हाम्रो इच्छा, गरीखाने शिक्षा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हाम्रो इच्छा, गरीखाने शिक्षा


बाबुकाजी कार्की

४ भाद्र २०७६, बुधबार


रोजगारीको लागि नेपालीहरू भौँतारिदै कस्तुरीले आफूमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौँतारिएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिचकिचाउँदै हजारौँ, लाखौँ रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्याप छ्याप्ति पुगेको पाइन्छ । तर गर्वकासाथ त्यहीँ काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्यो भन्दा तल्लो स्तरको काम गर्न मुङ्गलाननै पस्नु पर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ?

आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटिई निराश भई बिरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदी प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।

”त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ?”

मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समयानुकूल परिमार्जन तथा परिष्कृत गर्दै जीवनशैलीमा उतार्न सक्षम सकारात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । शिक्षाले दैनिक जीवनमा आईपर्ने चुनौतीलाई सहजरुपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नु पर्दछ । श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्ने उद्देश्य केन्द्रित शिक्षाका नीति तथा कार्यक्रम हुनुपर्दछ ।

शिक्षालाई गुणस्तरीय, जनमुखी, प्रगतिशील, जीवनोपयोगी आदी विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्ताङ्कको आधारमा निर्क्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुझ्ने तर डयाड ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाई भैँसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदीको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिक भन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनु पर्दछ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ ।

पेपर पेन्सिल परीक्षाको आधारमामात्रै विद्यार्थीको उपलब्धीस्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्म अनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्याङ्कन गर्ने उपायहरू खोजिनु पर्दछ । उच्च अङ्क प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्याङ्कन पद्दति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि एक सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्दतिलाई पुनरावलोकन गरिनुपर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अङ्क मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यस कारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यवहारिक पौरखी शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदीलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ । राज्यले तोकेको पाठ्यक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्दछ ।

”सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यवहारिक पौरखी शिक्षा आजको आवश्यकता”

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्याङ्कन गरेर सोही अनुसार अधिकतम सम्बोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनु पर्दछ । अतः शिक्षकले सर्वप्रथम बालबालिकालाई पढ्नु पर्छ, अनि मात्र त्यसलाई संवोधनगर्ने गरी विषयवस्तु र विधिको छनौट गरिनुपर्दछ । अभिभावकले अङ्गालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनु पर्दछ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न जिम्मेवारीपूर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनु पर्दछ । विद्यार्थीले सामान्यतया ६ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदाय प्रति जिम्मेवार र जबाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्छ ।

घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनु पर्दछ । त्यस कारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि क्षमता अनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ । उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिउन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिका भन्दा हामी जान्ने छौँ हामीले भनेको मात्र उनीहरूले मान्नु पर्दछ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्त लाद्ने खालको विषयवस्तु र विधि भन्दा पनि उनीहरूको क्षमता माग अनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो सर्तको रूपमा लिन सकिन्छ। कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकता अनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठ्यक्रम निर्माण र कार्यान्वयन गरिनु पर्दछ। व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास गराउनु पर्दछ ।

मानवीय लगायतका साधन स्रोतको उच्चतम प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पर्दछ। शिक्षाकर्मीहरूको पेसागत दक्षता र समर्पण बढाउने खालका सेवासुविधाको व्यवस्था गरिनुपर्दछ। त्यस्तै शिक्षक र त्यससँग आबद्ध शिक्षाकर्मीहरूको पेसागत दक्षताको मूल्याङ्कन विद्यार्थीको उपलब्धिको आधारमा गरिनु पर्दछ। त्यस्तै बालबालिकाको सक्रिय सहभागिता विद्यालय भित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्ष रूपमा बढाउन बालक्लबलाई स्थापना गरी सक्रिय बनाउनु पर्दछ। उनीहरूमा आत्मबल र आत्मविश्वासको वृद्धि र विकास गर्न सामाजिक परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी हुन प्रोत्साहित गरिनु पर्दछ। किनकि विद्यार्थीहरू भविष्यका कर्णधार र वर्तमानका साक्षरदार हुन भन्ने मान्यता अनुरूप उनीहरूको संलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्दछ । त्यसै गरी विद्यार्थी विद्यालयबाट भागेर घर जाने भन्दा पनि घरबाट भागेर विद्यालय आउने खालको उत्साहजनक स्वस्थ वातावरण विद्यालयमा सिर्जना गर्न सक्यौँ भने उनीहरूले आफ्नो क्षमता चाहनाअनुरुपको व्यवहारिक ज्ञान सीप अभिवृद्धि हासिल गर्न सक्छन् । कक्षाकोठा र क्रियाकलाप लोकतान्त्रिक अभ्यास र अनुभूति दिने हुनुपर्दछ ।

अनुशासनको नाममा भावना र विचार प्रस्फुटन हुनलाई कुण्ठित गर्ने परम्परालाई निरुत्साहित गरिनु पर्दछ । ठूलोमान्छे भन्दा पनि असल नागरिक बन्न प्रेरित अर्थात् आफ्नो खुट्टामा आफै उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रूपमा विद्यालय बन्नु पर्दछ । अतः उच्च प्राप्ताङ्कलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिइने प्रगतिशील शिक्षा भन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको पूजा गर्दै भेदभाव रहित भावना र व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछी त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने गरीखाने शिक्षा आजको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस