पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनमा जोड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनमा जोड


१० भाद्र २०७६, मंगलबार


काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल बनाउन पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अध्यक्ष रहेको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको चौथो बैठकले चार महिनापछि शुरु हुने भ्रमण वर्षलाई सफल बनाई २० लाख पर्यटक भित्र्याउने योजना सफल बनाउने अभियानअन्तर्गतका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमलाई गतिशील बनाउने निर्णय गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार र सेवा सुदृढीकरण, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र सञ्चालनका लागि गर्नुपर्ने भौतिक तथा प्राविधिक काम प्रभावकारी बनाइ आन्तरिकतर्फका विमानस्थलको स्तरोन्नतिसँगै सरोकारवाला निकायको समन्वयमा आकर्षक प्याकेजका कार्यक्रम बनाइने समितिले जनाएको छ ।

मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानलाई राष्ट्रिय प्राथमिकताको अभियानको रुपमा अघि बढाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाइने बताए । भ्रमण वर्ष अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन सातवटै प्रदेशलाई जिम्मेवारीका साथ सक्रिय बनाइने उल्लेख गर्दै उनले भ्रमण वर्ष प्रदेशस्तरको विद्यमान समितिलाई पुनःगठन गरिने बताए । भ्रमण वर्षको प्रदेशस्तरीय समितिमा पर्यटनमन्त्रीको संयोजकत्वमा समिति गठन गरिनेछ र एक साताभित्र समिति गठन गरी भ्रमण वर्ष सचिवालयलाई उपलब्ध गराउनुपर्नेछ ।

यस्तै भ्रमण वर्षलाई लक्ष्य गरी जिल्लास्तरमा पनि पर्यटकीय चहलपहल बढाउन जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा सरोकार भएका सङ्घसंस्था समेटिने गरी समिति गठन गरिनेछ । गाउँपालिका र नगरपालिकामा पनि सम्बन्धित निकायका प्रमुखहरुको संयोजकत्वमा समिति गठन गरी प्रवर्द्धनका कामलाई तीव्रता दिइने बैठकले निर्णय गरेको छ । बैठकले भ्रमण वर्षलाई सफल बनाउन मूल आयोजक समितिमा आवद्ध निकाय तथा संस्थाका सदस्यले १० दिन भित्र आ–आफ्नो कार्ययोजना भ्रमण वर्ष सचिवालयलाई पेश गर्न आग्रह गरेको छ ।

मूल आयोजक समितिमा पर्यटन क्षेत्र, सरकारी निकाय, गैरआवासीय नेपाली सङ्घलगायत ४० भन्दा बढी संस्थाको प्रतिनिधित्व छ । एक महिनाको गृहकार्यपछि आगामी असोज १ गते सम्बन्धित संस्था र भ्रमण वर्ष सचिवालयबीच कार्य सम्झौता हुने बताइएको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा बृहत् सम्झौता समारोह आयोजना गरिनेछ । भ्रमण वर्ष सचिवालयले नेपाल आउने विदेशी पर्यटकको यथार्थ विवरण सङ्कलन गर्न एक महिनाभित्र सबै तयारी गर्ने, असोज ३ गते नेपालको संविधान दिवसको कार्यक्रमअन्तर्गत भ्रमण वर्ष अभियानको विशेष अवसरको रुपमा मनाउन परराष्ट्र मन्त्रालयमार्फत विश्वभरका नेपाली कूटनीतिक नियोगलाई पत्राचार गर्ने र त्यहाँ उपस्थित हुने विदेशी अतिथिलाई केही उपहार र भ्रमण वर्षका सामग्री प्रदान गरिने जनाइएको छ ।

भ्रमण वर्षलाई आवश्यक पर्ने बजेट प्रदेशसँग समन्वय गरी आवश्यकताका आधारमा व्यवस्था गरिनेछ । पूर्वाधार विकास, गन्तव्य प्रवर्द्धन तथा शहर र सडकको सौन्दर्यकरण, सरसफाइको कार्यमा प्रदेश सरकार, स्थानीय तह र सबै निकाय, संस्थालाई अपिल गरिएको छ । सन् २०२० को जनवरी १ तारिखका दिन सातवटै प्रदेशमा भव्य समारोहबीच भ्रमण वर्ष अभियानको शुभारम्म गरिने र ती समारोहको नेतृत्व प्रदेशका मुख्यमन्त्रीले गर्नुहुनेछ । प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रमलाई सङ्घीय सरकारले आवश्यक सहयोग गर्नेछ ।

जनवरीको पहिलो साता विदेशस्थित कूटनीतिक नियोगमा एकै दिन भ्रमण वर्षको शुभारम्भ गरिनेछ । ती नियोगमा परराष्ट्रमन्त्रालयको समन्वयमा गैर आवासीय नेपाली सङ्घले भ्रमण वर्षको कक्ष स्थापना गर्ने र त्यहाँ एक स्वयम्सेवी खटाइनेछ । भ्रमण वर्षको सन्दर्भमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न १५ दिनभित्र तयारी गरी विभिन्न सेवा सुविधाको प्याकेज घोषणा गरिनेछ । भ्रमण वर्ष अभियानलाई सफल बनाउन देशभरका हजारौँ पर्यटन व्यवसायीलाई काठमाडौँको टुँडिखेलमा जम्मा गरी राष्ट्रपतिको प्रमुख आतिथ्यतामा प्रतिज्ञा समारोह आयोजना गरिने जनाइएको छ । यसको आवश्यक तयारीपछि मिति निर्धारण गरिनेछ ।

बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय पूर्वाधार विस्तारसँगै नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनका कामलाई भ्रमावकारी रुपमा अघि बढाइनुपर्नेमा जोड दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहमा प्रवद्र्धनात्मक कार्यक्रम लैजानुपर्नेमा जोड दिए।

सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्रीले भ्रमण वर्ष अभियानलाई सफल बनाउन प्रदेशस्तरीय प्रवर्द्धनात्मक कामलाई अघि बढाइने बताए । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टलगायतले भ्रमण वर्ष अभियानलाई सफल बनाउन सक्रियता जनाउने विश्वास दिलाए । भ्रमण वर्ष अभियान कार्यक्रम कार्यान्वयन उपसमितिका उपाध्यक्ष एवम् राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले अयिभानअन्तर्गत गरिने गतिविधिबारे आफ्नो धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस