सुब्बा द्वय र खरिदार घुससहित रंगेहात पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुब्बा द्वय र खरिदार घुससहित रंगेहात पक्राउ


प्रशासन विशेष ब्युरो

२० श्रावण २०७६, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना सुब्बा र एक जना खरिदारलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र भक्तपुर स्थित दिब्येश्वरी जग्गा अधिकरण आयोजनामा कार्यरत नायव सुब्बा देउमान कडरिया रहेका छन् । यसै गरी पक्राउ पर्ने खरिदारमा नर राज पाण्डे रहेका छन् ।

नासु कुँवर र खरिदार पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग आठ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूलाई लम्की चुहा नगरपालिका वडा नं.३ व्यवस्थित नगरबाट रकम सहित रङ्गे हात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

त्यसै गरी जग्गा अधिकरण आयोजनामा कार्यरत नासु कडरियाले जग्गाको लालपुर्जा बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस बापतको रकम लिइसकेको अवस्थामा का म पा –३२ पेप्सीकोला स्थित दाजुभाइ सेकुवाघरबाट रकम सहित रङ्गे हात नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस