पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी


१ श्रावण २०७६, बुधबार


काठमाडौं । यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ ।

साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले जानकारी दिए । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ ।

साउन महीनाको पनि सोमबार पशुपतिमा धेरै दर्शनार्थी पुग्छन् । प्रायः सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । तीर्थयात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ ।

तिलगङ्गाबाट विद्युतीय शवदाह गृहअघिको सडक–चार शिवालय हुँदै मूल मन्दिरको दक्षिण ढोकातर्फ, जयवागेश्वरीबाट भूवनेश्वरी–वरुणधारा हुँदै दक्षिण ढोकातर्फ, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकातर्फ र मित्रपार्कबाट उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम मूल ढोकातर्फबाट मन्दिर छिर्ने गरी व्यवस्था मिलाइएको उपनिर्देशक ढुङ्गानाले बताए ।

यस वर्ष साउन ६, १३, २० र २७ गरी चार वटा सोमबार परेका छन् । साउनको सोमबार विशेषगरी महिलाले अटल सौभाग्य एवं पारिवारिक सुख र शान्तिको कामना गर्दै व्रत बस्ने र शिवालयमा पूजा आराधना गर्छन् । बोल बम, साउनको विशेष पूजाका लागि विश्वभरका वैदिक सनातन धर्मावलम्बी पशुपतिमा आउँछन् ।

पशुपतिनाथलाई ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गका रुपमा पूजिने भएकाले पनि विश्वको जुनसुकै कुनामा रहेका हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्छन् ।

आज साउनको पहिलो दिन भएकाले बिहानैदेखि बढी सङ्ख्यामा भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनमा आएका छन् । आज साउने सङ्क्रान्तिसमेत भएकाले पनि दर्शनार्थीको पशुपतिनाथ मन्दिरमा भीड बढेको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस