भाद्र १ गते, २०७६

विपत् व्यवस्थापनमा राष्ट्रसेवक कर्मचारीको भूमिका

प्रकृतिको सौन्दर्यता सँगै यसले समय समयमा दिने धोका अनि दुःख आफैमा अति नै दुःखद र पीडादायी छ। त्यो सुन्दर अनि शान्त घर परिवार, आहार, विहार अनि सम्पत्ति सबै तहस नहस हुन्छ। क्षण भरमै खुसीयाली हराउँछ। पीडा माथि पीडा थपिँदै जान्छ। जीवन गुमाउनेले त सधैँका लागि छोडेर जान्छ। जीवन बाँचेकाहरू छटपटाईरहेका हुन्छन्। कतिसम्मको कठोर, निर्दयी अनि विध्वंसकारी यो प्रकृति पनि जसले जीवन दिएको छ र जीवन रक्षा गरेको छ, त्यो नै जीवनको कसिङ्गर बनी दुःख पीडा लगायतका सहन नसकिने विपत्तिको सागरमा डुबाउँछ।

दैवी प्रकोपका विभिन्न प्रकारहरू मध्ये अहिले बाढी पहिरो प्रमुख समस्याको रूपमा देखिएको छ भने त्यसले निम्त्याउने भोकमरी, गरिबी र विभिन्न किसिमका महामारीले गम्भीर रूप लिएको छ । यस्तो प्रकारको दैवी प्रकोपबाट आइपर्ने विपत् जसले सुख, शान्ति भङ्ग गरी मन मस्तिष्कमा पीडा अनि बोझ तथा डर त्रासको रूपमा जरा गाडी बसेको हुन्छ। यस्तो विपतको घडीमा मानिसको एकाग्रता भङ्ग भएको हुन्छ। त्रासमय भई भौतारीएको हुन्छ।कतिले त ज्यानै गुमाएका हुन्छन् र बाँचेकाहरू सँग पीडै पीडाको सागर मात्र रहेको हुन्छ। यस्तो कठिन र आपतकालिन अवस्थामा पीडितहरूलाई सहयोगको खाँचो हुन्छ। सहानुभूति चाहिन्छ। ज्यान जोगाउन आहार विहार चाहिन्छ। बस्ने आश्रय चाहिएको हुन्छ। लाज छोप्ने कपडा चाहिएको हुन्छ र दुखेको घाउमा मलम लगाइदिने मान्छे चाहिएको हुन्छ। यस्तो विपत् आएसँगै यो संवेदनशील कष्टदायी अवस्थामा विपत् व्यवस्थापन गरी पीडितहरूको सुरक्षा गर्नुपर्ने हुन्छ। उनीहरूलाई आश्रय, आहार विहार लगायतको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

जबसम्म विपत् व्यवस्थापनको लागि तोकिएको कानुनी व्यवस्थाको परिधि भित्र रही नीति नियम कार्यान्वयन गर्ने राष्ट्रसेवकले लगनशील, इमानदार अनि कर्तव्यनिष्ठ भई विपत् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दैनन् तबसम्म यी नीति नियमहरू कागजी खोस्टा मात्र बन्न पुग्छन्।बौद्धिक तथा दिग्गज व्यक्तिहरूले बनाएका नीति नियमहरू आफैमा सराहनीय छन्। विपत् व्यवस्थापनको लागि कानुनी र नीतिगत व्यवस्था गरिनु आफैमा एउटा उपलब्धिपूर्ण र प्रशंसनीय कार्य हो तर त्यो भन्दा जटिल कार्य त त्यसलाई कार्यान्वयनको दायरामा ल्याउनु हो। वास्तविक पीडितहरूले राहत पाएको हुनुपर्छ। आश्रय पाएको हुनुपर्छ। उनीहरूको जीउधनको सुरक्षा भएको हुनुपर्छ। खाद्यान्न लुगा कपडा लगायतको आवश्यक कुराहरूको व्यवस्था गरिएको हुनुपर्छ।

जसको लागि इमानदार कर्तव्यपरायण सेवाभाव भएको लगनशील जनशक्तिको खाँचो छ। राष्ट्रसेवक कर्मचारीले आफ्नो भूमिकालाई हृदयमंगन गरी सक्रिय भई खटिनु पर्छ। राष्ट्रसेवामा समर्पित हुनुपर्दछ र उच्च मनोबल र विशाल हृदय बनाई ती पीडादायी र चर्किएका घाउमा मलम लगाउने कार्य गर्नुपर्छ।

राष्ट्रसेवक कर्मचारीलाई दिइने निर्देशन, निर्देशनको इमान्दारीतापूर्वक गरिने पालना, सकारात्मक सोच, राष्ट्रसेवाको भावना, मानवीय धर्म र हृदय देखि उत्पन्न हुने सेवाभाव नै विपत् व्यवस्थापनको महत्त्वपूर्ण अस्त्र हो।

विपत् व्यवस्थापनका लागि यस्तै प्रकारका विशेषता र लक्षणले भरिपूर्ण राष्ट्रसेवक कर्मचारीको खाँचो छ। राष्ट्रको भविष्य निर्माणमा राष्ट्रसेवक कर्मचारीको अहम भूमिका छ। जबसम्म यस देशका जनताको भविष्य निर्माण हुँदैन, विकासले गति लिन सक्दैन तबसम्म राष्ट्रको भविष्य उज्वल हुन सक्दैन। जनताको जीवनस्तर उकास्न भरपूर्ण रूपमा राज्य लागी परेको छ। तर पनि समय समयमा आइपर्ने दैवी प्रकोप र त्यसबाट उत्पन्न विपत् र सो को व्यवस्थापन जस्ता कार्यले सोचे जस्तो देश र जनताको भविष्य निर्माण हुन सकी नरहेको तितो यथार्थ हामी सामु देखा परेको छ।

यस्तो विपतको अवस्थामा पीडित जनतालाई आवश्यक राहत प्रदान गरी निजहरूको जीवन पुनर्स्थापना गरी जीवन स्तरमा क्रमशः सकारात्मक परिवर्तन ल्याउनको लागि राष्ट्रसेवक कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने हुन्छ। अझै पनि विभिन्न बाधा, अड्चन, उदासीनता, सक्रियताको कमी, व्यवस्थापकीय कमजोरी. स्वाभाविक कमी आदि समेतका कारण वास्तविक पीडितले राहत पाएका छैनन्। सडकमा भौतारी रहेका छन्। सहयोगका लागि हातहरू फैलाई रहेका रहेका छन्। पीडाले चिच्याईरहेका छन्। छटपटाईरहेका छन्। तसर्थ अब राष्ट्रसेवक कर्मचारीले जागरूक भई नयाँ रणनीतिका साथ नयाँ सोच विचारका साथै मन, बचन र कर्मले विपत् व्यवस्थापनमा आफूलाई समर्पित गरी राष्ट्रसेवाको भाव र राष्ट्रप्रतिको प्रेमलाई झल्काउनु छ।

नेपालमा विगतको अवस्थालाई फर्केर हेर्दा कहिले विनाशकारी महाभूकम्प, कहिले बाढी पहिरो, कहिले अनिकाल, महामारी, कहिले विभिन्न खालका विस्फोटक किसिमका विध्वंसात्मक घटना दुर्घटना लगायतका प्रकोपले समय समयमा ठुलो नबिर्सने पीडा दिई रहेको र झस्काई रहने गरेको तितो यथार्थ हामी सामु छ। जसले गर्दा राष्ट्रको आर्थिक अवस्थामा समेत ठुको धक्का लागी विकास निर्माण समेतका कार्यमा अवरोध खडा भएको र जनताहरूमा बेचैनी निराशा पना उत्पन्न भई गरिबी, रोग, ब्याधी लगायतका दुष्चक्रमा जनताहरू फसेका छन्।यस्तो विपतको घडीमा सहयोगी हातहरूको खाँचो छ।

नेपाल सरकारले अरबौँ रकम बर्सेनि विपत् व्यवस्थापनको लागि छुट्ट्याई खर्च समेत गरिरहेको छ। तर पनि राहत वितरण कार्यको सही व्यवस्थापन गर्न नसक्दा राहत वितरणको नाममा भ्रष्ट्राचार तथा स्वार्थीपनाले प्रश्रय पाइरहेको र पीडितहरूलाई राहत वितरणमा असमानता भइरहेको, कैयौले राहत नपाई दर्दनाक अवस्थामा तड्पीरहेको विडम्बनापूर्ण अवस्था हामीहरूको सामुन्ने चरितार्थ भइरहेको छ। यस्तो संवेदनशील अवस्थामा विपत् व्यवस्थापनको लागि कर्मचारीहरूले आफ्नो क्षेत्रबाट विवेकसम्मत तरिकाले पहलकदमी गर्नुपर्ने र राहत रकम तथा सामग्रीलाई समान तरिकाले इमानदार भएर निस्वार्थ भावले वितरणको व्यवस्था मिलाई पीडितहरूको गाँस, बास, कपास लगायतका आधारभूत आवश्यक्ताको व्यवस्थापन गरी प्रशंसनीय काम गरेर देखाउनुपर्ने अवस्था आएको छ। तब मात्र राष्ट्रसेवक कर्मचारीप्रति आमजनताको विश्वास बढ्ने, सुशासन कायम हुने र देशले समेत राहतको श्वास फेर्न पाउने अवस्थाको श्रृजना हुनेछ।

जोखिमयुक्त क्षेत्रमा खोज र उद्धार सामग्रीको पर्याप्त भण्डारणको व्यवस्था गरी प्रकोप आएका बखत आवश्यक्ता अनुसार तत्काल राहत पुरयाउने व्यवस्था मिलाउने, जोखिममा परेका बस्तीको पहिचान गरी त्यस्तो बस्तीको संरक्षण अथवा बस्ती रूपान्तरण लगायतका उपयुक्त व्यवस्था गर्नको लागि आवश्यक अध्ययन अनुसन्धान योजना तथा कार्यक्रम निर्माण, बजेट तथा श्रोत साधनको व्यवस्था गर्ने र यस्ता बस्तीको जोखिम घटाउने सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने र पीडितको उद्धार गर्ने कार्यको लागि दक्ष र तालिम प्राप्त जनशक्ति जुनसुकै बेला परिचालन गर्न सकिने अवस्थामा राख्ने, आपतकालिन खाद्यान्न एवं लत्ताकपडा भण्डारणको व्यवस्था गर्ने, सामाजिक एवं गैरसरकारी सङ्घसंस्थाहरूको सहयोग समेत लिई प्रकोप व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा राखी शिविर सञ्चालन गर्ने, खोज तथा उद्धारका लागि आउने स्वदेशी तथा विदेशी टोलीलाई सहयोग गर्ने गराउने लगायतका विपत् व्यवस्थापनसँग सम्बन्धित कार्यहरू गर्ने र गराउने तर्फ राष्ट्रसेवक कर्मचारीहरू स्वस्फुर्त भई खटिनु आवश्यक छ।

आपत्कालीन समयमा मानवीय सेवा अन्तर्गत खोज तथा उद्धार, बन्दोबस्ती, स्वास्थ्योपचार, खाने पानी र सरसफाइ, आवास जस्ता तत्कालीन प्राथमिकता प्राप्त सेवाहरू, विस्थापित व्यक्तिको दर्ता तथा लगत अद्यावधिक, खाद्यान्न, गैर खाद्य सामग्री, औषधी, इन्धन आपूर्ति, जोखिममा रहेका समूहको संरक्षण, वाल वालिकालाई पोषणयुक्त खानाको व्यवस्था, गर्भवती महिलाको हेरचाह, सुरक्षा, प्रभावित क्षेत्र खाली गर्ने, सुरक्षित खुला स्थानको व्यवस्था गर्ने, फोहोर तथा शव व्यवस्थापन जस्ता कार्यहरू प्रचलित राष्ट्रिय मापदण्ड बमोजिम प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रसेवक कर्मचारीहरूले आ-आफ्नो क्षेत्रबाट विशेष पहल गरी आपसी समन्वय र सहकार्यका साथ हातमा हात मिलाई सक्रियतापूर्वक भूमिका निर्वाह गर्नु आवश्यक छ।

देश र जनताको सेवा गर्ने उच्च अभिलाषा बोकी राष्ट्र हितको लागि राष्ट्र सेवामा समर्पित रहने र पूर्वाग्रही भावना नराखी प्रचलित कानुनको अधीनमा रही कार्य गर्ने शपथ समेत खाई राष्ट्र सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारीहरू वास्तवमै कडा मिहेनत, त्याग तपस्या र प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेकाले निजहरुबाट राष्ट्रले सकारात्मक प्रतिफलको अपेक्षा राखेको अवस्थामा निजहरूले जस्तोसुकै विपत्तिमा समेत आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरी कर्तव्यनिष्ठ र लगनशील भई विपत् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नुको विकल्प छैन। तब मात्र जनता खुसी हुनेछन्। सरकारले राखेका अपेक्षा पुरा हुनेछन्। राष्ट्र समृद्धि र विकासको दिशामा अगाडि बढ्नेछ। जनताले राहतको श्वास फेर्नेछन्। राष्ट्रसेवक कर्मचारी प्रति जनताको जनविश्वास बढ्नेछ। राज्यमा सुशासन कायम हुनेछ र समग्रमा देशले सकारात्मक दिशातर्फ कोल्टो फेर्नेछ ।

श्रावण ११ गते, २०७६ - १७ः४५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg