अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी


७ श्रावण २०७६, मंगलबार


डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको कार्यालयमा गए राति अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।

आगलागीबाट वडा अध्यक्ष र वडा सचिवको कार्यकक्ष कोठामा रहेका कागजातहरू, दराज फर्निचर सहितका सम्पूर्ण सामाग्रीहरू नष्ट हुनुका साथै कार्यालयको छाना समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले बताए ।

‘दलालहरू होसियार, भ्रष्टाचारी खबरदार, साङ्लो फिल्म चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन,जोराइले जनता जिन्दाबाद, जनताको एकता जिन्दाबाद, जोरायले युवा एक हौँ’ लगायतका नाराहरू रहेको हस्त लिखित पर्चा घटना स्थलमा भेटिएको समेत प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा जोरायल गाउँपालिकाले चलचित्र ‘साङ्लो’का लागि १० लाख बजेट विनियोजन गरेर गाउँपालिकाका विभिन्न क्षेत्रमा उक्त चलचित्र छायाङ्न गर्न लगाएको कुराको स्थानीयले खुलेर निकै विरोध गरेका थिए । वडा कार्यालयमा आगजनी हुनुमा पनि त्यसको असर देखिएको हुन सक्ने केही स्थानीयवासीले अनुमान गरेका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मङ्गलवारदेखि देशभरमा सरकारी सवारी साधनमा प्रतिबन्ध लगाउने घोषणा गरेको अघिल्लो राती वडा कार्यालय जलाइएकोले नेकपाका कार्यकर्ता हुन सक्ने प्रहरीको अनुमान छ ।

वैशाख २४ गते राति यस्तै गरी डोटीको बडी केदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीको वडा कार्यालय अज्ञात समूहबाट पूर्ण रूपमा नष्ट गरिएको थिए । सो घटनाको अहिले सम्म अनुसन्धान भइरहेको भए पनि घटनाको बारेमा केही पत्ता लागेको छैन स्थानीय सरकारका वडा कार्यालयमा आगजनी गरिनु डोटीको लागि द्रोस्रो घटना हो ।

Tags :
प्रतिक्रिया दिनुहोस