विकास र समृद्धिको काममा सबै दल एक हुनुपर्छ : मन्त्री भट्टराई « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विकास र समृद्धिको काममा सबै दल एक हुनुपर्छ : मन्त्री भट्टराई


१२ भाद्र २०७६, बिहिबार


कावासोती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माण र समृद्धिको काममा सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । धौवादी रुद्रपुर गढी पर्यटकीय क्षेत्रको उद्घाटन, लालीगुराँस संरक्षित क्षेत्र घोषणा तथा एकीकृत नमूना बस्तीको शिलान्यास कार्यक्रमा मन्त्री भट्टराईले विकास निर्माण र समृद्धिको काममा सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

लोकतन्त्रमा चुवानमा प्रतिस्पर्धा हुने भए पनि कुनै एक दलको अर्को दलसँग दुस्मनी नभएको भन्दै सबै एक भएर विकास निर्माण र समृद्धिको काममा जुट्नुपर्ने उनले बताए ।’दलहरुबीच चुनावमा प्रतिस्पर्धा हुनु लोकतान्त्रिक प्रक्रिया हो, तर जब विकास र निर्माणको कुरा आउँछ हामी सबै एकताबद्ध भएर हिँड्नुपर्छ’ , मन्त्री भट्टराईले भने ।

उनले सबैको दुश्मनी गरीबी, अशिक्षा, पछौटेपनसँग रहेको बताउँदै यी प्रमुख दुश्मनसँग लड्न सबै एकताबद्ध भएर लाग्न आवश्यक रहेको बताए । ‘हाम्रो दुश्मनी कसैसँग छैन, दुश्मनी छ भने गरीबी, अशिक्षा, पछौटेपनसँग छ’, मन्त्री भट्टराईले भने, ‘त्यसैले यो दुश्मनीविरुद्ध एक भएर लडौँ ।’

विकास र निर्माणको काममा राजनीतिकदल एकताबद्ध भएर अगाडि बढ्छन् कि बढ्दैन भनेर अहिले जनताले नजिकबाट हेरिरहेको भन्दै यो मौकाको सदुपयोग गर्दै अगाडि बढ्न उनले सबैमा अनुरोध गरे । ‘इतिहासले सधैँ मौका दिँदैन, खास खास समयमा मौका दिन्छ, हामीलाई त्यो मौका दिएको छ’, मन्त्री भट्टराईले भने, ‘त्यसैले म सबै राजनीतिकदलका मित्रलाई समेत एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गर्न चाहान्छु ।’

नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्गे्रसको अहिलेको परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै अझै विकास र निर्माणको काममा यी दुवै दलको भूमिका समेत उत्तिकै रहेको मन्त्री भट्टराईले बताए ।

हुप्सेकोट गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससहित प्रचारप्रसारका लागि यस क्षेत्रमा विभिन्न कार्य गर्दैछ । गाउँपालिकाले रु छ करोडको लागतमा एतिहासिक रुद्रपुर गढीलाई पर्यटीय क्षेत्रको रुपमा विकास गर्न लागेको छ ।

यस्तै रु दुई करोडको लागतमा लालीगुराँस संरक्षित क्षेत्र निर्माण र अनुमानित रु आठ करोडको लागतमा एकीकृत नमूना बस्ती निर्माण गर्न लागेको छ । गाउँपालिकाले यी विभिन्न योजनाका लागि चालू आवमा रु दुई करोड विनियोजन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस