रुद्राक्ष जोगाउनै मुस्किल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुद्राक्ष जोगाउनै मुस्किल


६ भाद्र २०७६, शुक्रबार


रुद्राक्ष । रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् ।

पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषक चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पुर्‍याउने घटना बढेपछि कृषकलाई बोट जोगाउनै मुस्किल परेको छ ।

बोटमा विषादी हाल्ने, जरा खन्ने, बोट काट्ने, बोक्रा ताछ्ने जस्ता घटना बढिरहेकाले कृषक त्रसित बनाएको छ । राम्रो गुणस्तरको फल दिने बोटमा क्षति पुर्‍याइदिने हो कि भन्ने चिन्ताले कतिपय किसान जाग्रामसमेत बस्दै आएका छन् ।

जिल्लाको पाँच खपन नगरपालिकामा रुद्राक्षको बोट ताछिएको घटनापछि सिलिचोङ गाउँपालिकाको याफुमाबोट काटिएको घटनाले कृषकमा त्रास फैलिएको छ । योसँगै सङ्खुवासभासँग सिमाना जोडिएको भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको कुलुङमा रुद्राक्षको बोटमा बेनीले खोपेर विषादी हालिएको घटनाले झन डर फैलाएको छ ।

अघिल्लो वर्ष जिल्लासँग सिमाना जोडिएको भोजपुरको दिङ्लामा रुद्राक्ष कुरुवालाई आक्रमण गरी रुद्राक्ष लुटेर लगेको घटना किसानले बिर्सने कुरै भएन । वर्षेनी भइरहने रुद्राक्षको क्षतिले किसानलाई चिन्तित बनाएको छ ।

गुणस्तरीय उत्पादन दिने बगानमा कतिपयले सिसी क्यामरा जडान गरेका छन् भने कतिले स्थानीय युवालाई कुरुवाका रुपमा राखेका छन् । केही कृषकले भने थप सुरक्षाका लागि सिसी क्यामरा र कुरुवा दुवै राख्ने गरेका छन् ।

जिल्लाका केही किसानले सुरक्षाको चुनौतीका कारण फूलसमेत नफूली नै व्यापारीलाई ठेक्का दिइसकेका हुन्छन् । ठेक्का दिइसकेपछि कुनै चुनौतीबिना रकम पाइहाल्ने भएकाले ठेक्का दिने गरेको कृषकको भनाइ छ । ठेक्कामा दिँदा आफूहरुले वस्तु अनुसारको मूल्यन पाउने भए पनि नपाइएलाकी भन्ने डर भने नरहेको सिलिचोङ–५ याफुका विजय मेवाहाङले बताए ।

रुद्राक्ष व्यवसायीले पनि निश्चित समयका लागि ठेक्का लिइसकेपछि ठूलो रकम खर्चेर कुरुवा राख्ने गरेका छन् । उनीहरुले बलिया र खाइलाग्दा युवालाई राम्रो पारिश्रमिक दिएर रुद्राक्षको कुरुवा राख्ने गरेका छन् । कोही गलत नियतले बगान वरिपरि प्रवेश गरे भौतिक कारवाही गर्नसमेत युवालाई व्यवसायीले कुरुवा राख्दै आएका छन् ।

रुद्राक्षलाई लक्षित गरेर कसैले आक्रमण गर्नसक्ने भएकाले पनि बलिया युवा व्यवसायीको रोजाइमा पर्दै आएका छन् । राम्रो रुद्राक्ष भए पनि कुरुवा नराख्नाले लाखौँको क्षति ब्यहोर्नु परेको रुद्राक्ष व्यवसायी अर्जुन न्यौपानेको अनुभव छ । यही वर्ष रु ६२ लाख खर्च गरेर ठेक्कामा लिएको रुद्राक्षको बोटैमा कसैले विषादी हालिदिएपछि समस्यामा परेको न्यौपानेको भनाइ छ ।

मानिसमा उत्पन्न हुने इष्र्याका कारण राम्रो रुद्राक्षमा क्षति पुर्‍याउने गरिएको जानकार बताउँछन् । आफ्नो बगानमा राम्रो नफल्ने तर छिमेकीको बगानमा राम्रो फले इष्र्याले क्षति पुर्‍याउने गरेको आशङ्का गर्ने गरिएको कृषक बताउँछन् ।

राम्रो फल्ने रुद्राक्षको बिरुवा नबाँडिने भएकाले पनि नोक्सान पुर्‍याउने गरिएको हुनसक्ने पनि रुद्राक्ष व्यवसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विसुङ्केको भनाइ छ । उन्नत जातको बोटबाट कलमी बिरुवा वा बीजबिरुवा धेरैले मागे पनि कसैले दिदैनन्, यस्तो बिरुवा नपाउनेले पनि क्षति पुर्‍याएको हुनसक्ने संघका अध्यक्ष विसुङ्केले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस