कर्मचारीको क्षमता बढाउन तालिम प्रदायक निकायबिच सहकार्य हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीको क्षमता बढाउन तालिम प्रदायक निकायबिच सहकार्य हुने


१३ श्रावण २०७६, सोमबार


काठमाडौँ । कर्मचारीहरूको क्षमता विकासमा असल अभ्यासको अवलम्बन गरी क्षमता विकासका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन नेपाल सरकारका तालिम प्रदायक निकायहरूले सहकार्य गर्ने भएका छन् ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरको विशेष पहल तथा आयोजनामा सोमबार नेपाल सरकार अन्र्तगत केन्द्रीय स्तरका तालिम प्रदायक निकायका प्रमुख एवं प्रतिनिधि पदाधिकारीहरूबिच भएको छलफल एवं समन्वय बैठकबाट सो निष्कर्षमा पुगेका हुन् ।

तालिम प्रदायक निकायहरूले मोडल निर्माण, पाठ्यक्रम निर्माण, प्रशिक्षार्थीले व्यवहारिक ज्ञान हासिल गर्न सक्ने किसिमको प्रवचन प्रारुप, अन्तर सम्बन्धित विषयहरूलाई तालिमकार्यक्रममा समावेश गर्न अनुभवको नियमित आदान प्रदान गरी आ आफ्ना तालिम कार्यक्रमहरूको प्रभाकारिता अभिवृध्दि गर्ने सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख दामोदर रेग्मीले बताए ।

यसका अतिरिक्त तालिम प्रदायक संस्थाहरूबिच सम्पर्क सञ्जाल बढाउने, एक अर्काका विभिन्न तालिम मोड्यूलहरु बारे जानकारी हासिल गर्ने, स्रोत व्यक्ति व्यवस्थापन लगायत तालिम सम्बद्ध विविध विषयहरूमा एक अर्कामा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल केन्द्रित रहेको रेग्मीले जानकारी दिए ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले गुणस्तर प्रमाण आइ एस ओ ९००१ः २०१५ प्राप्त गरेपछि तालिम र यसका प्रकाशनलाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउन विभिन्न प्रयास गर्दै आएको छ । जसमा सङ्घीय संरचना अनुरूप व्यवहारोपयेगी तालिम, रणनीतिक योजना निर्माण र गुणस्तरयुक्त क्षमता वृध्दिव्दारा आर्थिक सुशासनमा योगदान दिने जस्ता विषहरु रहेका छन् ।

उक्त छलफल कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरका तालिम प्रमुख दामोदर रेग्मी, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेश प्रसाद भट्ट, नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका अध्ययन निर्देशक तुलसी शरण सिग्देल, कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख निरु दाहाल पाण्डेय, नेपाल होटेल व्यवस्थापन तालिम केन्द्रका संयोजक सूर्य किरण श्रेष्ठ र हुलाक प्रशिक्षण केन्द्रकी प्रशिक्षक सुधा रेग्मी लगायत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्दका वरिष्ठ प्रशिक्षक एवं प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस