुन्छन् भन्ने जस्तो ताराहरूको एउटा जीवनचक्र हुन्छ । ताराहरू पनि जन्मिन्छन् । योग हुन्छन् । बुढा हुन्छन् । मृत्यु अर्थात् विस्फोट हुन्छ र अन्त्यमा कुनै कुनै ताराहरू ब्ल्याकहोल बन्दछन् त्यो एउटा प्रकारको ब्ल्याकहोल हो । अर्को किसिमका ब्ल्याकहोलहरु प्राचीन युनिभर्समा मात्र भेटिन्छन् । यदि तपाईँले राति आकाश हेर्नुहुन्छ भने त्यो आकाश अहिलेको आकाश हुँदैन करिब दश हजार वर्ष पुरानो आकाश हुन्छ । भन्नुको अर्थ, हामीले जति टाढा हेर्यौं त्यो आजभन्दा लाखौँ-करोडौँ वर्ष पुरानो हेरिरहेका हुन्छौँ । त्यस कारण हामीले अध्ययन गर्ने चिजहरू धेरै पर छन् । त्यसको मतलब प्राचीन ब्रम्हाण्डमा यस्ता सुपरम्यासीभहरुको निर्माण कसरी हुन पुग्यो ? भन्ने कुरा खगोलशास्त्रमा निकै नै रहस्यमय विषय हो । यसमा सफलता पाउन सकेमा त्यो नयाँ उपलब्धि हुनेछ ।

रहस्यमयी कुराहरू पत्ता लगाउने यहाँको निरन्तरको प्रयासबाट केहि नयाँ तथ्यहरू पनि फेला पार्नु भएको छ कि ?
हामीले त्यस्ता केही आधारहरू फेला पारेका छौँ । केही सिद्धान्त प्रतिपादन भएका पनि छन् । जब ब्रम्हाण्ड जवान थियो, त्यतिखेर कसरी एकचोटी ठुलो मात्रामा पिण्डहरू जम्मा भएर सुपरम्यासिभ ब्यालहोल बन्न गयो भन्ने विषयमा केही आधारहरू त छन् तर जबसम्म ती सिद्धान्त प्रमाणित हुँदैन अर्थात् एक्सपेरिमेन्टल भेरिफिकेशन गरिँदैन तबसम्म पूर्ण मान्न सकिँदैन । तिनीहरू एक्सपेरिमेन्टल, अब्जरभेशन र भेरिफिकेशन हुने क्रममा छन् । ती केही आधारहरू हामीहरूको ग्रुपले पनि सिद्ध गरेका छन् । विभिन्न अत्याधुनिक टेलिस्कोपहरूबाट अध्ययन भई रहेको छ । अप्टिकल र रेडियो टेलिस्कोप तथा विशाल डिस एन्टिनाहरु राखेर त्यसको अध्ययन भइरहेको छ । र, केही त्यस्ता सङ्केतहरू त मिलेका छन् । तर ठ्याक्कै यस्तै हो भन्ने अवस्था छैन ।

तपाईँहरूको जुन टिम छ, यो निरन्तर खोजकै क्रममा हो कि केही विशेष कुरा पत्ता लगाएर त्यसको पुष्ट्याइमा काम गर्दै हो ?
यो निकै महत्त्वपूर्ण प्रश्न हो । ब्रह्माण्डमा रहेका सबै चिजहरूको हामीले अध्ययन गर्दै जाँदा के देखिन आउँछ भने एउटा चिज अर्को चिजसँग जोडिएको हुन्छ । अर्को चिज अर्को चिज सँग जोडिएको हुन्छ । एउटा प्रश्नको उत्तर खोज्दा खेरी त्यो प्रश्नको उत्तर अर्को चिजको प्रश्नसँग जोडिएको हुन्छ । समग्रमा भन्दा सबै कुरा एक अर्कासँग जोडिएका हुन्छन् ।

हामीले अध्ययन गरिरहेको सुपरम्यासीभ ब्ल्याकहोल पनि ब्रम्हण्डसँग सम्बन्धित छ । अरबौँ वर्ष पहिले उत्पत्ति भएको ब्रह्माण्डले कस्तो रूप लिँदै गयो भन्ने कुरासँग प्रत्यक्ष सम्बन्ध राख्छ ।

हामीले खोज गरिरहेको विषय एक तर्फबाट हेर्दा एउटा सीमित प्रश्नको उत्तर दिन खोजिएको जस्तो देखिन सक्छ । तर, यसको वृहत् स्वरूप र भूमिका ब्रह्माण्डको विकास क्रममा पदार्थहरू कसरी विकसित हुन पुगे भन्ने कुरासँग जोडिएको छ ।

थोरै प्रसङ्ग बदलौँ । जो आम नेपालीको रोजाई र सहज उपलब्धताको विषय अझै बन्न सकेको छैन, तपाईँ सुदूर पश्चिमको डोटी जिल्लाबाट कसरी यो स्थानसम्म आई पुग्नुभयो ?
एउटा मान्छेले जब कुनै इच्छा अथवा अठोट राख्दछ भने निश्चय नै उसैले मात्र त्यो पुरा गर्छ भन्न गारो छ । मैले लिएको सोचलाई पुरा गर्न ऊर्जा दिने व्यक्तिहरूको महत्त्वपूर्ण योगदान छ । मेरो पारिवारिक विषयमा भन्नुपर्दा विकट सुदूरपश्चिमको डोटी जिल्लामा पण्डित परिवारमा जन्मेको जन्मेको व्यक्ति हुँ म । बाजे संस्कृतको विद्वान अनि ज्योतिषी हुनुहुन्थ्यो । हाम्रो घरमा खप्तड स्वामी प्रपन्नाचार्य, योगी नरहरिनाथ जस्ता गुरुहरू आइरहनु हुन्थ्यो । यस क्रममा वहाँहरूले गर्नुहुने जीवन जगत् कुरा र हजुर बुवा आफै ज्योतिषी भएको हुनाले तारा, ग्रह, नक्षत्रहरूको बारेमा भई रहने चर्चाले मेरो वाल मस्तिष्कमा गहिरो छाप बसेको थियो । र, मलाइ पनि आकाश, ब्रह्माण्ड तथा विश्व कसरी उत्पत्ति हुन गयो भन्ने विषयमा जिज्ञासा बढ्दै गयो । मैले यसलाई पछ्याउँदै जाने क्रममा गणित विषय एकदमै सहायक हुन्छ भनेपछि अप्सनल म्याथ पढ्नको लागि मात्रै डोटी छोडेर काठमाडौँको रत्नराज्यमा आएँ ।

स्कुलमा राम्रै गरेँ । पछि त्रिभुवन विश्वविद्यालयमा पढ्दा प्रसिद्ध वैज्ञानिक ब्रह्माण्डशास्त्री प्रोफेसर उदयराज खनाल, जो मेरो गुरु हुनुहुन्थ्यो, उहाँसँग भेट भयो । वहाँसँग ब्ल्याकहोलका विषयमा शोध गर्ने मौका पाएँ । त्यो मेरो लागि निकै सुखद र निकै प्रेरणादायी पक्ष रह्यो । त्यसपछि मैले अमेरिकाको फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी विश्वविद्यालयमा खगोल शास्त्र, भौतिक शास्त्र र ब्रह्माण्डशास्त्रको विषयमा अध्ययनका लागि स्कलरसिप प्राप्त गरेँ । त्यहाँबाट विद्यावारिधि गरिसकेपछि मलाई युरोपको धेरै पुरानो करिब सात सय वर्ष पुरानो यागेलोलिएन युनिभर्सिटी जुन युनिभर्सिटीमा कोपननिकसले पढेका थिए । कोपननिकस भनेका ती व्यक्ति हुन् जसले पहिलो पटक सौर्यमण्डलको केन्द्रमा सूर्य छ, पृथ्वी होइन भनेर प्रतिपादन गरेका थिए । त्यो युनिभर्सिटीले मलाई युरोपियन वैज्ञानिकहरूसँग मिलेर काम गर्नको लागि बोलायो । र अहिले अनुसन्धानकर्ताको रूपमा कार्यरत छु ।

यी सबै चीजहरूको पछाडि मेरो आफ्नो इच्छा शक्ति त छ नै, साथसाथै मेरा सहयोगी दाइभाइहरु, हजुरबुवा र गुरुहरूको निकै योगदान रह्यो । र, यो यात्रा त्यति सजिलै पनि पार भएन । समयक्रमसँगै मैले पनि थुप्रै उकाली ओराली गरेँ तर मैले सबै परिस्थितिमा आफ्नो इच्छाशक्तिलाई दृढ राखेँ ।

अबको यहाँको सपना के छ ?
यो ज्ञान विज्ञानको खोज र प्रश्नहरूको लामो श्रृङ्खला रहन्छ जीवनभर सबैलाई । एउटा उपलब्धि हात लाग्छ, फेरी अर्को खोज सुरु हुन्छ यो एउटा निरन्तर प्रक्रिया हो जुन जीवनभर कहिल्यै पनि टुंगिदैन । मैले आफूले खोजेका केही प्रश्नहरूको उत्तरहरू त पाए तर फेरी त्यो भन्दा पनि विशाल प्रश्न अझै छन् ।

र अर्को महत्त्वपूर्ण कुरा के हो भने आफू एकजनाले गरेको कुरा मात्रै महत्त्वपूर्ण होइन, ज्ञान विज्ञानमा सामूहिक कार्यले अझ बढी अर्थ राख्दछ । मेरा आफ्नो ज्ञान विज्ञानको खोजहरू त निरन्तर छ । तर अहिले आएर मलाई के लाग्दै छ भने म जस्तै अरू नेपालीहरू भाइबहिनीहरू जो दूर दराज बस्नुहुन्छ वहाँहरूलाई मैले कुनै किसिमबाट उत्प्रेरित गर्न सकेँ र खोजमूलक कार्य गर्ने इच्छा सपनाहरू छ भने तपाईँले गरेर देखाउन सक्नुहुन्छ भनेर प्रेरित गर्न सकेँ भने त्यसमा आफूलाई ठुलो उपलब्धि ठान्नेछु । एउटा बत्तीले हजारौँ नबलेका बत्तीहरू बाल्न सक्यो भने न ज्ञानको ज्योति फैलिने हो । अहिले मलाई बोध भएको कुरा के हो भने एउटा होइन, समूहगत रूपमा विज्ञानको चेतना हुनुपर्छ । नयाँ युवाहरूलाई हामीले उत्प्रेरित गर्नुपर्छ भन्ने अनुभूति मलाई भएको छ ।

ज्योतिष हजुर बुवाको वैज्ञानिक नाति, हिजोको ज्योतिष र आजको विज्ञानबिच यहाँले भेटाउनु भएको अन्तर के हो ?
विज्ञान र ज्योतिष एकदमै एक अर्कासँग जोडिएका पनि छन् । कुनै कालान्तरमा खगोलशास्त्र र ज्योतिषशास्त्र करिब करिब उस्तै उस्तै विषय पनि रहन पुगेका थिए । किनभने ज्योतिषशास्त्रले पनि ग्रहहरूको स्थान, ग्रहणलगायत कुराहरू पश्चिमाहरूको भर नपरिकन आफ्नै पात्रो अनुसार मिलाउँदै आएका छन् । तर ज्योतिषशास्त्रको त्यस्तो केही समूहहरूले यसलाई अलिकति भ्रामक बनाएर फल विफलसँग जोडेका छन् । यो यो अवस्थामा राहु केतु आयो भने पीडा हुन्छ । शनिको पूजा गर्‍यो भने शान्ति हुन्छ भन्ने फलको पाटो सत्य होइन, यो अन्धविश्वास हो । त्यसबाहेक ज्योतिषशास्त्र जुन हाम्रो हिन्दु परम्पराको अभिन्न अङ्गका रूपमा रहेको छ त्यसले पश्चिमाहरूले ठुलठुला उपकरणहरू राखेर क्याल्कुलेशन गरेर ग्रहणलगायत ग्रहरुको पोजिसन ठ्याक्कै निकाल्छन् । त्यस कारण हामीले जे जसरी निकाल्दै आएका छौँ ज्योतिष ठिकै जस्तो लाग्छ । खगोलशास्त्र र ज्योतिष करिब करिब एउटै हो जस्तो लाग्छ ।

यहाँले भनेजस्तै यदि ग्रहहरूको फललाई छोडिदिने हो भने ज्योतिषीहरूले बाँकी के का लागि यो काम गर्ने भन्ने कुरा पनि त आउला नि त !
सुरुवाती दिनमा जाने हो भने त समयकै लागि ताराहरू प्रयोग भएको देखिन्छ । मैले थाहा पाए अनुसार जस्तोः गाउँघरमा बिहान बिहानै पँधेरोमा पानी लिन जाँदा उनीहरूसँग समयको कुनै ज्ञान हुने कुरै भएन । घडीहरूको सुविधा नभएको अवस्थामा कुन मौसममा कुन तारा कतिखेर कहाँ पुगेपछि कति समय भयो भनेर थाहा पाउँथे । समयको चेतनाका विषयमा कुरा गर्ने हो भने अहिले भन्दा पहिले धेरै थियो जस्तो लाग्छ । केही राम्रो कामका लागि पनि त्यसलाई प्रयोग गर्न खोजको पाइन्छ तर कुनै समयमा त्यो फल विफलसँग जोडिन पुग्यो । ज्योतिषहरूले मुख्यतया समयदेखि केही विज्ञानका पक्षहरू पनि जोड्न खोजेको देखिन्छ किनकि हिन्दु शास्त्रमा हेर्ने हो भने विज्ञानको एउटा ठुलो विकास हुन खोजेको जस्तो सङ्केतहरू हाम्रो धर्मशास्त्रमा उल्लेख छ । हामीसँग ठ्याक्कै त्यही फरमुला र टेक्नोलोजी किन भएनन् भन्ने कुरा खोजीको विषय नहोला तर हाम्रो हिन्दु अथवा पूर्वीय दर्शनले ज्योतिषमार्फत नै विज्ञानलाई अगाडि बढाउन खोजेको जस्तो देखिन्छ ।

ज्योतिषशास्त्र अनुसार जुन ग्रहहरूको फलको कुरा गरिन्छ, विज्ञानले त्यसलाई कसरी लिएको छ ?
अहिलेसम्मको विज्ञानका अनुसार ग्रहले मानिसलाई प्रभाव पार्न सक्ने गुरुत्वाकर्षण शक्तिको प्रभाव मात्र हो । हामी भन्दा लाखौँ किलोमिटर टाढा रहेको मंगल ग्रहले हामीलाई हामीमाथि कति शक्ति गर्छ भनेर क्यालकुलेट गर्ने हो भने नगण्य मात्रामा हुन्छ । यति भन्दा भन्दै पनि चन्द्रमा कहिलेकाहीँ महत्त्वपूर्ण हुन सक्दछ । किनकि चन्द्रमाले गर्दा ज्वारभाटा पनि निकाल्छ । धेरै नजिक भएको कारणले समुन्द्रको पानी उचाल्न सक्छ । पूर्णिमाको चन्द्रमाले कहिलेकाहीँ मान्छेहरूलाई प्रभाव पार्दछ भन्ने किसिमको साइकोलोजि चाहिँ छ । कुनै कुनै रोगहरू यस्ता हुन्छन् जुन पूर्णिमाको रातमा सुरु हुन्छ भन्ने खालका यस्ता केही सिद्धान्तहरू प्नि छन् । केही मानिसहरूले यसको शरीरमा भएको रगत सञ्चालनमा पनि असर गर्छ कि भन्ने छ तर, ठ्याक्कै बलियो वैज्ञानिक आधार चाहिँ छैन ।

यति बेला नेपाल आउनु भएको छ, घरायसी भेटघाटका लागि मात्रै हो कि अन्य पनि केही योजनाहरू छन् ?
मैले दुइटा कुरालाई सन्तुलित गर्न खोजेको छु । परिवार पनि लिएर आएकोले घरपरिवार तथा छरछिमेकसँग भेटघाट गर्ने त हो नै, यस सँगसँगै विदेशमा लामो समयसम्म काम गर्दा एउटास्तरको वैज्ञानिकहरूसँग मेरो सहकार्य भैसकेको अवस्थामा नेपालमा पनि खगोलशास्त्रको अध्ययन सम्भव छ र त्यसका लागि ठुला उपकरणहरू जडान गर्न सकिन्छ भन्ने कुराको प्रारम्भिक अध्ययनका लागि पनि आएको हुँ । खगोलशास्त्रमा महत्त्वपूर्ण हुने ठुला टेलिस्कोपका लागि आकाश सफा हुन जरुरी छ । हाम्रो जस्तो ठाउँमा सहरबाट टाढा आकाश निकै सफा देखिने र प्रदूषण नभएको अग्लो डाँडा अर्थात् भौगोलिक बनावट पनि मिल्ने भएकोले ठुलठुला उपकरणहरू जडान गरेर अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको ध्यान यता तान्न पायो भने आधुनिक विज्ञानको क्षेत्रमा नेपालले ठुलो फड्को मार्नेछ । यसका लागि मैले केही व्यक्तिहरूसँग कुरा पनि गर्न खोज्दै छु ।

ठुला उपकरणहरूका लागि नेपाल अत्यन्तै उपयोगी ठाउँ छ भनिरहँदा त्यस्ता सम्भाव्य स्थानहरूबारे केहि अध्ययन तथा छनौटमा पनि गर्नु भएको छ कि ?
तराईका जिल्लाबाहेक नेपालका प्रायः हिमाली तथा पहाडी सबै क्षेत्रहरू यसको सम्भाव्य क्षेत्रहरू हुन् । म सुदूर पश्चिममा जन्मेको हुनाले त्यहाँको भूगोलबारे अलि बढी जानकारी छ । जस्तो डोटी, डडेलधुरालगायत सुदूरपश्चिम बेल्ट सापेक्षितरुपमा कम विकास भएको क्षेत्र पनि मानिन्छ, त्यस्ता ठाउँमा यसको हब बनाउन सकियो भने समान विकासका लागि पनि ठुलो योगदान पुर्‍याउन सक्छ भन्ने मलाई लाग्छ ।

खास गरी यस्ता ठुला टेलिस्कोपहरू कस्तो ठाउँमा राख्ने गरिन्छ डा. सा’प ?
पहिलो कुरा त सहरबाट टाढा हुनुपर्छ, सिटि लाइट हुनु भएन, अँध्यारो हुनु पर्‍यो । दोस्रो, अग्लो ठाउँ हुनुपर्छ । धेरै हाइट पनि होइन, ठिक्क अग्लो चाहिन्छ । जहाँ पानीको मात्रा अलि कम होस् । त्यसका लागि हाम्रा पहाडहरू एकदमै उपयुक्त छन् । तेस्रो कुरा, ठुलठुला उपकरणहरू ल्याउनका लागि सडक यातायातको सुविधा हुनुपर्‍यो । र, चौथो कुरा निरन्तर बिजुली र ब्रोडब्याण्ड वाईफाईको उपलब्धता पनि हुन सक्नुपर्‍यो । यति कुराहरू भयो भने नेपालमा जडान गरिएका उपकरणहरूलाई युरोप, अमेरिकालगायत विश्वका जुनसुकै स्थानबाट पनि सञ्चालन गर्न सकिन्छ ।

यी सबै आधारभूत आवश्यकताहरू पुरा गरेर नेपालमा खगोलशास्त्रको अध्ययनका लागि ठुला उपकरण जडान गर्न सकिने सम्भावना कतिको देख्नुहुन्छ ?
सरकारले गर्नुपर्ने केही निश्चित कुराहरू छन् । जस्तो कि सम्भाव्यता बोकेका डाँडाकाँडाबारे अन्तराष्ट्रियस्तरमा कुरा गरेपछि उनीहरू कन्भेन्स भए र जडान गर्ने भनेको अवस्थामा सरकारले उपलब्ध गराउनेदेखि सडक, विद्युत् र वाइफाईका लागि प्रतिबद्धता जनाउनु पर्ने हुन्छ र त्यसका लागि एउटा नोमिनल नाम मात्रको भए पनि बजेट छुट्ट्याइ दियो भने सम्भव छ । सबै कुरा विदेशी आफैले गर्नुपर्ने भन्यो भने उनीहरू पनि कन्भेन्स नहुन सक्छन् । यदि यो कुरामा सरकारले चासो राख्ने हो भने नेपालमा ठुला उपकरण जडान गर्न सम्भव देख्छु ।

गहन अध्ययन र अनुभवलाई नेपालको विकासमा कसरी समाहित गर्न सकिन्छ भनेर ठुलो सम्भाव्यतासहितको सपना बोकेर आउनु भएको छ, थप केही भन्न चाहनुहुन्छ ?
देश विकास गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नीति नै हो । धेरै राजनीतिक कुरा गर्न त म चाहन्न तर आजसम्म हामीले राजनीतिक एजेन्डाहरूलाई मात्रै स्थान दिएर त्यसैमा धेरै समय बिताएका छौँ । राजनीतिक संघर्षकै नाममा सबै समय त्यतै लगायौँ । र पनि, जनताको जुन इच्छा आकाङ्क्षा छ त्यो पूरा भएको देखिँदैन । त्यस कारण मेरो भनाई के छ भने विकास गर्नको लागि विज्ञान र वैज्ञानिक पद्धतिहरूको एकदमै ठुलो भूमिका रहनु पर्दछ । विकासको जुन क्रममा छौँ त्यसमा वैज्ञानिक पद्धतिहरूलाई ठाउँ दिनु अत्यावश्यक छ । त्यसो भएन भने विकास दिगो रहन सक्दैन र स्थिर रूपमा अगाडी बढ्न सक्दैन ।

यसै सन्दर्भमा मेरो भनाइ के छ भने मलगायत मेरा थुप्रै नेपाली वैज्ञानिक मित्रहरू अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहनु भएको छ । वहाँहरूको भनाइ के छ भने हामीलाई नेपाल सरकारले अलिकति ठाउँ र काम गर्ने वातावरण दियो भने हामी नेपाल जान तयार छौँ भन्ने किसिमको कुराहरू गरेका छन् । हामी धेरै वर्ष विदेशमा बस्यौँ । केही सन्तुष्टि त हामीलाई छ तर आफन्तहरूको माझमा बसेर काम गर्नुको आत्मसन्तुष्टि चाहिँ हामीसँग हुँदैन ।

विदेशमा हामी जहिले पनि विदेशीहरुकको लागि काम लाग्ने हो । यद्यपि विज्ञानको कुनै सीमा त हुँदैन, तै पनि आफ्नै देशमा केही गर्ने चाहना त जो कोहीमा पनि हुन्छ नै । त्यस कारण सीप भएका धेरै मानिसहरू नेपाल फर्किन चाहन्छन् । उनीहरूलाई नेपाल सरकारले देशमा कसरी हुन्छ काम गराउन सक्ने वातावरण बनाउन सकेको अवस्थामा विकास टाढा छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस