कार्यसम्पादन मूल्यांकन « प्रशासन

कार्यसम्पादन मूल्यांकन


प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार ०९:४९

परिचय   

कार्यसम्पादन मूल्याङ्कन कुनै कर्मचारीले निजको पद अनुसार गर्नुपर्ने कार्यको मापन तथा मूल्याङ्कन गर्ने कार्य हो । कार्यसम्पादन मूल्याङ्कन सम्बन्धित कर्मचारीले निजको काम कर्तव्य पुरा गर्दा लगाएको समय, काम गरेको परिमाण, गुणस्तर, प्रभावकारिताका आधारमा निजको कार्यको मूल्याङ्कन गर्ने विधि तथा पद्धति हो । कार्य सम्पादन मूल्याङ्कन गर्न सर्वप्रथम सम्बन्धित कर्मचारीले गर्नुपर्ने कार्यको विवरण हुनु पर्दछ । यो कर्मचारीको काम, काम गर्दाको अवलम्बन गरेको पद्धति तथा त्यसबाट सङ्गठनमा पुगेको योगदान समेत मूल्याङ्कन हो ।

यसमा केवल काममा प्राप्त सफलता तथा विफलताको लेखाजोखा नगरेर कार्यसम्पादनका क्रममा भएका कमीकमजोरीहरू औँल्याई आवश्यक परामर्शसमेत दिई पुनः सुधारको अवसर प्रदान गरिन्छ । त्यसपछि अन्तिम मूल्याङ्कन गरी मूल्याङ्कनको नतिजालाई प्रोत्साहन पुरस्कार दण्ड आदिसँग आबद्ध गरिन्छ । सङ्गठनको दृष्टिकोणमा यो सुपरिवेक्षणको औजार हो भने व्यक्तिको दृष्टिकोषमा यो आफ्नो क्षमताको पहिचान गरी निरन्तर सुधार मार्फत वृत्तिविकास गर्ने माध्यम हो ।

कार्य सम्पादन मूल्यांकन कसले गर्छ ?

  • सुपरीवेक्षक
  • कार्यालय प्रमुख तथा विभागिय प्रमुख
  • कार्यसम्पादन मूल्यांकन समिति ।

कार्य सम्पादन मूल्यांकन गर्ने आधारहरु 

  • सम्बन्धित पदको कार्य विवरण
  • काम गर्दाको कार्य वातावरण
  • कर्मचारीको कार्य गर्दा अपनाएको संयमता तथा अग्रसरता
  • कार्य गर्न लगाएको समय
  • कामको गुणस्तर
  • कामको परिमाण
  • संगठनको लक्ष्य प्राप्त गर्न पुर्‍याएको योगदान
  • विशिष्ट अवस्थामा कार्यविवरण वाहेक गरेका कार्यहरुको विवरण ।

कार्यसम्पादन मूल्यांकनका उद्देश्यहरु

  • संगठनका सबै पदहरुको पूर्ण तथ्यपरक र अवैयक्तिक विवरणहरु अद्यावधिक गर्ने
  • संगठन र प्रत्येक पदको सापेक्षिक मूल्य निर्धारणका लागि स्तर र प्रक्रिया निर्धारण गर्ने
  • बढुवा तथा सरुवाको आधार तय गर्ने
  • तलब तथा कार्यसम्पादनमा आधारित प्रोत्साहनको निर्धारण गर्ने
  • कार्यसम्पादन मूल्यांकनबाट दण्ड र पुरस्कारको निर्धारण गर्ने
  • संगठनको लक्ष्य हासिल गर्न कर्मचारीहरुको क्षमता विकास गर्ने आधार तयार गर्ने ।

कार्यसम्पादन मूल्यांकनको उपयोग/ महत्व

  • कार्यसम्पादनमा सुधार गर्न
  • कर्मचारीलाई पृष्ठपोषण प्रदान गर्न
  • दण्ड तथा पुरस्कार व्यवस्थापन गर्न
  • तालिम तथा विकास सम्बन्धी निर्णय लिन
  • बढुवा सरुवा तथा अवका सम्बन्धी निर्णय लिन
  • तलब तथा अन्य सुबिधा निर्धारण गर्न
  • वृत्तिविकास योजना तर्जुमा गर्न
  • उत्तराधिकार योजना लागू गर्न
  • छनौट परीक्षाको वैधानिकता प्रमाणित गर्न
  • सुपरीवेक्षणका आधारहरुको पुनरावलोकन गर्न
  • सुपरीवेक्षक र कर्मचारी समझदारी कायम गर्न
  • कर्मचारी प्रशासनका नीतिहरु तर्जुमा गर्न ।

कार्यसम्पादन मूल्यांकनका सिद्धान्तहरु

  • एकरुपताको सिद्धान्त
  • निष्पक्षता र समताको सिद्बान्त
  • पारदर्शिताको सिद्धान्त
  • सुरक्षाको सिद्धान्त
  • प्रभावकारीता र दक्षताको सिद्धान्त
  • विकासको सिद्धान्त ।

कार्यसम्पादन मूल्यांकन प्रक्रिया

  • उद्देश्य निर्धारण
  • मापदण्ड तथा सूचकहरुको निर्धारण
  • मापदण्ड तथा सूचकहरुको संचार
  • कार्यसम्पादन मापन
  • विचलन पहिचान
  • नतिजाबारे कर्मचारीसँग छलफल
  • सुधारात्मक कदम ।

कार्यसम्पादन मूल्यांकन कुनै पनि संगठनमा रहेका जनशक्तिले दिइएको कार्यविवरण तथा तोकिएको कार्यहरु के कति समयमा कति गुणस्तरीय तथा प्रभावकारी ढंगले सम्पन्न गरियो भनी मापन गर्ने विधी हो । यसलाई सरुवा, वढुवा, पदस्थापना तथा दण्डपुरस्कार निर्धारण गर्ने आधार समेत बनाउन सकिन्छ । त्यसका लागि मूल्यांकनका वस्तुनिष्ट मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस